सन्दर्भ : साेह्रश्राद्ध

|

भाद्रशुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औँसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र दिनको अवधिलाई नेपाली सनातन समाजले सोह्रश्राद्धको नामले बुझ्छ। सोह्र दिनसम्म श्राद्ध गरिने भएकाले बोलीचालीमा सोह्रश्राद्ध भनिए पनि यस अवधिलाई पितृपक्ष भनिन्छ। पर्व (औँसी) मा गरिने स्वरूपको भएकाले यो बेला गरिने श्राद्धलाई 'पार्वण' भनिन्छ। 

के हो पार्वण श्राद्ध ?
अष्टमी, औँसी, पूर्णिमा आदि तिथिलाई वैदिक धर्ममा पर्व भनिन्छ। यी तिथि (पर्व) कुनै देवताका लागि महत्त्वपूर्ण हुन्छन्, कुनै पितृका लागि। औँसी (अमावस्या) पितृको तिथि हो। वेद–वेदा‌ंग शास्त्रका विद्वान् स्व. शिवराज आचार्य कौण्डिन्न्यायनको ‘पार्वणश्राद्धपद्धति’ पुस्तकका अनुसार प्रत्येक औँसीमा पार्वणश्राद्ध गर्ने परम्परा थियो। कालान्तरमा वर्षका बाह्रै औँसीमा श्राद्ध गर्न छोडी भाद्र वा आश्विनको एउटा औँसी वा कृष्ण पक्षलाई पितृपक्ष मानी श्राद्ध गर्न थालिएको हो। अहिले गरिने पार्वण श्राद्ध औँसी श्राद्धकै स्वरूप हो। 

पुस्तकअनुसार अहिले गरिने श्राद्ध मूल वैदिक परम्परा अनुकुलको नभई पौराणिक हो। यसबेला गरिने श्राद्धको महत्त्व श्रीमद्भागवतलगायत पुराणमा पनि बताइएको छ। पितृपक्षमा पिता वा पितामहको तिथिलाई आधार मानेर एक तिथिमा श्राद्ध गर्ने परम्परा छ। पितृको तिथि जुनसुकै भए पनि केहीले औँसीमै पार्वण श्राद्ध गर्छन्।

औँसी (अमावस्या) पितृको तिथि हो। वेद–वेदा‌ंग शास्त्रका विद्वान् स्व. शिवराज आचार्य कौण्डिन्न्यायनको ‘पार्वणश्राद्धपद्धति’ पुस्तकका अनुसार प्रत्येक औँसीमा पार्वणश्राद्ध गर्ने परम्परा थियो। कालान्तरमा वर्षका बाह्रै औँसीमा श्राद्ध गर्न छोडी भाद्र वा आश्विनको एउटा औँसी वा कृष्ण पक्षलाई पितृपक्ष मानी श्राद्ध गर्न थालिएको हो। अहिले गरिने पार्वण श्राद्ध औँसी श्राद्धकै स्वरूप हो। 

पार्वण श्राद्धमा तीन पुस्ता
कुनै पनि व्यक्तिको जन्ममा बाबु र आमाको समान भूमिका हुन्छ भन्ने वैज्ञानिक तथ्यलाई सनातन धर्मले पहिलेदेखि नै अंगीकार गरेको छ। दैनिक तर्पण दिँदा होस् वा पार्वण (औँसी आदि पर्वमा) गरिने श्राद्ध होस्, पितृ (बाबु) कुल र मातृ (आमा) कुल दुवैतिरका पितृहरूको सम्झना गर्ने विधान छ।

तीनै पुस्ताका पितृलाई तर्पण दिने, र औँसीमा गरिने श्राद्धमा तीनपुस्ताको बाबुपट्टि पिता, पितामह, प्रपितामह र आमातर्फ मातामह, प्रमातामह, वृद्ध–प्रमातामहलाई पिण्ड दिने विधान छ। यी तीन पुस्ताका पितृहरूलाई क्रमशः वसु, रुद्र र आदित्य स्वरूप मानिन्छ। पार्वण श्राद्धमा घरतर्फका तीन र मावलीतर्फका तीन पुस्तालाई गरी ६ वटा पिण्ड दिइन्छ।

