|

वीपीको नाम विश्वव्यापी प्रजातान्त्रिक सिद्धान्तप्रतिको अविचल आस्थाको रूपमा नेपाली जनमानसमा अमीट रूपमा चित्रित छ राजनीतिक र सामाजिक फाँटमा। एउटै विशिष्ट उद्देश्य थियो वीपीको जीवनको जहिले पनि– स्वाभिमानी नेपालीको समृद्धि यात्रा। राजनीति, साहित्य र सामाजिक परिदृश्य सबैलाई एकैसाथ अन्तर्घुलन गर्ने सामथ्र्य थियो वीपीमा र क्रान्तिचेत एउटै आधार थियो, सचेतीकरणको। 

सम्झनाको तरेलीमा राखेर देवत्वकरण गर्नुभन्दा र सिद्धान्तलाई क्षयीकरण गर्दै अनर्थ लगाएर उहाँको नामको दुरूपयोग गर्न नहुने सन्देश प्रवाहित गर्न अब ढिलो भयो। वीपीको स्मरण र उहाँको प्रजातन्त्रको गुणानुवाद गर्न उहाँको जन्म दिन या निर्वाण दिवस पर्खनुपर्दैन। सच्चा मनले प्रजातन्त्रको अभ्यास गर्न र ठीकलाई ठीक, बेठीकलाई बेठीक भन्ने बर्बरिक साहस साँचेर जीवनमा प्रयोग गर्नु नै वीपीप्रतिको श्रद्धाञ्जलि हुनेछ। 

आजको नेपाली प्रजातन्त्रका पक्षधर र विरोधी, संसदीय व्यवस्थाको पक्ष र विरुद्धका सैद्धान्तिक धारको राजनीति नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला (वीपी) लाई केन्द्र मान्दै घुमिरहेको छ, जसरी सूर्यलाई केन्द्रीय गुरुत्वाकर्षणको आधार मान्दै आकाशमा विचरण गर्ने ग्रहहरू छन्। उहाँको क्रान्तिचेतले नेपाली  समाज रूपान्तरणको नयाँ युगमा प्रवेश गरेको देखिन्छ।

प्रजातन्त्रको स्थापना र प्रवद्र्धनको जगमा धेरै व्यक्तिहरू लाग्नुभयो होला, देखिनुभयो होला, नितान्त सामाजिक र व्यक्तिगत स्वतन्त्रताका लागि सहादत पनि धेरैले दिए होलान् तर समाजलाई अग्रणि भूमिकामा आफैँले नेतृत्व दिएर र आफ्नो सिद्धान्तको मर्मको प्रयोग गर्न रोलमोडल आफैँ बन्दै अगाडि बढेकाले अझ कति हजार वर्षसम्म नेपाली इतिहासलाई उहाँले प्रभावित गरिरहनु हुनेछ भन्ने कुरा बुझ्न त्यति कठिन छैन।

कति राजनीतिज्ञहरू सिद्धान्त दिन्छन् तर प्रयोग गर्न सक्दैनन् वा प्रयोग गर्ने पात्र पाउँदैनन्। कार्ल माक्र्स र मोहनदास करमचन्द गान्धी (जसलाई प्रजातान्त्रिक भारतको राष्ट्रपिता मानिएको छ) त्यही कोटीका महामनाहरू हुन्। तर वीपीले आफ्नै अग्रसरतामा प्रजातन्त्र स्थापनाका लागि पार्टी खोली, त्यसलाई संगठित गरी, त्यसैबाट नेपाली जनताको मन जिती, राणा शासनविरुद्ध जनक्रान्ति गरी सभ्य संसारमा कलंक जस्तै लाग्ने जहानियाँ स्वरूपमा राज्यको कार्यकारी प्रमुख (तात्कालीन अवस्थामा श्री ३ महाराज, प्राइममिनिस्टर) हटाएर विश्वव्यापी मान्यताको प्रजातन्त्र स्थापना गर्नुभयो र नेपाली जनताको नागरिक हुने अभीष्ट पूरा गर्नुभयो। फेरि त्यही प्रजातन्त्रलाई प्रजातन्त्रका नाममा खेलौना जस्तै बनाई राजाले बन्धक बनाउँदा निर्वाचनद्वारा प्रजातान्त्रिक व्यवस्थाको सूत्रपात गराउनुभयो।

