|
Symbolic photo: IndiaMART

चितवन : सिंचाइ मन्त्रालयअन्तर्गत भूमिगत जल सिंचाइ विकास डिभिजन कार्यालय चितवनले खेती हुने सुख्खा क्षेत्रमा सिंचाइ सुविधाका लागि डिप ट्युबवेल निर्माण सुरु गरेको छ। चितवन र मकवानपुर जिल्लामा सेवा पुर्‍याउँदै आएको कार्यालयले यहाँका विभिन्न ८ स्थानमा डिप ट्युबवेल निर्माणको काम थालेको भूमिगत जल सिंचाइ विकास डिभिजन कार्यालय चितवनका सिनियर मेकानिक तथा सूचना अधिकारी अमलेस यादवले जानकारी दिए।

चितवनमा ६ स्थान र मकवानपुरमा २ गरी ८ स्थानमा डिप ट्युबवेल निर्माण थालिएको हो। चितवनको कालिका नगरपालिका– ८ सिमलबस्ती, भरतपुर महानगर वडा नम्बर ६ को शान्तिपुर र वडा नम्बर १४ को शिवनगर तथा पश्चिम चितवनको देवनगर, राप्ती नगरपालिका ५ रामपुर टाँडी तथा खैरहनी नगरपालिका– ४ भुत्याहामा डिप ट्युबवेल निर्माण थालिएको हो।

यस्तै मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ र १८ मा पनि निर्माण थालिएको जनाइएको छ। तीन चरणमा निर्माण सक्ने गरी सुरु भएको निर्माणको पहिलो चरणको कार्यक्रम सम्पन्न भइसकेको छ। यो वर्ष  दोस्रो चरणको काम सञ्चालन हुने कार्यालयले जनाएको छ । उक्त ट्युबवेल पहिलो चरणमा पाइप गाडेर पानी निकालिने छ। दोस्रो चरणमा पम्प जडान गर्ने र घर बनाई विद्युतिकरण गर्ने तथा तेस्रो चरणमा पाइपलाइन बिच्छ्याई निर्माण सम्पन्न गरेर उपभोक्तालाई हस्तान्तरण गरिने कार्यालयका असिस्टेन्ट हाइड्रोजियोलोजिष्ट पुष्प भट्टराईले जानकारी दिए।

उक्त योजना सम्पन्न गर्दा प्रतिडिप ट्युबवेलको ८० लाख लागत लाग्ने सूचना अधिकारी यादव बताउँछन्। पहिलो चरणको काम सकिँदा सबै गरेर १ करोड ६० लाख रुपैयाँ खर्च भएको जनाइएको छ। ११० मिटर तल जमिनमुनिबाट पानी निकालिएको छ। चितवनमा ६ वटा डिप ट्युबवेलले १८५ हेक्टर क्षेत्रफल सिंचित हुने र मकवानपुरको २ वटा ट्युबवेलबाट ४० हेक्टर क्षेत्र सिंचाइ गर्न सकिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.