पुरुषलाई मात्रै पिण्ड ?
पार्वण श्राद्धमा घरपट्टिका माता–पितामही–प्रपितामही र मावलीपट्टिका मातामही–प्रमातामही–बृद्धप्रमातामहीको अस्तित्वलाई समेत स्वीकार गरिएको छ। यद्यपि विवाह संस्कारपछि पति र पत्नी एकाकार हुने भएकाले पितासँगै माताको, पितामहीसँगै पितामही, प्रपितामहसँगै प्रपितामहीको पनि तृप्ति हुने उल्लेख पाइन्छ। यो विषयमा गहिराइमा पुग्न विवाह संस्कारतर्फ फर्किनुपर्ने हुन्छ।

सनातन वैदिक धर्ममा विवाह गर्दा पनि वर र वधू दुवै पक्षको तीनपुस्ताको नाम उच्चारण गर्ने परम्परा छ। फलानोको पनाति, फलानोको नाति फलानोको छोरा (फलानो)लाई फलानोकी नातिनी, फलानोकी नातिनी, फलानोकी छोरी (फलानी)को विवाह हुँँदैछ भन्ने वचन पढ्नुपर्छ। विवाह संस्कारअन्तर्गत कन्यादान, गोदान, चतुर्थी आदि सम्पूर्ण संस्कार पूरा भएपछि पतिपत्नी हरेक दृष्टिबाट एकाकार हुने वैदिक दर्शनलाई आत्मसात गर्दै श्राद्धमा पतिलाई दिइने पिण्डले पत्नीको पनि तृप्ति हुन्छ भन्ने मान्यता छ।

‘बाँचुञ्जेल हेलाँ ...’
‘बाँचुञ्जेल बाबुआमालाई हेलाँ गर्ने, मरेपछि किरिया गर्ने, देखावटीका लागि श्राद्ध गर्ने...’ नेपाली समाजमा अचेल यस्तो भनाइ सुनिन्छ। सनातन शास्त्रमा आमाबाबु बाँचुञ्जेल श्रद्धापूर्वक उनीहरूको हेरविचार, पालनपोषण गर्नु सन्तानको कर्तव्य बताइएको छ। यस्तै दिवंगत भएपछि पनि शास्त्रको विधानअनुसार अन्त्येष्टि क्रिया श्राद्ध आदि कर्म गर्नुपर्ने मान्यता छ। वैदिक शास्त्रले बुढा बाबु आमालाई हेलाँ गर, मरेपछि देखावटी गर, मरेपछि श्राद्ध गर भन्दैन। मरेपछि त विधिपूर्वक काजकिरिया र श्राद्ध गर्नुपर्छ भन्ने दर्शन सिकाउने शास्त्रले बाँचुञ्जेल हेलाँ गर त पक्कै पनि भन्दैन होला। 

पौराणिक ग्रन्थहरूमा आमाबाुको अनुकुलको कार्य गर्ने, उनीहरूलाई सम्मान गर्नेको प्रशंसा गरिएको छ। यस्तै बाबुआमाको अपमान गर्नेको दुर्गति भएको देखाइएको छ। बुढा बाबुआमालाई हेलाँ गर्ने संस्कृति मौलाइरहेको छ भने मानिस वा समाजको दोष हो, शास्त्र वा धर्मको होइन। 

