|

धनकुटा : जिल्ला सदरमुकाममा अवस्थित ऐतिहासिक तल्लो टुँडिखेलको मर्मत गरिएको छ। जिल्ला समन्वय समिति धनकुटा, धनकुटा नगरपालिका र राष्ट्रिय खेलकुद परिषद् आर्थिक सहयोगमा टुँडिखेलको तार बेरा, कम्पाउन्ड पर्खाल, प्यारापिट र चौडा बढाउने काम भएपछि ऐतिहासिक तल्लो टुँडिखेलको मुहार फेरिएको हो। राणा प्रधानमन्त्री देवशमशेर काठमाडौंबाट खेदिएर धनकुटा आएपछि उनैको पहलमा यो टुँडिखेल निर्माण भएको इतिहास भेटिन्छ।

 पछिल्लो समय मर्मतसम्भारको अभावमा टुँडिखेल जीर्ण बन्दै गएको थियो। उक्त तल्लो टुँडिखेलमा जोर धरहरा पनि रहेका छन्। हाल उक्त टुँडिखेलको स्तरोन्नतिमा करिब ८० लाख रुपैयाँ खर्च भएको मर्मत समितिले जनाएको छ।

जसमा धनकुटा नगरपालिकाले ५६ लाख ८९ हजार रुपैयाँ खर्च गरेर टुँडिखेलमा ५ हजार दर्शक अट्ने पक्की प्याराफिट निर्माण गरेको नगरपालिकाका इन्जिनियर मिङमा शेर्पाले जानकारी दिए। यसैगरी, नगरपालिकाकै लगानीमा प्रवेशद्वार र कम्पाउन्ड वाल पनि निर्माण गरिएको शेर्पाले बताए।

पहिले टुँडिखेलमा कच्ची प्याराफिट र प्याराफिटको तल्लो भागमा सडक थियो र अहिले कच्ची प्याराफिट र सडकलाई भत्काएर पक्की प्याराफिट बनाइएको छ। वर्षाको समयमा पानी बगेर टुँडिखेलमा पस्ने समस्या रहेकोमा उक्त समस्याको समाधानका लागि पक्की प्याराफिटको तल्लो भागमा नाली पनि बनाइएको छ। प्याराफिटलाई सुन्तला रङले रंगिन बनाइएको छ।

टुँडिखेलकै दक्षिण क्षेत्रमा राष्ट्रिय खेलकुद परिषदको १३ लाख रुपैयाँको आर्थिक सहयोगमा भवन निर्माण भइरहेको छ। निर्माणाधीन भवनमा जिल्ला खेलकुद विकास समितिको कार्यालय रहने जिल्ला खेलकुद विकास समितिका सचिव नवीन प्रधानले जानकारी दिए। निर्माणाधीन भवनमा चार कोठा र दुईवटा बैठक हल हुने र उक्त भवन आगामी असोज मसान्तसम्म निर्माण सम्पन्न भई सञ्चालनमा आउने प्रधानले बताए।

यस्तै, धनकुटा निर्वाचन क्षेत्र नं. १ को विशेष पूर्वाधार निर्माण तथा मर्मत कार्यक्रमअन्तर्गत जिल्ला समन्वय समितिले १० लाख रुपैयाँ लगानी गरेर टुँडिखेलको वरिपरि तारबेरा निर्माण गरेको छ।

स्थानीयदेखि राष्ट्रियस्तरको सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप खेलकुद प्रतियोगिता सम्म आयोजना हुने धनकुटा सदरमुकाममा रहेको एकमात्र खेलमैदान तल्लो टुँडिखेल मात्रै हो।२०३१ सालमा धनकुटा नगर योजना पछि टुँडिखेल वरिपरि रहेको स्थानीयको जग्गा अधिग्रहण गरी टुँडिखेलको विस्तार गरिएको थियोे। यसको सुधारको लागि ०४० मा कच्ची प्याराफिट र मञ्च निर्माण कार्य भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.