वीपीलाई एक्लो पारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाउपेच लगाएर राजाले प्रजातन्त्रको हत्या गर्दा र सैनिक बलद्वारा व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकहरूमा बन्देज लगाउँदा त्यसको प्रतिकार गर्दै सशस्त्र क्रान्ति गर्ने क्रान्तिचेता वीपीको जीवनकालमा प्रजातन्त्र त स्थापना भएन तर नेपाली प्रजातन्त्रको आधारव्यक्तिको रूपमा उहाँलाई लिइएको ध्रुवसत्य हो। त्यसैले आज पनि प्रजातन्त्र भनेको वीपी र वीपी भनेको नेपाली कांग्रेस पर्यायवाची शब्द बनेका छन्, नेपाली राजनीतिक इतिहासमा। 

हुनत नेपालको कम्युनिस्ट आन्दोलन वीपीको प्रजातान्त्रिक समाजवादको राजनीतिमा खुलापन, समानता र समताका लागि भन्दा पनि प्रजातन्त्रका सुन्दरतम पक्षका विरुद्ध र वीपीका विरुद्ध अभियान चलाउने हिसाबले सुरु भएको पाइन्छ, जुन अझै पनि कायम छ। नेपालमा कम्युनिस्ट सिद्धान्तको प्रचार गर्नुभन्दा पहिले नयाँ मनमस्तिष्कलाई नेपाली कांग्रेस र वीपीका विरुद्धमा दीक्षित गरेको पाइन्थ्यो र अझै त्यो कायम छ। वीपीका बारेमा वीपी आफैँ भन्नुहुन्थ्यो, ‘म लेफ्ट ह्याण्डेड क्रिटिकको मारमा परेको छु।’ उहाँ केन्द्रभन्दा देब्रेतिर तर उग्र देब्रेभन्दा धेरै वर रहन रुचाउनुहुन्थ्यो। उग्र दक्षिणपन्थी र उग्र वामपन्थीहरूको एउटै गन्तव्य हो, प्रजातन्त्रको विरोधमा एकता भन्ने धारणा उहाँमा अटल रूपमा देखिन्थ्यो, जुन अहिले पनि साकार रूपमा प्रष्ट छ। 

यो पंक्तिकारमा पनि वीपीप्रति देवत्वकरणको धारणा थियो युवाकालमा। तर जब वीपीको सान्निध्यमा केही सुन्ने, कुरा गर्ने र उहाँका धाराणहरूलाई मनन् गर्ने मौका पाइयो, त्यसपछि थाहा भयो– एउटा सहज र सरल राजनीतिज्ञ हुनुहुन्थ्यो वीपी। समाजलाई रूपान्तरण गर्न, बाटो देखाउन आफू जस्तोसुकै त्याग गर्न पनि पछि नपर्ने प्रयोगवादी र व्यवहारवादी हुुनुहुन्थ्यो। उहाँ देवता होइन, एउटा कर्मयोगी असल मानव हुनुहुन्थ्यो। राजनीतिक ढोंङ उहाँमा देखिएन। बाहिर धर्म अफिम हो भन्ने अनि धर्म नमान्ने भन्ने तर घरमा पूजा, श्राद्ध गर्दै हिँड्नु हुन्थेन। उहाँले बाँच्ने जीवन र साधारण जनताले बाँच्ने जीवनलाई सधैँ एकाकार गर्न चाहनुभयो।

सायद त्यसको प्रतिविम्ब हो, योजना आयोगको कोठामा हलो जोत्ने किसानको फोटो राख्नका लागि उत्प्रेरित हुुनुभयो र १५ वर्षमा एउटा नेपालीको अवस्थाको कल्पना गर्नुभयो। एउटा गाई होस् आँगनमा, खान पुगोस्, ओखती गर्न कसैको भरपर्नु नपरोस् अर्थात् राज्यले सबै व्यवस्था गरोस् तर व्यक्तिगत स्वतन्त्रता नखोसी भन्ने उहाँको धारणा थियो। 

