विचार

विद्यालयमा यौन हिंसा कहिलेसम्म?
SHARES

भदौ २०, २०७४

    नेपालले राजनीतिक परिवर्तनसँगै अन्य धेरै क्षेत्रमा फड्को मारेको छ। परिवर्तन भएका क्षेत्रमा शैक्षिक क्षेत्र पनि एक हो। शिक्षामा निजी क्षेत्रलाई प्रवेश गराउने सरकारको नीतिपछि २०३६ सालपछि मुलुकमा च्याउ उम्रेसरि निजी विद्यालयहरू संचालनमा आएका छन्। निजी विद्यालयले दिएको शिक्षा र नतिजाले आफ्ना छोराछोरीलाई समय सापेक्ष वैज्ञानिक तथा गुणस्तरीय शिक्षा दिलाउने अभिभावकको इच्छालाई पूरा गरेको छ भन्दा दुईमत नहोला। तर, आधुनिकता उन्मुख समाज र अहिलेको नैतिकताविहीन शिक्षाले विद्यालय शिक्षामा विकृतिहरू पनि उत्ति नै बढिरहेका छन्। ‘स्कूले प्रेम’का कारण बालविवाह, बालबालिका अपहरण, बाल यौन  दुर्व्यवहार, बालबालिका बेचबिखन जस्ता विकृतिहरू पनि मौलाउँदै गएका छन्।  

    केही दिन पहिले मात्र एक निजी स्कुलका प्रिन्सिपलले आफ्नै छात्राहरूलाई वर्षौंदेखि यौन दुर्व्यवहार गरेको समाचार संचार माध्यमहरूमा आयो। आठ कक्षामा पढ्ने छात्राहरूले आफ्नै बाबु समान मानेका प्रिन्सिपलले के कसरी आफ्नो शरीरसित खेल्ने गरेको थियो भनिरहँदा मैले आफूलाई उनीहरूकी आफ्नै आमाको ठाउँमा उभ्याउन पुगेँ। मेरै छोरीहरू बोलेको मलाई अनुभूति भयो। किन यस्तो भयो? के कारण रहेछ भनेर म आफैँ पुगेँ प्रिन्सिपललाई सोधपुछका लागि राखिएको प्रहरी चौकीमा। चार सयभन्दा बढी विद्यार्थीहरूलाई शिक्षा दिइरहेको चिल्ड्रेन गार्डेन स्कुल इमाडोल ललितपुरका प्रिन्सिपल मिलन शाक्यलाई एउटा कैदीको रूपमा भेट्न म प्रहरी चौकीमा गएँ। कुरा गर्दै जाँदा उनीबाट सन्तोषजनक जवाफ मैले पाउन सकिनँ।

    प्रहरी निरीक्षकले झनै अचम्म बनाउने कुरा मलाई सुनाए। उही प्रिन्सिपलले एक वर्ष पहिले पनि यस्तै दुर्व्यवहार गरेका रहेछन्  र अहिले यो समाचार आएपछि गत वर्षकी पीडित छात्राका अभिभावकले पनि आएर उजुरी हालेका रहेछन्। त्यसपछि यो पंक्तिकार अभिभावक र छरछिमेकमा पुगेर वास्तविकताको खोजी गर्न थाल्यो। विद्यालयका एक छिमेकीले पहिलो शब्दमै भने, ‘पाप धुरीबाट करायो। यो दिन आउनु नै थियो, साहसिक मान्छे निस्किएको थिएन निस्किएछ।’ कस्तो अभिव्यक्ति? कस्तो आक्रोश? मलाई ती साहसिक अभिभावकलाई भेट्ने चाहना भयो। म पुगेँ अभिभावकहरूको बीचमा। 

    कुनै एक जनाले रिसइवी साँधेर पूर्वाग्रह राख्न सक्छ। उसलाई अरूले साथ दिन बोल्न सक्दछ तर मेरो अगाडि दश÷बाह्र्र जना पीडित अभिभावकहरू प्रिन्सिपलको विरुद्धमा चर्किरहेका थिए। आमाहरू कराइरहँदा मेरो मनले भनिरहेको थियो, अब के हामी आम अभिभावकले आफ्ना नानीहरूलाई सुरक्षित स्कुलमा छोडेर आएका छौँ भन्ने दिन सकिएकै हो त?

    प्रिन्सिपल मिलन शाक्यको केस त अदालतमा पुगेको छ। सजाय पाउने नपाउने कुरा कानुनले निर्धारण गर्नेछ। तर, मिलन शाक्यलाई लागेको जस्तो आरोप लाग्न सक्ने अरू धेरै मिलन हाम्रो समाजमा नहोलान् त? यस्ता घटनाहरू हुनमा दोषी को? 

