|

चितवन : बाढीका कारण चितवन जिल्लामा ४ सय ९९ घर पूर्ण क्षति भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। समितिका स्रोत व्यक्ति हरिबाबु ढकालले आजसम्मको प्राप्त विवरणबारे जानकारी दिँदै ४ सय ९९ घर क्षति भएमध्ये रत्ननगर, राप्ती र माडी नगरपालिका बढी प्रभावित भएका छन्। साउन अन्तिम साताको बाढीले जिल्लाको सात स्थानिय निकायमध्ये रत्ननगर नगरपालिकामा १ सय ११, राप्ती नगरपालिकामा १ सय ३१ र माडी नगरपालिकामा १ सय २३ घर पूर्ण क्षतिको विवरण संकलन भएको ढकालले बताए।

उनले स्थानीय निकायका प्रमुखलाई व्यक्तिगत भेटेर तथा पटकपटक पत्राचार गर्दासमेत सम्पूर्ण क्षतिको विवरण नपठाइदिँदा समस्या भएको दुखेसो गरे। ‘भौतिक तथा आर्थिक क्षतिको विवरण माग गरेको कुनैपनि स्थानीय निकायले पठाएकै छैनन्, ढकालले भने, अलिअलि कृषि, पशु कार्यालयको तथा तटबन्धको क्षतिको तथ्यांक आएको छ, अरु विवरण आउन सकेको छैन।’

जसका कारण सरकारले दिनुपर्ने प्रतिव्यक्ति  ७० को राहत वितरणसमेत राम्ररी हुन पाएको छैन। आंशिक मात्रै वितरण भएको छ। जिल्ला विपद व्यवस्थापन समितिबाट प्राप्त तथ्यांकमा जिल्लाको कालिका नगरपालिकामा ८ घर, भरतपुर महानगरपालिकामा ८२ घर, माडी नगरपालिकामा १ सय २३ घर, खैरहनी नगरपालिकामा ३६, रत्ननगर नगरपालिकामा १ सय ११, राप्तीमा १ सय ३१ र इच्छाकामना गाउँपालिकामा ८ घर पूर्ण क्षति भएको विवरण छ।

यसपटक स्थानीय निकायमार्फत राहत वितरण भएकाले व्यवस्थापनमा सहज भएको चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थापन समिति चितवनका संयोजक नारायणप्रसाद भट्ट बताउँछन्। उनका अनुसार सुरुसुरुमा स्थानीय निकाय आफैंले खरिद गरेरसमेत राहत वितरण गरेका थिए। थोत्रा कपडा र जङक फुड वितरणमा रोकेको प्रजिअ भट्टले बताउनुभयो। कति ठाउँबाट फिर्तासमेत पठाएको उनले बताए।

कृषि, पशु र तटबन्धको गरी कुल २१ करोड नोक्सान

चितवनमा २८ साउनमा आएको वर्षा र बाढीका कारण कृषि पशु र नारायणी तटबन्धनमा झन्डै २१ करोडको क्षति भएको। कृषिमा  १५ करोड ६० लाख, पशुमा ३ करोड ८७ लाख तथा नारायणी तटबन्धनको रु १ करोड ५० लाख क्षति भएको पाइएको छ। अन्य केही सरकारी निकायले क्षतिको क्षेत्रफल मात्रैको विवरण पेस गरेका छन् भने स्थानीय निकायबाट भने क्षतिको विवरणहरु आइनसकेको समितिका श्रोत व्यक्ति तथा जिल्ला प्रशासन कार्यालय चितवनका नायव सुब्बा हरिबाबु ढकालले बताए।

जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठ जिल्लामा १ हजार ७ सय ९५ बिघा १४ कट्ठामा बाढीले क्षति पुर्याएको र यसबाट किसानलाई रु १५ करोड ६० लाख बढी क्षति भएको बताउनुहुन्छ। अझै पनि विवरण आउने क्रम रहेको जनाइएको छ।

पशु सेवा कार्यालय चितवनका अनुसार सबैभन्दा बढी कुखुरामा क्षति भएको छ।  प्राप्त विवरणमा लेयर्स कुखुरा १४ हजार ७ सय ५२ वटा र ब्रोइलर कुखुरा ४६ हजार ६३२ वटा मरेको  र १४ हजार ७२८ किलो दाना नष्ट भएको जनाइएको छ।  कार्यालय प्रमुख डा डिल्लीराम सेढाईँले जिल्ला विपद व्यवस्थापनमा पेस गरेको विवरणअनुसार गाई २१, बाख्रा १ सय ७, बंगुर ७९ वटा मरेको र १५ वटा खोर नष्ट भएको जनाइएको छ। स्थानीय निकायबाट विवरण नआउँदा समस्या हुँदै आएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.