आमा भन्छिन् ‘एक्लो छोरो सास हुन्जेल आस छ’

|
कनकाई नगरपालिका -४ झापा कोटीहोम आश्रममा राखिएका केशवलाई स्यहार्दै उनकी आमा।

इलाम : इलामको दक्षिणी क्षेत्र माईनगरपालिका-२ का २२ वर्षीय केशव भण्डारी ४ महिनादेखि अर्धचेत अवस्थामा छन्। मातातीर्थ ‍औंशी १३ वैशाखका दिन गाडीबाट खसेका उनी जीवन मरणको दोसाधमा छन्। खोजी रिक्रुटमेन्ट सर्भिसेजन प्रालि बिर्तामोडबाट वैदेशिक रोजगारीका लागि कतार गएका उनी काम राम्रो नभएपछि पुनः नेपाल फर्किएर दुबईका लागि प्रयासरत थिए।

दुबईको प्रक्रिया नहुन्जेल झापा– ताप्लेजुङ रुटमा चल्ने मे १ ज १९३५ नम्बरको गाडीमा सहचालक काम गर्ने उनको फेरि विदेश गएर बिल्डिङ घर बनाउने सपना तुहियो। खाटमा सुतिरहेको केशवलाई देखाँउदै आमा रामकुमारी भण्डारीले भनिन्, ‘आमा कतारमा कमाइ भएन अब दुबई गएर धेरै पैसा कमाएर बिल्डिङ घर बनाउँछु भन्थ्यो। अहिले न त घरको अवस्था राम्रो रह्यो न छोरो सद्धे छ।’

उपचारमा १४ लाख खर्च

यात्रुको झोला झार्न लाग्दा ठेल्ने क्रममा इलाम नगरपालिका-१० गोदकको धर्जे जंगलमा ट्याक्सीबाट सडकमा खसेर उनको टाउकोमा गम्भीर चोट लाग्यो । उनलाई तत्काल झापास्थित बिएन्डसी अस्पतालको आइसियु कक्षमा राखियो तर, समस्या झन् जटिल बन्दै गयो। अस्पताल राखेको केही समयसम्म उनी हलचलसमेत गर्न सक्दैनथे तर, अहिले भने सामान्य हात खुट्टा चलाउन सक्छन्। उपचारमा अहिलेसम्म १४ लाख रुपैयाँभन्दा बढी खर्च भएको उनकी आमा रामकुमारी भण्डारीले बताइन्।

गाडी धनीले उपचारका लागि १९ लाख रुपैयाँ दिएपछि दुवै पक्षबीच मिलापत्र भयो। बिएन्डसी अस्पतालले २७ असारमा बिरामीलाई घर लग्ने भनेपछि उनलाई खरेल बन्धु वशिष्ठ आश्रममा राखिएको छ। ‘डाक्टरले प्रत्येक ५÷१० दिनमा चेकअपका लागि ल्याउनु भनेकाले घरबाट ल्याउन असहज भएपछि आश्रममा राखेका हौँ’ रामकुमारीले भनिन्, ‘खाना केही खुवाउनु हुँदैन मुखबाट पाइप लगाएर माड खुवाउँदै आएका छौँ। कहिलेकाहीँ असहज हुँदा हलचल गर्छ नत्र मुढोजस्तै लमतन्न पर्छ। डाक्टरले ३ देखि ६ महिनाभित्र होस आउँछ भनेको छ।’

खप्पर निकालेर अस्पतालमै

टाउकोको दाहिने भागमा चोट लागेपछि उनको दाहिने खप्पर निकालेर बिएन्डसीमा नै राखिएको छ। ‘डाक्टरले निको भएपछि लगाउनुपर्छ भनेको छ’ उनकी दिदी मीना भण्डारीले भनिन्। घाँटीमा जमेको कफ निकाल्न मुस्किल भएपछि अहिले मेसिनमार्फत निकालिँदै आएको छ। श्वास फेर्नका लागि नाकमा पाइप लगाइएको छ। उनलाई श्वास फेर्ने अप्ठयारो हुँदा मुख चलाउने गरेका छन्।

आमा भन्छिन् ‘एक्लो छोरो सास हुन्जेल निको हुने आस छ’

प्रत्येक ८/१० दिनमा के प्रतिक्रिया दिन्छ त्यहीअनुसार उपचार गर्नुपर्छ भनेर डाक्टरले भनेको छ भावविह्वल हुँदै आमा रामकुमारीले सुनाइन्। ‘बुढेसकालको सहारा एक्लो छोरो सास हुन्जेल आस हुँदोरहेछ ऋणपान गरेर पनि छोरो बचाउनै पर्‍यो’। केशव भण्डारी परिवारका एक्लो छोरा हुन्। उनका अरु २ जना दिदीहरु छन्। सामान्य हलचल मात्र गर्न सक्ने केशवको ओच्छयानमै दिसा पिसाब सोर्होनुपर्ने स्थिति छ।

