|


वीरगञ्ज : प्रदेश नं.२ को एक मात्र महानगरपालिका वीरगञ्जलगायत पर्सा जिल्लाको सम्पूर्ण स्थानीय तहमा हर्षोलासका साथ उम्मेदवार मनोनयन दर्ताको काम सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जिल्लाको १४ वटै स्थानीय तहमा उल्लासमय हिसाबले उम्मेदवार मनोनयन दर्ताको काम भएको जानकारी दिए। 

दिउँसो १ बजेसम्म उम्मेदवारहरु खासै मनोनयन दर्ता गर्न नआएपछि दर्ताको समय अपुग हुने सम्भावना बढेको छ। विभिन्न राजनीतिक दलले शक्ति प्रदर्शन गर्दै बाजागाजासहित मनोनयन दर्ता गराउन आउने भएकोले मनोनयन दर्तामा ढिलाइ भएको हो। मुख्य निर्वाचन अधिकृत सुवेदीले आवश्यता अनुसार दर्ता गर्ने डेस्क थपेरै भएपनि काम सम्पन्न गर्ने जानकारी गराए।

अहिले माओवादी केन्द्रका उम्मेदवारहरु मनोनयन दर्ताका लागि जिल्ला समन्वय समिति परिसरमा पुगेका छन्। नेकपा एमालेका उम्मेदवार बसुरुदिन अंसारी लगायतका उम्मेदवारहरु मनोनयन दर्ताका लागि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालय परिषरमा आएको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  वीरगञ्ज उपमहानगरपालिकाको प्रमुखका लागि संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजय सरावगीले मनोनयन दर्ता गराइसकेका छन्। उनले आफ्नो प्रतिनिधिको रुपमा तवरेज अहमदलाई पठाएर उम्मेदवारी दर्ता गराएका हुन्। 

त्यस्तै, स्वतन्त्र तर्फबाट महम्मद राजा, लक्ष्मण साह तेली र देवकीलाल दासले महानगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा संघिय समाजवादी फोरम नेपालकै पिंकी यादव र अमोद कुमार गिरीको उम्मेदवारी परेको छ।

प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय निर्वाचन बुधबारदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ। मधेसका ८ जिल्लाका कुल १ सय ३६ स्थानीय तहका लागि दलहरुले उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ। सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो। बाँकी जिल्लामा बैशाख ३१ र असार १४ गते दुई चरणमा यसअघि नै निर्वाचन सम्पन्न भइसकेको छ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदेश नम्बर दुईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका स्थानीय तहमा मनोनयन दर्ताको समय थियो। अघिल्ला चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले समेत निर्वाचनमा सहभागिता जनाएकाले चुनाव शान्तिपूर्ण एवं उत्साहजनक रुपमा सम्पन्न हुनेमा सरकार र निर्वाचन आयोग दुवै विश्वस्त देखिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.