|

धनकुटा : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सप्तकोशी उच्च बाँध सम्झौताको विरोध गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले हालै भारत भ्रमणका क्रममा सप्तकोशी उच्च बाँध सम्बन्धी ‘राष्ट्रघाती’ सम्झौता गरेको भन्दै नेकपाले विरोध जनाएको हो। 

सम्झौताको विरोधमा धनकुटासहित पूर्वका विभिन्‍न जिल्लामा पर्चा बाढेर जनतालाई जानकारी गराउने काम जारी राखिएको नेकपाका कोशी ब्यूरो सदस्य एवं धनकुटा जिल्ला ईन्चार्ज आकाश शर्माले जानकारी दिए।

उनका अनुसार सम्झौता खारेजको माग गर्दै भदौ २२ गते धरानमा जनप्रदर्शन तथा विरोध सभा समेत आयोजना गरिएको छ। प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा जारी गरिएको संयुक्त विज्ञप्तीको २८ नम्बर बुँदामा ‘सप्तकोशी उच्च बाँध र सुनकोशी डाइभर्सन निर्माण गर्न दुबै सरकारले तिव्रता दिने’ उल्लेख छ।

नेकपाले यो सम्झौतालाई राष्ट्रघातको संज्ञा दिएको छ। पूर्वी पहाडी जिल्लालाई तालमा परिणत गराएर भारतमा पानी र विद्युत लैजाने भारतीय योजना पुरा गर्न खोजिएको नेकपाको आरोप छ।

‘उच्च बाँध निर्माण हुँदा नेपालले डुबान, बिस्थापन, जोखिम र क्षति ब्यहोर्नुपर्छ,’ नेकपाका धनकुटा ईन्चार्ज आकाशले भने ‘उच्च बाँध बनेपछि भारतले बाढी नियन्त्रण, सिंचाई, खानेपानी र विद्युत उत्पादन गरी एकलौटी फाइदा उठाउँछ।’

नेपाल र नेपालीको अहितमा ‘राष्ट्रघाती’ सम्झौता गरिएकाले विरोध गर्नुपरेको उनले बताए। उच्च बाँधका कारण नेपाली भूमिमा भारतीय सेनालाई परेड खेल्न बाटो खुल्ने र नेपाल बिस्तारै सिक्किमिकरणको बाटोमा जाने नेकपाको ठहर छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.