|

काठमाडौं : डा. अरुण कुँवर नेपालकै पहिलो बालमनोरोग विशेषज्ञ हुन्। अमेरिकाका अपस्टेट मेडिकल युनिभर्सिटीबाट बालमनोरोगमा विशेषज्ञता हासिल गरेका डा. कुँवर हाल कान्ति अस्पतालमा स्थापना गरिएको नेपालकै पहिलो पूर्णकालीन बाल मनोरोग ओपिडीमा कार्यरत छन्। अमेरिकामा रहँदा पनि उनी बालमनोरोग विशेषज्ञ भएर उनले सन् २००५ मा अमेरिकन एकेडेमी अफ चाइल्ड एन्ड एडलोसेन्ट साइक्राटिकमा पाइलट रिसर्च अवार्ड पाएका थिए।

 यस्तै, सन् २००८ मा नेसनल एलायन्स फर सिजोफ्रेनिया एन्ड डिप्रेसनले ‘योङ इन्भेस्टिगेटर अवार्ड’ हासिल गरेका थिए। अमेरिकामै नगण्य रुपमा बालमनोरोग विशेषज्ञ रहेको बेलामा उत्कृष्ट दक्षताले डा. कुँवरलाई अमेरिकामै सेटल हुन केही अप्ठ्यारो थिएन। तर, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले अमेरिकाको सुख सुविधा चटक्कै छोडेर नेपाल फर्किएका हुन् उनी बताउँछन्।

जुन घटनाले नेपालै फर्कने निर्णय गरेँ

करिब १२ वर्ष अमेरिका बसेको भइसकेको थियो। त्यहाँ पनि राम्रै सेटल भइसकेको तर, आफूलाई नेपालमै फर्कने इच्छा रहेको उनी सुनाउँछन्। राम्रोसँग सेटल भएर बसिसकेको अवस्थामा चट्क्कै छोडेर आउन समस्या रहेको उनले सुनाए। 'अमेरिकाको भौतिक सुख सुविधामा रमाउने बानी परिसकेको थिएँ। तर, एकदिन  सँगै काम गर्ने इन्डियाको साथी थिए  उनी घर पुगेर आएका थिए।

उनले गर्फ गर्दै जाँदा भने, 'अमेरिकामा सबै कुरा छ तर, के परिवारको माया ममता र स्नेह अलिकती पनि छैन के गर्नु घरमा आमालाई क्यान्सर भएको छ आफू अमेरिका आउन परेको छ, यहाँ जे जतिसुकै रमाइलो र भौतिक सुखसुविधा भए पनि मेरो मनमा अलिकति पनि शान्ति छैन।' मैले पनि हामी अब नेपाल जानुपर्छ भन्ने सोच बनाइसकेका थियौं तर कहिले जाने भन्ने थिएन त्यही घटनाले नै हामीले नेपाल आइहाल्ने निर्णय गर्‍यौं।' पहिले श्रीमती र छोरा छोरीलाई पठाएर त्यसको केही समयपछि आफू नेपाल आएको उनले बताए।

सेटल हुन नसकेर समस्या, टिचिङमा ५ वर्ष नि:शुल्क सेवा

अमेरिकाको सुविधायुक्त जीवनशैलीलाई चटक्कै छाडेर नेपालमा आउनुमा आफ्नो एउटै उद्देश्य भनेको आफ्नै देशमा केही गरौं भन्ने रहेको उनी बताउँछन्। 'नेपालमा नै बालमनोरोग क्षेत्रको जग हाल्ने महत्वकांक्षाले नै मैले अमेरिकाको भौतिक सुखसुविधा र मोह त्यागेर नेपाल आएको हुँ' उनले भने। नेपाल आएपछि केही समय सेटल हुन धेरै कठिन भएकोले गर्दा बीचका ३ महिना पुन: अमेरिकामै काम गर्न जानुपरेको पीडा उनले सुनाए।

'३ महिनापछि पुन: नेपाल फर्किएपछि टिचिङमा ५ वर्षसम्म (हप्तामा २ दिने) नि:शुल्क सेवा दिएँ। पछि मलाई बालमानसिक रोग उपचारको छुट्टै उपचार हुने विभाग हुनुपर्छ। भन्ने लाग्यो। पाचँ वर्षसम्म टिचिङमा काम गर्दा टिचिङमा नै यससम्बन्धी विभाग गठन गर्न खोजें तर भएन।

