|

काठमाडौं : धेरै माया नदेऊ हजुर मलाई भार भो

                 लिन सजिलै भो माया तिर्नै गाह्रो भो

सधैं हँसाइरहने प्रिय कलाकारको जीवनका उकाली ओरालीको सँगालो आत्मकथा 'महको म' विमोचनका साक्षी बन्न आइपुगेका दर्शकमाझ 'मह जोडी'का म अर्थात् मदनकृष्ण श्रेष्ठको स्वरले उपस्थितलाई झुमायो। गम्भीर बनायो। जीवनमा मायाको अर्थ कति हुन्छ र माया गर्नेहरूलाई त्यसको मूल्य चुकाउनुपर्‍यो भने एकचोटिको जुनीले पुग्छ कि पुग्दैन होला? भन्ने भाव बोकेको थियो यस गीतको शब्द र स्वरले।

गीत प्रस्तुत गरेपछि ६७ वर्षको उमेरमा हिँडिरहेका मदनकृष्ण श्रेष्ठले ठट्यौली पारामा गम्भीर कुरा भने, 'मायाको ऋण बैंकमा जस्तो तिर्नुपरेको भए केके हुन्थ्यो हुन्थ्यो।' उनले काठमाडौँको जीतपुरफेदीमा जन्मेदेखि अहिलेसम्म धेरैबाट माया पाएको तर तिर्न नसकेको र नसक्ने भाव व्यक्त गरे।

गीतको रचनागर्भ त्यही मायाको वरिपरि रहेको पनि उनले बताए। 'धेरैसँग भेटियो, धेरै ठाउँ घुमियो, हवाइजहाज चढेर विदेश पनि घुमियो, पाँचतारे होटेलमा बसियो, खोला र गाउँहरू घुमियो, जताततै माया पाएँ अनि त्यसैलाई लिएर यो गीत लेखेको हो', उनले भने।

मदनकृष्ण एक हाँस्य कलाकार मात्रै नभएर गायक पनि हुन्। प्रकाशक संस्था फाइन प्रिन्टका निरज भारीले मदनकृष्ण श्रेष्ठको नामसँगै जोडिएर आउने गीतको आग्रह गरेका रहेछन्। त्यो गीत थियो:

खोलावारि खोलापारि पिपलु र वर

हावा चल्यो पात हल्यो माया वरवर

गीत प्रस्तुत गर्दै मदनकृष्णका छोरा यमन श्रेष्ठ

यो गीतले पनि उपस्थित दर्शकलाई मुग्ध पार्‍यो। मदनकृष्णले नै रचना गरेको 'अर्बौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे…' गीतको अफर आएपछि उक्त गीत पनि गाए। उपस्थितलाई मदनकृष्णले मात्रै गीत सुनाएनन्, उनका छोरा यमन श्रेष्ठले बुबाले बैंककमा लेखेको गीत पनि प्रस्तुत गरे। 'नभएको भए यहाँ माया भन्ने कुरा/पृथ्वी त रगतमा डुबिसक्थ्यो पूरा…' गीत मदनकृष्णले श्रीमती यशोदा श्रेष्ठको क्यान्सर उपचारका क्रममा बैंककमा भएको बेला लेखेका थिए। त्यस्तै, मदनकृष्णले लेखेको गीतलाई छोरी सराहना श्रेष्ठले पनि गाएकी थिइन्।

मदनकृष्ण श्रेष्ठको आत्मकथा 'महको म'को विमोचन भने कलाकार एवं लेखक हरिवंश आचार्यले गरेका थिए। छेउमा ताली बजाउँदै उभिएका थिए 'महका म' अर्थात् मदनकृष्ण श्रेष्ठ। दरबारमार्गस्थित होटल याक एन्ड यतिमा भएको आत्मकथा विमोचनका साक्षी बन्न कलाकार, लेखक, व्यवसायीलगायतको उपस्थिति थियो।

मदनकृष्णभन्दा पहिल्यै आत्मकथा र उपन्यास लेखेका हरिवंश आचार्यले ठट्यौलो पारामा आत्मकथाको प्रशंसा गरे। ‘धेरै पहिले मैले एउटा सुरिलो रुखको आत्मकथा पढेको थिएँ। त्यो पढेपछि सबै चिजको आत्मकथा हुन्छ भन्ने लाग्न थालेको हो मलाई', उनले भने, 'मदन दाइको जस्तो ओजपूर्ण जीवन भएको मानिसको आत्मकथा त नहुने कुरै भएन। म मेरो जीवनदाइको आत्मकथा संसारले पढ्ने खालको छ भन्नेमा ढुक्क छु।’ उनले मदनकृष्णलाई 'जीवनसाथी भन्न नमिले पनि जीवनदाइ भन्न मिल्ने' भन्दै दर्शकलाई हँसाए।

