|

  • लक्ष्मी गारु\रामप्रसाद धिताल

भक्तपुर : अघिल्लो दिनदेखि निराहार व्रत बसेका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठ स्थानीय बालकुमारी देवीको दर्शन गरी झण्डै पाँच सय मिटरको दूरीमा रहेको भैरव मन्दिरतर्फ लम्किए। झमक्कै साँझ परिसकेको समयमा उनका साथमा थिए, सयौं भक्तजन र बाजागाजाको टोली। 

शिरमा टोपी, शरीरमा एक प्रकारको जामा र गोडामा घुँगरु बाँधेका उनी ठिमीको द्विगुटोलमा रहेको भैरव मन्दिरको सामुन्ने रहेको डबलीमा बनाइएको अग्लो मञ्चमा उक्लिए। त्यहाँ थिए कर्मी नाइके बाबुकाजी श्रेष्ठ। जात्रामा सहभागी प्रधानहरू मन्दिरको पेटीमा बसेका थिए। केहीबेर पूजाको प्रक्रिया चल्यो। 

स्थानीय भाषामा 'याँ मता' भनिने त्रिशुल आकारको बाँसकाे  चिराग निकालियो। वीरेन्द्र, बाबुकाजी र प्रधानहरूबीच ढोगभेट चल्यो। मौन संवाद चल्यो। कर्मी नाइकेले सांकेतिक रूपमा सोधे, 'ठीक छ?' वीरेन्द्रले मुण्टो हल्लाए।

त्यसपछि वीरेन्द्रले जिब्रो निकाले। कर्मी नाइके बाबुकाजीले करिब साढे सात बजेको साइतमा करिव १२ इञ्च लामो सुइरो (स्थानीय भाषामा नातु)ले छेडिदिए। जात्रा हेर्न बसेका श्रद्धालुहरूको स्वर गुञ्जियो, 'भैरवनाथकी जय!'

जिब्रो छेड्ने काम सकिएपछि वीरेन्द्र मञ्चबाट ओर्लिए। काँधमा महादीप(स्थानीय भाषामा भ्वय:) बोकेर नगरपरिक्रमा गर्न थाले। बाँस र निगालोले बनेको चन्द्राकार आकारको महादीपमा १७ वटा बत्ती बाल्ने परम्परा छ।

नगरमा भएका प्रत्येक देवीदेवताका मन्दिर तथा पीठ दर्शन गरे। बेलाबेलामा यात्रा रोकेर जिब्रोमा तेल हालिरहेका हुन्थे। भैरवनाथबाट सुरु भएको उनको यात्रा बालकुमारी, सिद्धिकाली दुईपोखरी, लाय्कु, बालकुमारी, चपाचो, नासननी, नगदेश, बोडे, पाचो, भुँलाखेल, चोडे, इनायटोलसम्म चल्यो। 

अघिअघि चिराग लिएका श्रद्धालुले बाटोको अवरोध पन्छाइरहेका थिए। उनी पुग्ने टोलटोलमा बाजागाजासहित स्वागत गर्न टोली बसिरहेको थियो। पूर्णिमाको रात पूरै ठिमी नगर उत्सव मनाइरहेको थियो।

जिब्रोमा सुइरो, काँधमा विशाल महादीप। श्रद्धालुको घुइँचो छिचोल्न बेला बेलालाई उनलाई हम्मे हम्मे परेको देखिन्थ्यो। रातको ११ बजे बालकुमारी मन्दिरमा पुगी वीरेन्द्रको जिब्रोबाट सुइरो निकालियो। त्यहाँ रहेको नित्यनाथको थाममा सुइरो ठोकेपछि जात्रा सकियो। 

ठिमीमा ११ वर्षपछि जिब्रो छेड्ने जात्रा भएको हो। स्थानीय भाषामा यसलाई येंया पुन्हिया मेय् प्वाः खनेगु भनिन्छ। ‘बोडेमा जस्तै प्रत्येक वर्ष जात्रा गर्नुपर्ने हो’, स्थानीय कृष्णमोहन जोशीले भने, ‘जात्रा खर्चिलो छ। रकम अभावका कारण प्रत्येक वर्ष निकाल्न कठिन भएको हो।

हरेक वर्ष वैशाख २ गते जिब्रो छेड्ने जात्रा गरिन्छ। के फरक छ त बोडे र ठिमीको जात्रामा? ‘बोडेको जात्रा सौरपात्रो अनुसार ठ्याक्कै वैशाख २ गते नै मनाइन्छ’, जोशी भन्छन्, ‘यहाँचाहिँ इन्द्रजात्राको भोलिपल्ट अर्थात् भाद्र शुक्ल पूर्णिमाको दिन। प्रक्रिया झण्डैझण्डै उस्तै नै हो।'

जिब्रो छेड्ने व्यक्ति ठिमीकै श्रेष्ठ थरको हुनुपर्छ भन्ने मान्यता छ। अघिल्लो दिनदेखि निराहार र निष्ठाका व्रत बस्नुपर्छ। अघिल्लो दिनदेखि नै विभिन्न मन्दिरमा दर्शन गर्ने विधि छ।

‘जिब्रो छेडाएर नगर परिक्रमा गर्ने व्यक्तिमा देवताको भाव उत्पन्न हुन्छ’, बालकुमारीका हरिभक्त श्रेष्ठले भने, ‘महादीप लिएर यात्रा गर्नुको अर्थ उज्यालो छर्नु हो। बत्तीका माध्यमबाट नगरमा दुष्ट तत्त्वको प्रवेश हुँदैन भन्ने मान्यता छ।’

लोककथन अनुसार परापूर्वकालमा भूतप्रेत, ख्याक र राक्षसहरूले दुःख दिन थालेपछि यहाँका बासिन्दाले बालकुमारी देवीको आराधना गरे। यो क्रममा तान्त्रिक गुरुको सल्लाहमा भाद्र शुल्क पूर्णिमामा एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराइयो। त्यो देखेर भूतप्रेत र राक्षसहरू ठिमीमा यस्ता साहसिक व्यक्तिहरू रहेछन् भन्दै भागे।

त्यहाँदेखि यो जात्रा सुरु भएको स्थानीयको भनाइ छ। रकम अभावमै ४० वर्षअघिदेखि यो जात्राले निरन्तरता पाउन नसकेको हो। यो पटक ११ वर्षपछि जात्रा निकालिएको हो। यो वर्ष नगरपालिकाले समेत आर्थिक सहयोग गरेपछि जात्रा सम्भव भएको हरिभक्तले बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.