|

लहान : स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत आगामी असोज २ गते हुने निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ। उम्मेदवारहरुले उत्साहपूर्ण तबरले मनोनयन दर्ता गरिरहेका छन्।

सिरहाका १७ स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयहरुले कतै दल र स्वतन्त्र उम्मेदवारहरुलाई पालो मिलाएर मनोनयन पत्र दर्ता गरिरहेका छन् भने कतिपय निर्वाचन अधिकृतको कार्यालयले जो अगाडि आउँछ, उसैको दर्ता पहिले गरिरहेका छन्।

लहान नगरपालिकामा अगाडि आएका उम्मेदवारको मनोनयन पत्र दर्ता गरिएको निर्वाचन अधिकृत नारायणबहादुर थापाले बताए। थापाका अनुसार बिहान १० बजेदेखि लहान नगरपालिकाको केही वडाका दल सम्बद्ध वडाध्यक्षसहितका उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेका छन्। मध्याह्न १२ बजेसम्म प्रायः मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा, राप्रपासहित केही केही स्वतन्त्र उम्मेदवारहरुले वडाध्यक्ष र वडा सदस्यका लागि मनोनयन पत्र दर्ता गरेका छन्।

प्रायः सबै दलका नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरु आ–आफ्ना कार्यकर्ता, समर्थक र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दतर्ताका जाने क्रम जारी छ। लहानको सहिद चोक, एक नं. सडक, नयाँ बजार, ग्रामिण चोकमा दलका कार्यकर्ता र समर्थकहरुको भीडभाड छ।उता, सप्तरीको सुरुङ्गा नगरपालिकाको कनकपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ताका कदमाहा, कुशहा, कनकपुर बजारमा उम्मेदवर र तिनका समर्थकहरुको घुँइचो लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.