    कुनै पनि सन्तानको पहिलो शिक्षक अभिभावक नै हुन्छन्। अभिभावकमा पनि आमाले आफ्ना छोरीहरूलाई विशेष ध्यान दिनुपर्दछ। हामी दुई र हाम्रा दुईमा सीमित भएको आधुनिक एकल परिवारमा धेरै आमाहरू कुनै न कुनै पेशामा संलग्न भएकै हुन्छन्। उनीहरूमा छोरी किशोरी अवस्थामा प्रवेश गरेपछि हुने मानसिक तथा शारीरिक परिवर्तनका बारेमा बोल्ने, सम्झाउने समय र सोचको कमी रहेको देखिन्छ। यौन शिक्षाको जानकारी दिने र कुनै दुर्घटना हुन लाग्यो भने कसरी प्रतिकार गर्ने भन्ने कुरा प्रत्येक आमाले समयमै छोरीलाई सम्झाउने हो भने समाजमा मिलन शाक्य जस्ता आरोपितहरूको संख्या बढ्ने थिएन। तर छोराछोरीको अगाडि कसरी यस्ता कुराहरू सम्झाउनु भनेर जिब्रो टोक्ने आमाहरू हाम्रो समाजमा धेरै छन्। 

    सरकारले पनि शिक्षामा सबै पक्षलाई समेटेको देखिन्छ तर अभिभावकलाई चेतना नदिई यस्ता समस्याको समाधान गर्न सकिँदैन भनेर कुनै पनि चेतनामूलक कार्यक्रम अहिलेसम्म ल्याउन सकेको छैन। अभिभावकलाई चेतना दिएको भए गत साल भएको घटनापश्चात पीडित बालिकाका अभिभावकले कक्षा आठका छात्राहरूका आमाहरूलाई अलिकति पनि सचेत गराएको भए चिल्ड्रेन गार्डेन स्कुलमा सोही घटना दोहोरिने थिएन।

    अभिभावकले संस्थापक, प्रिन्सिपल र शिक्षकलगायत विद्यालय व्यवस्थापनको भरमा आफ्ना नानीहरूलाई स्कुल पठाएका हुन्छन्। आफ्ना सन्तान शिक्षित भएको हेर्ने चाहनाले  अभिभावकले आफ्ना नानीलाई गुरुको जिम्मा लगाएका हुन्छन्। त्यही विद्यालय हाताभित्र पुगेपछि विद्यालयको सेरोफेरोमै यौन दुर्व्यवहारजन्य घटना हुनुलाई के भन्ने?

    गुरु ब्रम्हा गुरुर्विष्णु: गुरुदेव महेश्वर: ।
    गुरु साक्षात्परब्रह्म तस्मैश्री गुरुवे नमः।।

    उल्लिखित संस्कारमा हुर्केका हाम्रा नानीहरूले गुरुलाई आदरणीय, मार्गदर्शक र सहजकर्ताका रूपमा नै मानेका हुन्छन्। उनीहरूले बाबुआमाको स्थानमा गुरुलाई राखेका हुन्छन् तर तिनै रक्षक हुनुपर्ने गुरुहरू भक्षक भएका र आफूलाई शासक–प्रशासक र बालबालिकालाई केवल तह लगाउने व्यक्तिको रूपमा उभिन पुग्दछन्। यसका कारण नचिताएका ठूलाठूला घटनाहरू विद्यालयभित्र वा बाहिर भइरहेका हुन्छन्। यसले समस्त शिक्षकहरूलाई नै बदनाम बनाउँदै लगेको छ।

    केही क्रूर शिक्षकहरूका कारण बालबालिकाले मानसिक तथा शारीरिक क्षति व्योहोरिरहेका छन्। यसले गर्दा असल र कर्तव्यपरायण शिक्षकलाई पनि शिक्षण पेशालाई आदरणीय बनाउन हम्मेहम्मे परिरहेको छ। बेलाबेलामा बाहिर आउने यस्ता यौन दुर्व्यवहारजन्य घटनाले समग्र शिक्षकलाई नै लज्जित बनाउन थालेको छ।

    शिक्षकले आफ्नै विद्यार्थीमाथि गरेको यौनजन्य हिंसा यो नै पहिलो होइन। यस्ता अपराध वर्सेनि सार्वजनिक हुन्छन्। चिल्ड्रेन गार्डेनका छात्राहरूले मिडियामा भनेका र अभिभावकको आक्रोश सुन्दा लाग्दछ, ती प्रिन्सिपललाई कडाभन्दा कडा सजाय दिनुपर्ने हो। हामीले यस्ता घृणाजन्य कुकर्म गरेका आरोपित व्यक्तिहरूलाई सामाजिक बहिष्कार पनि गर्नुपर्ने होइन र? 

