|

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषदमा रक्षामन्त्री बनेकी निर्मला सीतारमण जवाहरलाल नेहरु विश्वविद्यालयकी छात्रा हुन्। उनी कुनै समय लण्डनमा सेल्स गर्लको काम गर्थिन्। उनका पति आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबहादुर नायडुका प्रेस सल्लाहकार छन्।

मोदीले आफ्नो मन्त्रिपरिषदमा तेस्रोपटक फेरबदल गर्दा सबैलाई आश्चर्यमा पार्दै कमै मात्र चर्चामा रहेकी सीतारमणलाई रक्षामन्त्री बनाएका हुन्। निर्मलाको चर्चा रक्षामन्त्री भएका कारण मात्रै भएको होइन। पार्टीमा उनको बढ्दो पहुँचका कारण पनि हो। अब उनी सुष्मा स्वराज, उमा भारती र स्मृति इरानीजस्ता शक्तिशाली मानिएका महिलाभन्दा शक्तिशाली मन्त्री बनेकी छिन्, अर्थात उनी अहिले भारतकै शक्तिशाली महिला मन्‍त्री हुन्।

निर्मलाका पिता कुनै समय रेलवेमा काम गर्थे। उनको सरुवा भइरहन्थ्यो। त्यसैले उनले आफ्नो स्कुले जीवनमा सबैभन्दा धेरै समय तमिलनाडुमा बिताइन्। त्यसपछि कलेज पढ्न दिल्ली गइन्। मास्टर्स गर्नका लागि जवाहरलाल नेहरु विश्‍वविद्याल (जेएनयू) भर्ना भइन्। उनले यहाँ टेक्साटाइल ट्रेडमा एमफिल गरिन्। जेएनयूमा भएको विद्यार्थी युनियनको चुनावमा उनी स्वतन्त्र विचारकहरुसँग नजिक थिइन्।

विवाहपछि लण्डन

दिल्लीमा सीतारमणको भेट आन्ध्र प्रदेशका परकल प्रभाकरसँग भएको थियो। उनीहरुले सन् १९८६ मा विहे गरे। विवाहपछि दुबै बेलायत गए। प्रभाकर जब लण्डन स्कुल अफ इकोनोमिक्समा पीएचडी गर्दै थिए। त्यतिबेला सीतारमण हैबिटेट कम्पनीको सेल्स गर्ल थिइन्। तर छोटो समयमै उनले विश्वचर्चित कम्पनी प्राइस वाटरहाउस कुपर्समा सिनियर म्यानेजरको काम पाइन्। उनी सन् १९९१ मा पतिसँग भारत फर्किइन्।

शिक्षा क्षेत्रमा काम

उनले शिक्षा क्षेत्रमा काम गर्न थालिन्। सन् २००३ र २००५ को बीच उनी राष्ट्रीय महिला आयोगकी सदस्य रहिन्। सन् २००६ पछि सक्रिय राजनीतिमा लागिन्। राजनीतिमा भने उनले सहजभन्दा कठिन बाटो रोजिन्। उनका सासु-ससुरा दुबै कांग्रेस पार्टीका सांसद् भइसकेका व्यक्ति हुन्।

ससुरा त मन्त्री समेत भइसकेका थिए। तर निर्मलाले बिजेपी रोजिन्। यसको एक वर्षपछि उनका पति प्रभाकर प्रजा राज्यम पार्टीमा आबद्ध भए। तर उनी छोटो समयमै त्यस पार्टी छाडेर बिजेपी प्रवेश गरे। अहिले प्रभाकर आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुका प्रेस सल्लाहकार छन्।

यसकारण जेटली र सुष्माभन्दा सिनियर

रक्षामन्त्री निर्मला मन्त्रिपरिषदको सुरक्षा समितिको सदस्य रहन्छिन्। प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिमा रक्षामन्त्रीले नै भारतको क्याविनेटको बैठकको अध्यक्षता गर्छन्। त्यसैले निर्मला जेटली र सुष्मा स्वराजभन्दा माथिल्लो वरियतामा छिन्।

उनलाइ चयन गर्नुको कारण

पहिलो : महिलालाई महत्व दिएको देखाउन किनकी भारतका प्रमुख ४ मन्त्रालय गृह, वित्त, रक्षा र विदेशमध्ये अब २ प्रमुख मन्त्रालयमा महिला मन्त्री छन्। यसअघि नै सुस्मा स्वराज विदेशमन्त्री छिन्।

दोस्रो  : उनी तमिलनाडुमा जन्मिएकी, आन्ध्र प्रदेशमा विवाह गरेकी र कर्नाटक राज्यसभामा सदस्य रहेकी व्यक्ति हुन्। त्यसैले उनी दक्षिण भारतमा भारतीय जनता पार्टीको स्थापित अनुहार बन्न सक्छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.