|

दाङ : बबई गाउँपालिकाले नीति तथा कार्यक्रममा नगर क्षेत्रको गाउँ, टोल, सडक र खेल मैदानको नाम परिवर्तन गरी एमालेका नेताहरूको नामबाट नामाकरण गरेपछि अन्य पाँचवटा दलले विरोध जनाएका छन्।

यही विषयलाई लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीले बबई गाउँपालिकामा बन्द गर्दा जनजीवन प्रभावित भएको छ।

बबई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै एमालेका उम्मेदवार विजयी भएपछि त्यहाँका रंगशाला, गाउँ, टोल र सडकहरूको नाम मदन भण्डारी, नेत्रलाल अभागी लगायतका एमाले नेताको नामबाट नामाकरण गरेपछि आन्दोलनमा उत्रिएको आन्दोलनका संयोजक कांग्रेस नेता बलबहादुर बुढाले बताए। एमालेबाट निर्वाचित पदाधाकारीले अरू राजनीतिक दल र स्थानीयवासीसँग सल्लाह नै नगरी एउटै गाउँपालिकामा ५ स्थानका नामहरू मदन भण्डारीबाट राखेपछि विरोध गरेको उनको भनाइ छ।

असार १४ मा भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनबाट बबई गाउँपालिकाको प्रमुखमा एमालेका भूवनेश्वर पौडेल र उपप्रमुखमा एमालेकै सावित्रा विक निर्वाचित भएका थिए।स्थानीय इतिहास मेट्न नहुने र कुनै अमुक दलका नेताका नाममा धमाधम नामाकरण गर्ने निर्णय नसच्याउँदासम्म आन्दोलन नरोकिने बुढाको भनाइ छ।

स्थानीय स्तरमा एमालेले सार्वजनिक स्थलहरूको नाम धमाधम पार्टी र पार्टीका नेता कार्यकर्ताको नामबाट  नामांकरण गरेपछि त्यो रोक्न माग गर्दै भदौ १०  गते पाँच दल बबई गाउँपालिकामा डेलिगेसन गएका थिए। कांग्रेसको नेतृत्वमा  ५ दलले १६ गते हंसपुरस्थित गाउँपालिकाको कार्यालयमा धर्ना दिएका थिए।

बुधबार साँझ पाँच दलले स्थानीय ठाउँको नयाँ नामाकरण विरुद्ध बबई गाउँपालिकामा मसाल जुलुस प्रदर्शन गरेका थिए। ५ दलले सार्वजनिक स्थलहरूको नामाकरण पार्टी र नेताको नामबाट गर्न नहुने आफूहरूको मागको कुनै सुनुवाई नभएको भन्दै विरोध स्वरुप बिहीबार बबई गाउँपालिका बन्द गरेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.