    किशोरी तथा महिलामा खासगरी रूप, रङ र लिंगका आधारमा दुर्व्यवहार गर्दै आएको देखिन्छ। यिनीहरूमा पनि यौनजन्य दुर्व्यवहारलाई त हिंसाकै रूपमा मानिन्छ। चीनको हेनान प्रान्तको नान्यांगका ५६ वर्षका शिक्षकलाई बालिका बलात्कार गर्ने र सताउने अभियोगमा मृत्युदण्ड नै दिइएको थियो। चीनको जस्तो कडा कानुन त यहाँ छैन, तैपनि यस्तो हिंसा रोक्नका लागि मुलुकमा कानुन बनाइएको छ। हाम्रो फितलो कानुनी संरचनाका कारण यस्ता अपराधले निरन्तरता पाउनमा सघाउ पुर्‍याइरहेको छ। यसका कारण आरोपित व्यक्ति सजायको भागिदार नै बन्न पाउँदैनन्।

    सर्वप्रथम त यस्ता घटनाहरू कानुनको कठघरासम्म पुग्दै पुग्दैनन्। परिवार समाजले यस्ता कुकर्मलाई इज्जतको डर, लोकलज्जाका कारणले सम्बन्धित ठाँउमा उजुरी गर्न नै जाँदैनन् र  गुम्स्याउन नै चाहन्छन्। यसले गर्दा पीडकहरूले सजिलै उन्मुक्ति पाउँछन् र अर्को हिंसाको सोचमा पुग्दछन्। घटना फेरि दोहोरिन पुग्छ।

    चिल्ड्रेन गार्डेनका ती छात्राहरू र अभिभावकलाई यो पंक्तिकार सलाम गर्न चाहन्छ किनकि उनीहरूले अन्यायको विरुद्धमा विगुल फुकेका छन्। तर हाम्रो समाजमा यस्ता आरोपितको संलग्नताले जेरी पकाएको हुन्छ। उसको आरोप प्रमाणित नभएसम्म आरोपलाई निराधार बनाउन राम्रो नराम्रो छुट्याउनेतिर होइन कि हाम्रो संस्थाको मानिस, हाम्रो पार्टीको मानिस वा हाम्रो गु्रपको मानिस भन्नेको भीड नै जम्मा हुन्छ। यस्तो राम्रोभन्दा हाम्रो भन्ने भीडले अभिभावकले विगुल फुकिसकेपछि उनीहरूको साथ दिन जरुरी देखिन्छ किनकि यिनै साहसिक बालिकाहरू र अभिभावकहरू समाजबाट विकृति हटाउने समाज सुधारकका अगुवाहरू हुन सक्छन्। आज यिनीहरूको साहसले कानुनको ढोका ढक्ढक्याएको छ। यो साहसले निसाफ पायो भने यिनीहरूको पदचाप पच्छ्याउनेको कमी हुँदैन।

    बालबालिकाहरू उपर हुने यौनजन्य हिंसाका घटनाको रोकथामका लागि आम समुदायसम्म सचेतना फैलाउन जरुरी छ। अपराधीलाई कडा कारवाहीका लागि कानुनी संयन्त्रलाई प्रभावकारी बनाई यौन हिंसाका घटनामा शून्य सहनशीलताको नीतिलाई अपनाइनुपर्दछ। तर अब बालबालिकामा काम गर्ने सामाजिक संस्थाहरू, प्याब्सन, एन प्याब्सन, शिक्षक महासंघ, अभिभावक संघ र सरकारले यस्ता आरोपित व्यक्ति र यस्तो किसिमको कुकर्म नदोहोरियोस् भन्नाका लागि कस्तो कदम बढाउनेछन्? के यिनीहरूको कदमले आम अभिभावकमा आफ्ना नानीहरूको सुरक्षालाई लिएर उठेको आशंकारूपी ज्वालालाई शान्त बनाउन सक्लान् त? के यी संघसंस्थाहरूले निष्पक्षताका साथ जवाफदेही र जिम्मेवारीपूर्ण भूमिका निभाउन सक्लान् त?