साहित्यकार डा. रवीन्द्र समीरले मदनकृष्णको आत्मकथामा आफ्नोबारे बढाइचढाइ लेखिएको भन्दा पनि आफूलाई भन्दा आफ्नो परिवेशलाई उल्लेख गरिएको बताए। ‘प्रख्यात अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा महको म एउटा शास्त्रीय आत्मकथा हो! आत्मप्रशंसा, आत्मश्लाघाबाट पूर्णतया बचेको यो पुस्तक नेपाली साहित्यको अमूल्य प्राप्ति हो', उनले भने, 'महको म आत्मकथाको भीडमा एउटा सग्लो, अग्लो र पृथक पहिचान भएको पुस्तक हो।’

मदनकृष्णको आत्मकथा पढ्दाको अनुभव यसरी सुनाए डा. समीरले, ‘चार दशकभन्दा लामो समयसम्म हरिवंश आचार्यको भाषामा सियो र धागो भएर मह जोडी बनेका लेखकको यो पुस्तकमा 'चिना हराएको मान्छे'को प्रसंग नदोहोरिनु अर्को विशेषता हो। 'महको म' पढ्दा कहिले एक्लै हाँसो लाग्छ, कहिले गम्भीर बनाउँछ, कहिले घोत्लिन बाध्य गराउँछ, कहिले रुवाउँछ, कहिले लेखकप्रति अगाध श्रद्धा उत्पन्न हुन्छ त कहिले मीठो ईर्ष्या लाग्छ।'

उनले आत्मकथामा मदनकृष्णको प्रेम, अन्तरजातीय विवाह, श्रीमतीको क्यान्सरसँगको सङ्घर्ष, पार्किन्सनका कारण 'चिप्स र ब्याट्री' ले चलेको जीवनका कुरा पृथक भाषा र शैलीमा लेखिएको बताए। उनले यसरी आत्मकथामा मदनकृष्णले जीवनप्रतिको दृष्टिकोण उल्लेख गरेको बताए।

लामो समय कलाकारिता, गायन, संगीत, समाजसेवामा लागेका मदनकृष्णको यो दोस्रो पुस्तक हो। उनले यसअघि बालकथासंग्रह 'साझा पृथ्वी' लेखेका थिए। उनले आत्मकथा लेखन सजिलो हुने बताए। उपन्यास र कथामा जस्तो कल्पनामा डुब्ने नभई आफूले भोगेका कुरा कापीमा सार्नुपर्ने भएकोले यो सहज भएको बताए। तर, आफूलाई भने यो किताब लेख्न छ वर्ष लागेको बताए। उनले भने, 'बीचमा श्रीमतीलाई क्यान्सर भएकोले दुई वर्ष लेख्न भ्याइनँ, लेख्ने मुड नै बनेन, पीडा भयो। पछि पार्किन्सनले मलाई भेट्यो। अक्षर लेख्दा औँला नै सरेन अनि छ वर्ष लाग्यो।'

उनले लेख्दालेख्दैको आत्मकथा कतै पूरा नहुने हो कि भन्ने आशंका उब्जेको कुरा पनि खुलाए। उलने भने, 'कलम चलाउन र सार्न गाह्रो भयो, लाग्यो मेरो बायोग्राफी पूरा नहुने भयो।' उनले छोरा यमनले र हरिवंश आचार्यले बाँकी लेखिदिन्छौँ भनेको तर पाठकले थाहा नपाए पनि आफ्नो मनले नमान्ने भएकोले आफैँले लेखेको बताए। उनले भने, 'यो किताब जिन्दगीको दस्तावेज भएको छ।'

हेर्नुस् विमोचनका केही दृश्य फोटामा

आत्मकथा विमोचनहुनु पहिले परिवारका सदस्य र इष्टमित्रका साथ मदनकृष्ण श्रेष्ठ।

'मह जोडी' मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य।

मदनकृष्ण श्रेष्ठ र हाँस्यकलाकार शिवहरी पौडेल। 

मदनकृष्णलाई खादा लगाएर बधाई दिँदै ।

प्रकाशन संस्था फाइन प्रिन्टका प्रमुख कार्यकारी निरज भारी।

मदनकृष्ण श्रेष्ठ  साथमा श्रीमती यशोदा श्रेष्ठ।

मदनकृष्ण श्रेष्ठकी छोरी सराहना श्रेष्ठ गीत प्रस्तुत गर्दै।

मदनकृष्णको आत्मकथा 'महको म' को पाण्डुलिपि देखाउँदै डा. रवीन्द्र समीर ।

मदनकृष्णलाई बधाई दिँदै उद्योगपति विनोद चौधरी।

मदनकृष्ण श्रेष्ठ आत्मकथा 'महको म'मा हस्ताक्षर गर्दै साथमा पटकथा लेखक एवं उपन्यासकार ब्रजेश। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.