छतमा झोला राख्न पाउनुपर्ने व्यवसायीको माग

|

काठमाडौँ: यातायात व्यवस्था विभाग र व्यवसायीहरू बीच भदौ २२ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ गर्ने विषयमा सहमति भए तापनि यातायात व्यवसायीहरूले टिकट बुकिङ गर्न आनाकानी गरेका छन्। टिकट बुकिङको विषयमा प्रत्येक वर्षको दशैँमा जस्तै यो वर्ष पनि व्यवसायीले केही माग तेर्स्याएर टिकट बुकिङ नगर्ने चेतावनी दिएका छन्।

गत वर्षहरूको तुलनामा यस वर्ष व्यवसायीहरूका माग केही बढी देखिएका छन्। दशैँको बेला सार्वजनिक सवारी साधनको भाडा वृद्धि नै व्यवसायीहरूको अल्टिमेटम हुने गरेकोमा यस वर्ष भाडा वृद्धि प्राथमिकतामा नपरेको स्वयं व्यवसायीहरूले बताएका छन्।

यातायात व्यवसायीहरूले बिग्रिएको बाटो सुधार गर्दै कम्तिमा खाल्डाखुल्डी पुर्नुपर्ने र गाडीमा छतको व्यवस्था हुनुपर्ने माग गरेका छन्। तर यातायात व्यवस्था विभागका अधिकारी यी दुवै समस्या विभागबाट सम्बोधन हुन समस्या रहेको बताउँछन्।

‘हामीले सरकारलाई बाटो मर्मत र बसमा छत राख्न दिने विषयमा सहमति जुटाउन आग्रह गरेका छौँ, यो विषयमा सरकारले चासो राखेको देखिएन', यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलालले भने। उनले भाडादरको विषयमा अहिले कुनै कुरा नउठाए तापनि भाडादर बढाउने माग गरेर बुकिङ खुलाएनन् भनेर सरकारी अधिकारी जिम्मेवारीबाट पन्छिएको बताए। 'भाडा वृद्धि अहिलेको हाम्रो माग होइन, दशैँको समयमा एक व्यक्तिले तीन/चारवटा व्याग बोक्छन्, ती व्याग हामीले कहाँ राख्ने?', उनी भन्छन्, 'व्याग राख्ने ठाउँ त चाहियो नि! गत वर्षहरूमा छतमा मान्छे नराख भन्थे, अहिले व्याग पनि नराख भन्छन्, सीमित गाडीमा व्याग बोक्ने कि यात्रु?'

यातायात व्यवस्था विभागका निर्देशक प्रेम सिंह भने भदौ २२ गतेबाट टिकट खुला हुने बताउँछन्। 'व्यवसायीले भदौ २२ गतेबाट टिकट खुला गर्ने विषयमा हामीसँग सहमति गरिसकेका छन्। यसमा समस्या हुँदैन', सिंहले थाखाखबरसँग भने। उनले व्यवसायीले पछिल्लो समयमा राखेका माग आफूहरूसँग सम्बन्धित नभएको समेत बताए। 'उहाँहरूले राखेका माग ठीकै होलान् तर खाल्डाखुल्डी विभागले पुर्ने होइन', उनले भने, 'सम्बन्धित निकायबाट पुर्दै होलान्, छतमा व्याग राख्न ऐन नै संशोधन गर्नुपर्छ, त्यो पनि हामीले सक्ने कुरा भएन।'

२०७३ असोजमा परिमार्जनसहित आएको सवारी तथा यातायात व्यवस्था नियमावलीले यात्रु बोक्ने सार्वजनिक सवारी साधनको छत राख्न नपाइने व्यवस्था गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.