सामन्ती प्रथाको अन्त्यका लागि राजा रजौटा उन्मूलन, वनको अधिग्रहण, भूमिसुधारका लागि कानुनको व्यवस्था। धेरैलाई थाहा छैन, २०१७ साल पुस १ गते बिहान नै भूमिसुधारसम्बन्धी कानुनमा लालमोहर लागेको थियो तर त्यही दिन दिउँसो त्यो कानुन खारेज गरियो। 

२०३४ साल कात्तिक ८ गते अपराह्न ४ बजेतिर यो पंक्तिकारको वीपीसँग साक्षात्कार भएको थियो। एक्लै उहाँसँग झण्डै २ घण्टाजति कुराकानी भएको थियो। वीपीसँग कुरा गर्ने भनेको उहाँले सोधेका कुराहरूको जवाफ दिनु थियो, जुन उहाँले मिहिन तरिकाले सोध्नुहुन्थ्यो। उहाँले मेरो पिताजीलाई चिन्नुहुन्थ्यो र मेरा गाउँठाउँका पुराना मानिसहरूका बारेमा एकएक गरेर सोध्नुभएको थियो। अर्थात् उहाँ मलाई सहजीकरण गरिरहनुभएको थियो, आफूमा समाहित गराउन। 

वीपीलाई राजनीतिक र साहित्यिक फाँटको बारेमा मात्र विभाजित गरिन्छ तर उहाँको सामाजिक रूपान्तरणको पक्षमा खासै अनुसन्धान गरिएको छैन। २०१५ सालको आम निर्वाचनमा हालको गुल्मीको रिडी धाममा जानुभएछ निर्वाचन प्रचारका लागि पार्टी अध्यक्षका नाताले पनि। त्यहाँबाट सुवर्णशमशेर राणाजी पनि उठ्नुभएको थियो। उहाँ सायदै त्यो निर्वाचन क्षेत्रमा पुग्नुभयो। तर अत्यधिक मतले जित्नुभयो। काशीनाथ गौतमजीले भन्नुभएछ वीपीलाई, ‘तपाईंलाई धर्म नमान्नेको रूपमा चित्रित गरिन्छ। आजको दिन माघे संक्रान्तिको छ। कृपया जनै लगाएर नुहाउनुभयो भने हामीलाई तपाईं धार्मिक ब्राह्मण भएको भन्न मिल्छ।’ 

उहाँको राजनीति र साहित्यमा दुई उद्देश्य थिए भनेर लेखिन्छ। होइन, उहाँको एउटै उद्देश्य थियो, समाजको रूपान्तरण। चेतनासहितको नागरिक तयारी। नागरिकको कर्तव्यलाई राजनीति, साहित्य र सामाजिक जुन माध्यमबाट भए पनि समाजमा पुर्‍याएर सकारात्मक हस्तक्षेप गर्ने तर कसैलाई बाधा नपुर्‍याई, कसैलाई कुनै दवाब नदिई। उहाँ समाजवादी जीवनको हरेक क्षेत्रमा हुनुहुन्थ्यो, मात्र सिद्धान्त भजाउनका लागि होइन। उहाँ प्रजातन्त्रवादी हुनुहुन्थ्यो जीवनको सबै क्षणमा।

वीपीलाई सायद नौ डोरा जनै दिइयो लगाउन। पहिले त लगाउनुभएछ तर कालीगण्डकीेका तिरमा एउटा ठूलो ढुंगामा उभिएर भन्नुभएछ, ‘म ढोँगी हुन सक्दिनँ। मलाई धार्मिक भएको प्रमाणपत्र दिनु छैन। नेपाली कांग्रेसलाई सिद्धान्तको आधारमा मत दिनु होला।’ सबै अक्क न बक्क भएछन्। तर सुवर्णजीले र काशीनाथजी दुवैले अत्यधिक मतले जित्नुभएछ। 

