|
डोटी रैका राजा मन्धता शाहीद्वारा प्राचिन खस भाषामा लिखित ताम्रपत्र। फोटो : विकिपीडिया

  • शुरबहादुर सिंह 

जुम्ला : लोपोन्मुख अवस्थामा पुगेको खस भाषाको उत्खननस्वरुप पहिलोपटक कर्णालीको जुम्लामा ‘खस जुम्ली भाषा लेखनशैली’को प्रस्तावित मस्यौदा निर्माण गरिएको छ।

मातृभाषा केन्द्र नेपालद्वारा आयोजित तीनदिने कार्याशाला गोष्ठीमा सहभागी यहाँको खस भाषा, कला, संस्कृति र इतिहाससम्बन्धी जानकारको अन्तिम निर्णयले ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदा निर्माणको प्रस्ताव गरेको हो। प्रस्तावित ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदाको व्यञ्जन वर्ण २९ अक्षर र स्वर वर्ण ६ वटा छन्।

आवश्यक परेको खण्डमा परिमार्जित संस्करणमा प्रयोग गर्नेगरी अहिले प्रस्तावित मस्यौदाबाट व्यञ्जन वर्णहरु ञ, ण, श, ष, क्ष, त्र र ज्ञ र स्वर वर्ण ई, ऊ, ऋ, ऐ, औ, अं, अः बाहिर राखिएको छ। तत्कालीन कर्णाली खस राज्यभित्र बोलिने खस भाषा र बोलचालसम्बन्धीको भाषा एवं जनबोलीलाई आधार बनाएर प्रस्तावित मस्यौदा निर्माण गरिएको भाषासेवी तथा जुम्ली खस शब्दकोशका सम्पादक रमानन्द आचार्यले जानकारी दिए।

“मस्यौदामा कर्णाली क्षेत्र र तिनको सेरोफेरोका जिल्लाको बोलचालसम्बन्धीको खस भाषा समेटिएको छ,” भाषासेवी आचार्यले भने। उनका अनुसार विसं १८४६ पछि कर्णालीको पहुँच केन्द्रीय सरकारबाट कमजोर हुँदा खस भाषा ओझेलमा पर्दै गएको र ढिलोगरी प्रस्तावित मस्यौदा बने पनि यो काम सराहनीय छ।

पूर्वशिक्षकहरु, कला संस्कृति एवं खस साहित्यकार, भाषाका जानकार र पत्रकारको संलग्नतामा निर्मित प्रस्तावित मस्यौदामा यो क्षेत्रको कथ्य शब्द ‘स्ह’ को लेख्य रुप दिन नयाँ वर्णमा प्राथमिकीकरण गरिएको छ। खस भाषाका जानकारद्वय गणेशप्रसाद चौलागाईं र गुरुराज न्यौपानेले मस्यौदामा २९ व्यञ्जन र छवटा स्वर वर्ण मात्र खस भाषामा प्रयोग गरिए पनि विद्यार्थीलाई अन्य वर्ण प्रयोग पढाउनुपर्ने मत राखेका थिए।

यता पूर्वशिक्षक मुनिश्चन्द्र न्यौपानेले खस भाषा पूरै राष्ट्रियकरण नभए पनि नेपाली भाषाका धेरै वर्ण खस भाषाबाटै विकसित भएको दाबी गरे। खस भाषामा आधारित मस्यौदाले यहाँको पहिचान जोगाउने उहाँको भनाइ थियो। तिलागुफा नगरपालिका कालीकोट जुविथागाउँका बलिराज शाहीले मस्यौदाको अन्तिम रुप दिन सक्नु ऐतिहासिक उपलब्धि हुने तर्क गरे।

मातृभाषा केन्द्र नेपालका निर्देशक सुशील सुब्बा लिम्बूले मस्यौदाको पहिलो संस्करण प्रकाशन गरेर स्थानीय तहका सबै ठाउँमा अध्ययन अवलोकनका लागि वितरण गरिने बताए। उनले भने, “यो प्रस्तावित मस्यौदा नागरिकस्तरबाट स्वीकृत भएमा मात्र ‘खस जुम्ली भाषा लेखनशैली’का रुपमा पारित हुनेछ।”

समयमै गरिएको निर्णयले आफैँलाई नै राम्रो हुने भन्दै निर्देशक लिम्बूले भाषा निर्माणले राष्ट्रिय मेलमिलाप र क्षेत्रीय विविधतालाई कायम गरेर अघि बढ्नु अनुरोध गरे। भाषासम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय संस्था (सिल)का भाषा विकास विज्ञ डा नेत्रमणि राई र भाषा सफ्टवेयर विज्ञ दिवाकरमान श्रेष्ठले लोलिबोलीमा खस भाषाको विशेषता बढी देखिएको भन्दै आफ्नो भाषिक सिद्धान्त प्रयोगमा ल्याउन अनुरोध गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.