७ कक्षासम्म मात्र अध्ययन गरेका उनी ५ वर्षअघिबाट गाडीमा खलासीको काम गर्दै आएका थिए।  उनी वैदेशिक रोजगारीका लागि कतारसमेत गएका थिए। केही महिना कतारमा बसेपछि काम राम्रो नभएकाले म्यानपावरले अर्को देश पठाइदिन्छु भनेपछि फर्केर नेपाल आएका थिए। दुबईका लागि प्रयासरत उनी प्रक्रिया पूरा नहुन्जेल खलासी काम गर्ने भन्दै ताप्लेजुङ–झापा रुटको गाडीमा  काम गर्न थालेको २ महिना मात्र भएको थियो।

गर्मीमा फेन नचल्दा उनको शरीरबाट खलखल पसिनाका साथै आँखाबाट आसु झर्ने गरेको आमा रामकुमारी बताउँछिन्  ‘जति खेरै चिसो खोज्छ गर्मी भयो की छटपटाउँछ’ उनले भनिन् ‘छिेमेकीले फेन दिएका छन् झापाका बारम्बार लाइन जान्छ साह्रै असहज भएको छ।’ उनको २ साता अघिबाट थेरापीसमेत गर्न थालिएको छ। दैनिक डेढ घन्टा थेरापी गर्नेले १ हजार रुपैयाँ लिने गरेका छन्।

उपचारमा समस्या

आर्थिक अवस्था कमजोर भएका भण्डारी परिवारलाई छोरालाई उपचार गर्नसमेत समस्या भएको छ। स्थायी जायजेथाको नाममा माईनगरपालिका–२ गोरखेमा फुसको छानो भएका घर र पाखो बारीबाहेक केही छैन त्यो पनि खोला र पहिरोको जोखिममा छ। केशवका बाबु खरेल बन्धु  आश्रमकै सीताराम मन्दिरमा २ वर्षअघिदेखि पुजारी काम गर्दै आएका छन्। एकपटक उपचारमा ५/१० दिनमा २० देखि ३० हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको बाबु प्रेमप्रसाद भण्डारी बताउँछन्।

‘छोराको अवस्था यस्तो भयो म्यानपावरले पनि ठगेर १ लाख १५ हजार रुपैयाँ खायो। अहिले पैसा माग्न जाँदा के गर्न सक्नुहुन्छ गर्नुस् भन्छ। ऋणपान गरेर विदेश पठाएको थिएँ न त पैसा रह्यो न त छोराको अवस्था नै राम्रो छ।’ ‘गाँउमा सय कडा ३ रुपैया ब्याज लिएर पठाएको अहिले ब्याज नै तिर्न मुस्किल भाको छ’  भावुक हुँदै भण्डारीले भने

‘डाक्टरले केही समयपछि आइसियुमा राख्नुपर्छ भनेको छ भएको घर पनि बेच्नुपर्ने अवस्था छ। अब अरु थप उपचार कसरी गर्नु चिन्ता छ उनले भनिन्। ‘अस्पतालमै मात्र १४ लाख ५० हजार रुपैयाँको बिल उठेछ त्यसबाहेक अन्य झन्डै ४ लाख रुपैया खर्च भयो। अब गाडी साहुले दिएको ५० हजार मात्र बाँकी छ। थप उपचार कसरी गर्नु ठूलो चिन्ता छ।’

केशवको उपचारको लागि भनेर कनकाई उद्योग वाणिज्य संघ कनकाई नगरपालिकाले नगद १६ हजार ५ सय, कनकाई माविले नगद २ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेका छन्। माईनगरपालिका र सानिमा माईहाइड्रोसँग सहयोग मागेका छौँ। सहयोग हुन्छ होला भण्डारीले भने।

आर्थिक अवस्था राम्रो नभएका भण्डारी परिवारले छोराको जीवन रक्षाको लागि सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन्। छोराको अवस्था सुधार हुँदै छ। थप आर्थिक सहयोग प्राप्त भए निको हुने आशा छ प्रेमप्रसादले भने, ‘दुइ छोरी मुनिको एउटा छोरा बुढेसकालमा पाल्छ कि भन्ने आशा थियो तर अहिले उसैलाई पाल्नुपर्ने अवस्था छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.