कान्ति अस्पतालमा कुरा गरे अस्पतालले  पनि मेरो कुरामा सहमति जनाइ बालबालिकालाई पनि यस्तो उपचार सेवाको आवश्यकता महसुस गर्‍यो र कान्ति अस्पताल, सिविन तथा नर्वेजियन साइक्राटिक एसोसिएसनको सहकार्यमा दक्ष जनशक्तिसहितको सुविधायुक्त छुट्टै ओपिडी सञ्चालनमा ल्याइएको हो।' उनले सुनाए। सन् २०१५ को जुलाईदेखि आफूहरुले सेवा दिइरहेका उनले जानकारी दिए। २ वर्षयता  यहाँबाटै मानसिकरोगी बालबालिकाहरुको उपचार गर्दै आएका छौँ। कान्तिले हामीलाई पर्याप्त स्थान पनि उपलब्ध गराएको उनले जानकारी दिए।

दैनिक १५ देखि २० जनासम्म मानसिक रोगका बिरामी

अहिले चलिरहेको यो ओपिडी बालमानसिक रोगको नेपालकै पहिलो तालिमप्राप्त दक्ष जनशक्ति सहितको पूर्णकालीन क्लिनिकभन्दा हुन्छ। ओपिडीमै भेटिएका डा. कुँवरले भने, 'सेवा सञ्चालनको पहिलो ६ महिनामै करिब ६ सय बालबालिका उपचारका लागि आएका तर, गएको वर्षमा भने २६ सय बालबालिकाले उपचार सेवा लिएको पनि उनले सुनाए।

हाल उनको ओपिडीमा दैनिक १५ देखि २० जनासम्म मानसिक समस्या भएका बालबालिकाहरु आउने गरेका छन्। अमेरिका त्यागेर सन् २००९ को जुलाईमा आफू नेपाल आउँदा बाल मनोरोगमा कुनै प्रयास भएको नभएको डा. कुँवर बताउँछन्।  आममानिसमा मात्र होइन, 'मेडिकल क्षेत्रका मानिसहरुलाई पनि बाल मनोरोग विशेषज्ञ पनि हुन्छन् र भन्ने थियो। अहिले पनि मानिसहरुलाई मानसिक समस्या भनेपछि युवा तथा उमेर पुगेका मानिसमा मात्र हुन्छ भन्ने भ्रम रहेको बेलामा बालबालिकाका लागि बालमनोरोगको छुट्टै उपचार सेवा हुने कुरै अवस्थानै भएन' उनले भने।

'सुरु सुरुमा म ओपिडीमा उपचार गर्न बस्दा बिरामी  असाध्यै कम आउने त्यसमा पनि चिनेका मानिसका छोराछोरी मात्र हुन्थे। तर, अहिले यसबारे विस्तारै मानिसहरुमा चेतना फैलँदै गएपछि बिरामी बालबालिकालाई लिएर आउने अभिभावकको संख्या बढ्दै गएको छ' उनले भने। कान्तिले पर्याप्त स्थान पनि उपलब्ध गराएको तथा अहिले चलिरहेको यो ओपिडी बालमानसिक रोगको पहिलो पूर्णकालीन क्लिनिक भन्न सकिने उनको भनाइ छ। ओपिडीमै भेटिएका उनले भने।

बाबुको प्रेरणा 

डा. अरुण कुँवरका बाबु देशराज कुँवर पनि मानसिक रोग विशेषज्ञ हुन्। उनी आर्मी अस्पतालको मानसिक रोग विभागको प्रमुखसमेत भए। उनको बाबुले घरमा नै नर्सिङ होम चलाएका थिए। घरको माथिल्लो तल्लामा उनीहरु बस्थे भने तल्लो तल्लामा नर्सिङ होम थियो। उनीहरु खाली भएको समयमा ती बिरामीसंग घुलमिल हुन पनि आउँथे।  'हाम्रो घरमा नै नर्सिङ होम थियो। मानसिक रोग विशेषज्ञ  कम भएकाले हुन सक्छ नर्सिङ होममा धेरै बिरामी आउँथे' उनले भने।

'सानैदेखि मेरो संगत मानसिक रोगका बिरामीसँग भयो। मलाई सानैदेखि मानसिक स्वास्थ्यमा नै रुचि बढ्दै गयो।' बाबु डाक्टर भएकाले डा. कुँवरको झुकाव पनि चिकित्सा शिक्षातिर नै थियो। स्कुल तहको पढाइ सिदार्थ वनस्थलीबाट सिध्याएपछि प्लटुदेखि एमबिबिएस सम्मको पढाइ उनले भारतमा नै पूरा गरे।

'१९९६ मा एमबिबिएस सकेर आएपछि केही समय साइकाट्रिक मानसिक रोग पढ्ने कि नपढ्ने भन्नेमा अन्योल भयो' उनले भने, 'सर्जरी पढ्नु कि जस्तो पनि लाग्यो, किनभने सर्जरीमा चाँडै नतिजा आउँथ्यो। तर पारिवारित वातावरणले मेरो झुकाव मानसिक स्वास्थ्यप्रति थियो।' पहिलाको घटना इतिहास सम्झँदै उनले सुनाए।

