|

जाजरकोट : बस दुर्घटनाका घाइतेहरुको उपचारमा ध्यान नदिइएको भन्दै जाजरकोटमा अनिश्चितकालीन यातायात बन्द आह्वान गरिएको छ। गत फागुन २६ गते सदरमुकाम खलंगाबाट पश्चिमको छेडेगाड नगरपालिका- १ खाराका लागि छुटेको ना३ख २२७९ नम्बरको बस छिन्छु–जाजरकोट सडकअन्तर्गत भेरी नगरपालिका– ४ बोहरामा दुर्घटना भएको थियो सो दुर्घटनाका घाइतेको उपचारमा उचित ध्यान नदिएको भन्दै घाइतेका आफन्तले बन्द आह्वान गरेका हुन्।

दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए। ती मध्ये ३१ जना उपचारपश्चात फर्किसकेका छन्। बाँकी ४ जनाको उपचार भइरहेको छ। भेरी– ११ का सन्तोष मल्ल र भेरी– १२ का प्रताप गिरिको टिचिङ हस्पिटल काठमाडौं तथा भेरी– १३ का सुजन गिरीको विएण्डबी अस्पतालमा उपचार भइरहेको छ। उपचारमा बिलम्ब गरेको तथा राहत नपाएकाले बन्द आह्वान गरिएको आफन्त मोति गिरीले बताए। आन्दोलित आफन्तहरुले बिहानैदेखि सडकमा बसेर यातायात सञ्चालनमा रोक लगाइरहेको गिरीले बताए।

यता जिल्ला प्रशासन कार्यालय जाजरकोटले भने सरोकारवालाहरुलाई बोलाएर समाधान खोज्ने पहल भइरहेको बताएको छ। घाइतेको शीघ्र उपचार र पीडितलाई तत्काल राहत उपलब्धताका बारेमा सरोकारवालाहरुसँग छलफल गरेर समाधान खोज्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.