वीपीको समाज रूपान्तरणको वेग राजनीतिक र साहित्यिक वेगभन्दा चर्को थियो, आफैँबाट सुधारको सुरुवात गर्ने। कान्छा छोरा शशांकको थाई युवतीसँग विवाह भएको थियो र त्यो पनि कात्तिक १५ गतेको साइतमा। कान्छा छोरा एकदम पिताजीका भक्त थिए तर वीपीले सायद कुनै अवरोध गर्नुभएन विवाहलाई। कान्छी बहिनी विजयालक्ष्मीको विवाह पाकिस्तानका एक इस्लाम कूटनीतिज्ञसँग भएको थियो। त्यो परिवारमा कुनै सामाजिक बन्धन देखिएको छैन। त्यो वास्तवमा कोइराला परिवारको सामाजिक रूपान्तरणको एउटा उदाहरण थियो। 

उहाँको राजनीति र साहित्यमा दुई उद्देश्य थिए भनेर लेखिन्छ। होइन, उहाँको एउटै उद्देश्य थियो, समाजको रूपान्तरण। चेतनासहितको नागरिक तयारी। नागरिकको कर्तव्यलाई राजनीति, साहित्य र सामाजिक जुन माध्यमबाट भए पनि समाजमा पुर्‍याएर सकारात्मक हस्तक्षेप गर्ने तर कसैलाई बाधा नपुर्‍याई, कसैलाई कुनै दवाब नदिई। उहाँ समाजवादी जीवनको हरेक क्षेत्रमा हुनुहुन्थ्यो, मात्र सिद्धान्त भजाउनका लागि होइन। उहाँ प्रजातन्त्रवादी हुनुहुन्थ्यो जीवनको सबै क्षणमा।

उहाँ अधिकारवादी हुनुहुन्थ्यो सबै वर्गको पक्षमा। अझ निमुखा र कमजोर आयवालाको पक्षमा। समाजवादको प्रयोग जीवन्त समाजको विकासका लागि गर्दा नै उहाँलाई महाभारतको अभिमन्युलाई झैँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निहत्था व्यक्तिमाथि धेरै शक्तिका मतियारहरूले अराजनीतिक हतियारले आक्रमण गरे र नेपाली प्रजातन्त्रलाई बाटोविहीन बनाएका थिए। 

नेपाल राजनीतिक, आर्थिक तथा सामाजिक रूपमा यति धराप मोडमा आफ्नो इतिहासमा कहिल्यै पनि थिएन होला। मुलुकले अहिले त्यस्तै सक्षम राजनेताको कमी महसुस गरिरहेको छ। सायद हामी निमको रूखबाट आँपको आशा गरिरहेका छौँ। 

अहिलेका निरन्तर घटेका घटनाक्रमले सम्पूर्ण नेपाल राष्ट्रिय मेलमिलापको प्रतीक्षामा छ। वीपीले देखाउनुभएको बाटोमा नेपाल हिँड्न छाडेकोले पनि नेपालले लामो बाटो हिँड्नुपर्ने भएको छ। नेपाल इतिहासको त्यो संकटपूर्ण अवस्थाबाट गुज्रँदै छ, जहाँ अब कुनै पनि उपचारले कसरी राष्ट्रिय अविश्वासको रोगबाट मुक्ति पाउन सक्छ भन्ने निदान देखिन थालेको छैन।

जब वीपी हुनुहुन्थ्यो, त्यसबेलामा वीपीको राष्ट्रिय मेलमिलापलाई उहाँको सशस्त्र संघर्षको समापन सम्झने गल्ती गर्नेहरू नै पछि जनयुद्धको हिंसात्मक बाटोतिर लागे अनि नयाँ राजनीतिक स्थिति विकासतर्फको अनिश्चित गन्तव्यतिर मोडिए। यसले मुलुकलाई अहिले पनि अनिश्चित भविष्यतर्फ डोर्‍याइरहेको छ। यदि स्थितिको आत्मालोचना गर्न ढिलो भएमा मुलुक अस्थिरता र अनिश्चयको गर्भतर्फ भासिने निश्चित देखिन्छ। अहिलेको संकेत त्यति आशालाग्दो छैन र मुलुकलाई एउटा राजनेताको कमी बारम्बार खट्किरहेको छ, जसले मुलुकलाई एउटा रहरलाग्दो भविष्यतर्फ डोर्‍याओस्।