किन गर्ने श्राद्ध ?
आमा–बाबुलगायत पितृहरूप्रति कृतज्ञता जनाउने अवसर पनि हो, श्राद्ध। ‘म को हुँ’, ‘कहाँबाट आएँ’, ‘मेरो पुर्खाको इतिहास के हो’, गौरव के हो’, ‘म कसरी अघि बढ्नुपर्छ’ भन्नेलगायतका अनेकौं तथ्य बोध गराउन पनि श्राद्धको महत्त्व छ। सन्तानलाई पिता–माताप्रति गर्नुपर्ने कर्तव्यबोध गराउन पनि श्राद्धको महत्त्व छ। त्यसो भए पिण्डपानी दिएरै, ब्राह्मणलाई दान दिएर किन गर्नुपर्‍यो श्राद्ध? दुःखी गरिबलाई पेटभरि खुवाएर बाबुआमालाई सम्झे हुन्न? सामाजिक कार्य गरेर श्राद्ध गरे हुन्न? यी प्रश्न पनि समाजमा ज्वलन्त रूपमा उठ्ने गरेकै छ। 

आमोद–प्रमोद, विलासिता र कुलत सुरासुन्दरीका लागि हजारौं, लाखौं रुपैयाँ सिध्याउने पक्षको विरोध नगर्ने तर जब आस्था र श्रद्धाकोे चर्चा चल्छ, तब पिण्ड पकाउने एक मुठी चामलले कसैको पेट भरिन्थ्यो भन्ने तर्क गर्नेको त औषधी नै के होला र! श्रद्धा र आस्था नभएकाहरूले देखावटीका रूपमा श्राद्ध गरेको ढोङ रच्नु पनि बेकार हो।

हुन त कुल–परम्परा–आचार–बुद्धिविवेक आदि अनेकौं पक्षबाट मानिसका कार्य निर्धारित हुन्छन्। आस्था भएका (आस्तिकजन) का लागि वैदिक शास्त्रको अनुसरण महत्त्वपूर्ण हो। वैदिक धर्ममा वेद–स्मृति–पुराण आदिका वचन अनुसरणीय हुन्छन्। वैदिक धर्मको आचरणसँगै सामाजिक सेवा (लौकिक धर्म) पनि गर्न नसकिने होइन। 

श्राद्धमा श्रद्धा कि ढोङ ?
श्राद्धमा बिरालो बाँध्ने... भन्ने भनाइ नेपाली समाजमा चलेको छ। कुनै पनि विषयको महत्त्व नबुझी देखासिखीको भरमा कुनै पनि काम अँगाल्नुहुँदैन वा देखासिखी गर्नुहुँदैन भन्ने सन्देश होला यसको। श्रद्धा र आस्था नभएकाहरूले देखावटीका रूपमा श्राद्ध गरेको ढोङ रच्नु पनि बेकार हो।

श्राद्धमा श्रद्धा र शुद्धताको बढी महत्त्व हुन्छ। श्रद्धा र शुद्धता नभएको पितृकर्म, श्राद्ध मानिँदैन। श्राद्ध गर्नेको शरीर र मनदेखि श्राद्धमा प्रयोग सजीव–निर्जीव वस्तु शुद्ध हुनुपर्छ। श्राद्ध गर्ने–गराउने (कर्ता र पुरोहित) दुवैमा श्रद्धा उत्पन्न हुनुपर्छ। अनिमात्र कर्ताले गरेको श्राद्धले पितृको तृप्ति हुन्छ भन्ने शास्त्रको मान्यता छ। 

आमोद–प्रमोद, विलासिता र कुलत सुरासुन्दरीका लागि हजारौं, लाखौं रुपैयाँ सिध्याउने पक्षको विरोध नगर्ने तर जब आस्था र श्रद्धाकोे चर्चा चल्छ, तब पिण्ड पकाउने एक मुठी चामलले कसैको पेट भरिन्थ्यो भन्ने तर्क गर्नेको त औषधी नै के होला र! परोपकार गर्न त शास्त्रले रोकेको छ र! गच्छेअनुसार गरे भइहाल्यो।

[email protected]

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.