    हाम्रो मुलुकमा शिक्षक आचारसंहिता पनि छ तर नाम मात्रको। विश्वका विभिन्न मुलुकमा शारीरिक र यौनहिंसाको त कुरै भएन, मानसिक, भावनात्मक र अन्य कुनै पनि प्रकारका हिंसाबाट शिक्षक टाढा रहनुपर्ने शिक्षक आचारसंहितामा उल्लेख छ। तर हाम्रो शिक्षक आचारसंहितामा प्रायः व्यावसायिक कुराहरू मात्रै उल्लेख छन्। त्यही पनि सही रूपमा कार्यान्वयन हुन सकेको देखिँदैन। शिक्षक जस्तो महत्त्वपूर्ण र सम्मानित पेसालाई मर्यादित बनाउन शिक्षक महासंघ र शिक्षक स्वयंले पनि यसको कार्यान्वयनमा पहल गरिदिएको भए स्कुलबाट आउने यस्ता यौन दुर्व्यबहारका समाचारमा कमी आउने थिए। 

    मानिसको किशोर अवस्था जीवनकालको यस्तो समय हो, जसको राम्रो नराम्रो पक्षको असर जीवनभरि रहिरहन्छ। यही उमेरमा सामाजिक विकृतिको सिकार हुन पुगे बालबालिका भने उनीहरूको दिमागमा यसले नराम्रो असर गर्दछ। कति त जीवनभरिका लागि मनोरोगी पनि हुन पुग्दछन्। 

    नेपाली समाजमा प्रति दिन दुई जना बलात्कार हुने समाचार पनि सुनिएकै हो। विभिन्न अध्ययनअनुसार विश्वमा आम महिलाको जीवनकालभरिमा हिंसाको शिकार बन्न सक्ने अनुमानित दर २० प्रतिशत हुनु डरलाग्दो तथ्यांक हो। सन् २०१२ मा नेपालको छ जिल्लाव्यापी एक शोधकार्य गरिएको थियो, जसको प्रतिवेदनअनुसार ४८ प्रतिशत महिलाहरूको जीवनकालभरिमा कुनै न कुनै हिंसाको घटना हुने गरेको उल्लेख थियो। तीमध्ये १५ प्रतिशत यौनजन्य हिंसाको शिकार हुने गरेका छन्। यौनजन्य हिंसाको पनि २५ प्रतिशतमा पीडक शिक्षक, छिमेकी र नातेदार रहन्छन् भनिएको छ। 

    यस्तो किसिमको अन्तर्वैयक्तिक हिंसामा उद्यत हुने व्यक्तिहरू प्रायः रक्सी तथा लागूपदार्थ दुर्व्यसनले ग्रस्त या कुनै न कुनै व्यक्तित्वजन्य समस्या (एण्टिसोसियल, प्यारान्वाइड पर्सनालिटी डिसअर्डर) या डिप्रेसन, म्यानिया जस्ता रोगहरूबाट पीडित भएका पाइन्छ। 

    सूचना प्रविधिको विकास र बढ्दो प्रयोगले स्त्री जातीले नै दुर्व्यवहारका नयाँनयाँ रूपको सामना गर्नुपरिरहेको छ। हातहातमा मोवाइल र सामाजिक सञ्जालको व्यापकताले अनेक फाइदासँगै विकृति पनि बढाएको छ। प्रहरीको साइवरसेलमा परेका ९० प्रतिशत उजुरीमा महिला नै पीडित हुने गरेको जानकारी छ। नेपाल सरकारले सन् २०१० लाई लैंगिक हिंसाविरुद्धको वर्ष नै घोषणा गर्‍यो तर समस्या जस्ताको तस्तै छन्। केन्द्रीय बालकल्याण समितिका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा प्रहरीमा दर्ता भएका एक हजार ९० वटा जबर्जस्ती करणीको घटनामा ६२ दशमलब ५ प्रतिशत पीडित (६८१ जना) १८ वर्षमुनिका बालिका रहेका छन्। 

    सिभिक्टको एक रिपोर्टअनुसार कक्षा एकमा भर्ना भएका सय जना विद्यार्थीमध्ये कक्षा दशमा पुग्दा निरन्तर अध्ययन गरिरहेका विद्यार्थी १० जनामा सीमित हुनपुगेका छन्। यसको महत्त्वपूर्ण कारणमा आर्थिक समस्यासँगै विद्यालयमा दिइने यातना एवं सजाय हो भनिएको छ। 

सरिता अर्याल

सरिता अर्याल पत्रकारिता र अधिकारका क्षेत्रमा सक्रिय छन्!

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]