वीपीको मेलमिलापको नीति कसैको विरुद्धमा थिएन। अरू त अरू, उहाँलाई फाँसीको सजाय दिनका लागि नौटंकी गर्ने राजाका विरुद्धमा पनि थिएन। राजाले, राजतन्त्रले त्यो समयको पदचाप सुन्न नसक्दा मुलुकमा राजतन्त्र मूला उखेलिएजस्तै गरी उखेलियो र अहिले ‘कठैबरा’ भन्नेहरू खासै कोही रहेनन्।

हुनत वीपीलाई सम्झनका लागि श्रावण ६ वा भदौ २४ नै पर्खनुपर्ने होइन। तर पनि भदौ २४ लाई  वीपीजयन्तीका रूपमा मनाइन्छ। वीपीको पछिल्लो विशेषता राष्ट्रियता सम्वद्र्धनका लागि राष्ट्रिय मेलमिलापको प्रणेताको परिचय पनि हो। हुनत यो दिनलाई नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको धरावतरण दिवसको रूपमा लिइए पनि नेपालको धरतीमा त्यस दिन लोकतन्त्रका एक सच्चा पहरेदार, एक असल नेपालीको जन्म भएको थियो। त्यो नेपाली एक सच्चा राष्ट्रवादी, सच्चा समाजवादी, सच्चा प्रजातन्त्रवादी र सच्चा मानवतावादी थियो।

पछिल्लो अवस्थामा उहाँको एक मात्र चाहना नेपाली–नेपालीका बीचमा मेलमिलाप, नेपाली र नेपालका छिमेकीका बीचमा मेलमिलाप थियो। नेपालको खस्कँदो राष्ट्रिय अस्तित्वलाई आधार बनाएर नेपालको अस्तित्व जोगाउन त्यस्तो निर्णय गरिएको थियो। त्यो निर्णय यति अचानक र संवेदनशील अवस्थामा भएको थियो कि यसलाई स्वीकार गर्न नेपाली कांग्रेसका थुप्रै अहिंसावादी नेताहरूलाई पनि लामो समय लागेको थियो। यसका प्रणेता नेपाली कांग्रेसका अध्यक्ष वीपी स्वयं नै हुनुहुन्थ्यो। त्यो नीतिको सोलोडोलो परिणाम आउन्जेलसम्म वीपी रहनु त भएन तर उहाँको जुन भविष्यवाणीका आधारमा मेलमिलापको आधारभूमि खडा भएको मानिएको थियो, त्यसको मर्मलाई कुल्चिँदा नेपालको राजनीतिमा आमूल परिवर्तन अवश्यंभावी भएको तथ्य आज अथ्र्याउन सकिन्छ। 

नेपालको राष्ट्रिय स्वाधीनताको लडाईं र त्यसको जनपक्षको कुरा गर्दा पछिल्लो अडानको रूपमा वीपी कोइराला, गणेशमानजीको विक्रम सम्वत् २०३३ साल पुस १६ गतेको नेपाल प्रवेशलाई लिनुपर्दछ। त्यो स्वाधीनताको शान्तिपूर्ण युद्ध कसैको विरुद्धमा थिएन, तर नेपालको राष्ट्रियताको पक्षमा थियो। नेपालीहरूलाई सचेत गराउने विषयमा थियो र नेपाललाई कसरी एउटा निरंकुश शासनबाट प्रजातान्त्रिक प्रणालीमा रूपान्तरित गर्ने भन्ने व्यापक विषयमा केन्द्रित थियो। वीपीले राष्ट्रिय मेलमिलाप भनेको न संघर्ष, न समर्पणको रूपमा लिन बारम्बार राजा र अन्य दलहरूलाई सम्झाउनुहुन्थ्यो। 