सन् १९९६ मा एमबिबिएस सकेर नेपाल फर्किएपछि डा. कुँवरले केही समय त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काम गरे। उनले त्यतिबेला मानसिक स्वास्थ्यकै क्षेत्रमा काम गरे। त्यसको दुई वर्षपछि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा मानसिक स्वास्थ्यसम्बन्धी चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी साइकाट्रिक) को पहिलो ब्याचमा उनको नाम पहिलो नम्बरमा नै निस्कियो। 'त्यसपछि भने मलाई अब म मानसिक रोग विशेषज्ञ नै बन्छु भन्ने लाग्न थाल्यो' उनले भने। 

 'दुई वर्ष एमडी पढेपछि पढाइ बीचमै छाडेर कुँवर अमेरिका गएँ। अमेरिका पुगेर फेरि एमडी साइक्राटिक नै पढ्न थालें। मलाई केमा स्पेशलिस्ट बन्ने भन्ने थियो। त्यहाँ असाध्यै कम बाल मनोचिकित्सक (चाइल्ड साइकाट्रिक) देखें, त्यसपछि त मलाई अमेरिकामा पनि यति कम भएको चाइल्ड साइकाट्रिक नेपालमा त झन् छँदै छैन त्यसैले मैले यसैको विशेषज्ञ बन्ने निणय गरेँ' उनले भने।

२००३ देखि २००५ सम्म उनले बालमनोचिकित्साको अध्ययन गरेर विशेषज्ञता हासिल गरे। 'त्यसमा म उत्कृष्ट पनि भएँ र ३०  हजार डलर पुरस्कार पनि पाएँ' उनले भने,  'चाइल्ड साइकाट्रिक भइसकेपछि मैले त्यहीँ प्राइभेट काम गर्न थालेँ अमेरिकामा नै असाध्यै कम साइकाट्रिक भएको कारण डिमान्ड धेरै नै थियो।' तर उनी अमेरिकामा धेरै समय रहन सकेनन्, आफ्नै देश फर्किए। 

 बालबालिकालाई मानसिक रोग लाग्दैन भन्ने भ्रम  

डा. कुँवर बालबालिकामा मानसिक समस्या देखिँदैन भन्ने भ्रम कायमै रहेको बताउँछन्। बच्चाको उमेर अनुसार शारीरिक विकास नहुनु, डरका कारण उत्पन्न हुने एन्जाइटी डिसअर्डर, सिजोफ्रेनिया, बच्चाहरु बढी चकचक गर्नु, बच्चाहरु सुस्तमनस्थितिको हुनु  जस्ता लक्षणहरु मानसिक रोगको भएको उनको भनाइ छ।  बालबालिकाहरु स्कुल जान नमान्नु पनि एक किसिमको मानसिक रोग हो।

‘विद्यालयमा सरले पिट्ने वा अन्य डर, चिन्ताले मानसिक समस्या देखिन सक्छ।हामीले थाहा नपाएर यसलाई साधारण मान्ने गर्छौं। तर, त्यो मानसिक समस्या हो। यसलाई एन्जाइटी डिसअर्डरु भनिन्छ' उनले भने। बालबालिकाले धेरै चकचक गर्ने, एक ठाउँमा बस्नै नसक्ने, खान नखोज्ने, अरु मानिससँग घुलमिल हुन नसक्नु, धेरै रुनु जस्ता विषय पनि मानसिक समस्या हो।

यसलाई एटेन्सन डिफेक्टिभ हाइपर डिसअर्डर भनिन्छ। यस्ता समस्यालाई बेलैमा  समाधान नगरे पछि झन् गम्भीर समस्या देखिने डा। कुँवर बताउँछन्। बालबालिकामा यी लक्षण देखिएपछि बालबालिकालाई चिकित्सककोमा पुर्‍याउनुपर्ने उनको सुझाव छ। उनले भने, युवा अवस्थामा हुने ५० प्रतिशत मानसिक रोग बालबालिकामा देखिएको समस्या नै बढ्दै गएर हुने हो।’

नेपालमा कति बालबालिकालाई मानसिक समस्या छ र उनीहरुमा कस्तो खालको समस्या बढी छ भन्ने यकिन तथ्यांक छैन। तर ३ देखि ५ प्रतिशत बालबालिकामा कडा खालका मानसिक समस्या र १५ देखि २० प्रतिशतमा गाह्रो खालका मानसिक समस्या रहेको डा. कुँवरको अनुमान छ। उनी भन्छन्, 'हाम्रो  घर, टोल छिमेकमा कुनै न कुनै मानसिक समस्या भएका बालबालिका छन्। उनीहरुको समयमा नै उपचार गर्ने हो भने धेरै समस्या समाधान हुन्छ।’ केही बालबालिकाको समस्यालाई पूर्ण रुपमा ठीक पार्न नसके पनि धेरै कम गर्न सकिने उनले बताए।

(कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.