त्यस्तो प्रजातन्त्रमा उदार मानवअधिकारको रक्षाको छाताभित्र सबै अटाउँथे, राजा पनि, वामपन्थीहरू पनि र राजावादीहरू पनि। तर विदेशीका इसारामा हिँड्नेहरू र नेपाललाई अस्थिरताको चक्रव्यूहमा फसाउनेहरू भने त्यसमा अटाउने कुनै गुन्जायस थिएन। अटाएनन् पनि। तर समयको पदचाप नसुन्दा र राष्ट्रिय मेलमिलापलाई वीपीको असफलताको हीन ग्रन्थीको उपज सम्झेर आफूलाई विष्णुको अवतार सम्झने अनि जहिले पनि सैनिक बलका आधारमा आफूलाई बलियो सम्झने राजतन्त्रका प्रतिनिधिलाई अहिले लाग्दो हो, त्यसबेलामा त्यो सुकेको आवाजले बोल्ने किरामी मानिसको सशक्त तर्क सुन्न सकेको भए र त्यो तर्कलाई व्याख्या गर्न सकेको भए आज नेपालको मुहार अर्कै हुने थियो। विकासको नयाँ नमुनाको रूपमा यो देश विश्वमञ्चमा दर्ता हुने थियो। जस्तो कि अहिले बेलायत, डेनमार्क, स्विडेन, नर्वे र जापान प्रस्तुत छन्। 

एउटा कतैबाट हुने झिनो विरोधलाई पनि नसहने, आफूलाई वामपन्थी हौँ भन्नेहरूको र लोकतन्त्रका विरोधी हौँ भन्नेहरूको चलखेल बढेका बेलामा वीपीको त्यो प्रयास र प्रयोगलाई नितान्त स्वैरकल्पनाको रूपमा चित्रित गरिएको थियो।  मुलुकमा शान्ति छ भन्ने शैलीको मुर्दा शान्तिले बास गरिरहेका बेलामा र राजाले गाउँ फर्क अभियानको नाममा पञ्चायतलाई स्टालिन शैलीमा एक दलीय स्वरूप दिइरहेको बेलामा वीपीले राष्ट्रिय मेलमिलापको नीति लिई नेपाल प्रवेश गर्ने राजनीतिक जोखिम उठाउनुभएको थियो।

यसरी राजनेताहरूले आफ्नो स्वनिर्वासन त्यागी स्वेच्छाले स्वदेश प्रवेश गर्दा पनि कहिलेकाहीँ त्यो निर्णय राजनीतिक रूपमा जनआन्दोलनमा रूपान्तरित हुँदोरहेछ र त्यसले शान्त समुद्रमा ज्वारभाटा आएपछि देखिने परिणामझैँ आधारभूत रूपमा राजनीतिको धार नै परिवर्तन गर्दोरहेछ भन्ने कुराको आधार त्यस दिनलाई लिन सकिन्छ, जुन दिनलाई वीपी, गणेशमानजीले राष्ट्रभित्र नै मेलमिलाप गर्नका लागि राजनीतिको नयाँ रूप प्रस्तुत गर्नुभएको थियो। आज त्यसको परिणाम जस्तो भए पनि यसरी देखिँदै छ कि संविधानसभाबाट संविधान बन्यो र अहिले संविधान कार्यान्वयनको चरण तीब्र गतिमा अघि बढेको छ। 

तत्कालीन अवस्थामा निर्विकल्प भनी व्याख्या गरिएको र राष्ट्रियताको पक्षमा भनी तत्कालीन अवस्थाका चिनिएका स्वनामधन्य वामपन्थीहरूबाट समेत स्वीकृत निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा सदैव असहमति जनाउँदै आउनुभएका र त्यसका विपक्षमा सशस्त्र आन्दोलनसमेत गर्नुभएका नेपाली कांग्रेसका वीपी कोइराला, गणेशमान सिंहसहितका नेताहरूले आफ्नै देशमा शान्तिपूर्ण तरिकाले अहिंसात्मक आन्दोलन गर्न भनी लिएको नीतिलाई नै नेपालको राजनीतिमा राष्ट्रिय मेलमिलापको रूपमा मानिएको छ। त्यो नीति त्यो बेलामा अमूर्त  देखिएको थियो तर अहिले पाइलैपिच्छे सम्झौता गर्नुपर्ने राजनीतिक वातावरणमा मेलमिलापको नीति नै लोकतन्त्रको आधार रहेछ भनेर बुझ्दा पनि फरक नपर्ने भएछ। 

वीपी, गणेशमानजीसहितका थुप्रै नेताहरूलाई फाँसीसमेतको माग गरी नेपालका अदालतहरूमा मुद्दा चलाइएको अवस्थामा एकाएक स्वेच्छाले नेपाल प्रवेश गर्ने नीति तयार गरी सम्पूर्ण कांग्रेसहरू बाघको खोरमा मृग पसेजस्तै गरी राजाको प्रत्यक्ष शासनमा राष्ट्रियताका लागि राजासँग पनि मेलमिलाप, लोकतन्त्रका लागि सम्झौताविहीन संघर्ष भनी ग्वारग्वार्ती पस्दा नेपालको राजनीतिमा एउटा सशक्त तरंग उत्पन्न भएको थियो र पञ्चायतलाई नै आफ्नो कब्जामा लिएर राजाभन्दा पनि ठूला राजावादी भएका घुसपैठवादीहरूका लागि त्यो तिलस्मी नीतिको रूपमा अर्थ्याइएको थियो। प्रजातन्त्रका लागि संघर्ष, राष्ट्रियताका लागि सहकार्य। समर्पण कोहीसँग होइन, तर नेपालको हितका लागि जोसँग पनि सहकार्य गर्ने नीति थियो। प्रजातन्त्रका लागि कोहीसँग पनि सम्झौता नगरी प्रजातन्त्र पुनर्वहाली गराएरै छोड्ने नीति थियो वीपीको।

वीपीको यो शान्तिपूर्ण आन्दोलनले नेपालको राजनीतिमा गुणात्मक परिवर्तन ल्यायोे। त्यसको पछिल्लो क्रमागत उपलब्धि भनेको संविधानसभा हो र आगामी उपलब्धि भनेको नयाँ संविधानअनुसारको नयाँ नेपाल नै हुनेछ, जहाँ लोकतन्त्र, गणतन्त्र, संघीय स्वरूप र समावेशी चरित्रको शासकीय स्वरूप हुनेछ। त्यसले राज्यको अन्ततः शासकीय उपाय लोकतान्त्रिक समाजवादतर्फ नै उन्मुख हुनेछ। लोकतन्त्रमा विकल्पमा कुनै सम्झौता हुनुहुँदैन र राष्ट्रियता कमजोर हुने कुनै पनि काम कतैबाट पनि हुनुहुँदैन भन्ने नीतिलाई नै आज पनि वीपीवादको रूपमा नेपालीहरूले लिएका हुन्। 

वीपीलाई कांग्रेसको मात्र सम्झने धृष्टता नगरौँ। प्रजातन्त्रका अनवरत र अटुट संवाहकका रूपमा रहुनभएका वीपीको त्यही किसिमले मूल्यांकन आवश्यक छ। सबैले वीपीको राष्ट्रियता सम्वद्र्धन गर्ने लक्ष्यअनुसारको त्यो संवेदनशीलतालाई अहिले पनि मनन् गरौँ। नेपालको राष्ट्रियता बलियो बनाउन हामी नेपाली मात्र लाग्नुपर्दछ।

कोही हाम्रो प्रमुख शत्रु वा परममित्र छैन। राजनीतिमा कोही कसैको स्थायी शत्रु वा मित्र हुँदैन। हामी सबै साझा प्रश्नमा एक भएर काम गर्न सक्यौँ र एक भएर समस्या समाधान गर्न सक्यौँ भने कसैले हामीलाई केही पनि बिगार्न सक्दैन। हामी आफ्ना अतीतका गल्तीबाट सिक्ने भन्दा डराउने गर्दछौँ। हामी गल्ती स्वीकार्ने हिम्मत गरौँ र सबै जना मिलेर यो अतीव सुन्दर देशलाई अझ सुन्दर बनाऔँ। सबैको मेलमिलाप र सहकार्यबाट मात्र यो संभव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.