|

एजेन्सी : म्यानमारको उत्तर पश्चिमी इलाकामा गत साता सरकारले रोहिंग्या मुसलमानको २६ सय घर जलायो। यसका कारण झन्डै  ६० हजार रोहिंग्या मुसलमान ज्यान बनाउनका लागि छिमेकी देश बंगलादेशमा शरण लिन आएका छन्। अझै शरणार्थीहरु आउने क्रम जारी छ।

तर बंगलादेशले पनि उनीहरुलाई शरण दिन मानिरहेको छैन। बंगलादेशले उनीहरुलाई म्यानमार फिर्ता पठाइरहेको छ। त्यसैले अब रोहिंग्या शरणार्थीको न त घर बाँकी छ। न विश्वमा कुनै देश नै।

संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगका अनुसार केही समयअघि भएको सैनिक कारबाही तथा हिंसात्मक झडपका क्रममा ४ सय जना मारिएका छन्। म्यानमारको सरकारले राखिन प्रान्तमा भएको घर जलाउने घटनामा अराकान रोहिंग्या मुक्ति सेना (एआरएसए) लाई जिम्मेवार ठहर गरेको छ।

अधिकारीहरुका अनुसार यस उग्रवादी संगठनले सेनाको चौकीमा हमला गरेको थियो। जसका कारण सैनिकले बाध्य भएर आत्मरक्षाका लागि गोली चलाएका हुन्।

म्यानमार सरकारले यस संगठनलाई आतंककारी घोषणा गरेको छ। यस संगठनको विरुद्धमा कारबाही सुरु गरेको छ। बंगलादेश पुगेका रोहिंग्या मुसलमानका अनुसार म्यानमारको सेनाले उनीरुको घर जलाउने र मार्ने अभियान नै चलाएको छ।

को हुन् रोहिंग्या मुस्लिम ?

रोहिंग्या मुस्लिम म्यानमारको अराकान प्रान्तमा बस्ने अल्पसंख्यक समुदाय हुन्। अराकानका मुगल शासकहरुले उनीहरुलाई यस पहाडी क्षेत्रमा ल्याएका थिए। सन् १७८५ मा बर्माका बौद्ध धर्मालम्बी शासकहरुले दक्षिणतर्फको भूभाग अराकानलाई आफ्नो कब्जामा लिए। त्यसपछि हजारौं संख्यामा मुस्लिमहरुको हत्या भयो। 

यसपछि बौद्ध धर्मका व्यक्ति र रोहिंग्या मुसलमानबीच हिंसा र मारपीटको क्रम सुरु भयो। यो क्रम अझै जारी छ।

म्यानमारमा झन्डै १० लाख रोहिग्या मुस्लिम बस्छन्। उनीहरु शताब्दीऔंदेखि यहाँ बस्दै आएका छन्। उनीहरुको अर्को देश छैन। तर यी मुस्लिमहरुलाई आफ्ना नागरिक मान्न म्यानमार सरकार तयार छैन। त्यसैले रोहिंग्याहरुले यहाँ दमनको सामना गर्नुपरेको छ।

म्यानमारमा बेला-बेलामा हुने ठूला दंगाहरुमा सबैभन्दा धेरै धन-जनको क्षति रोहिंग्याहरुले नै उठाउनुपर्छ। घरबाट बिस्थापित भएर रोहिंग्याहरु बंगलादेश र थाइल्यान्डको सीमास्थित शरणार्थी शिविरमा बस्ने गरेका छन्। उनीहरुको अवस्था निकै खराब छ। बंगलादेशको सिमानामा झन्डै ३ लाख शरणार्थी शरण लिएर बस्ने गरेका छन्।  

बंगलादेशमा शरणार्थीको संख्या बढ्दो

बंगलादेशको विदेश मन्त्रालयले ढाकास्थित म्यानमारका राजदूत मायो मायिंट थानलाई भेटेर सबै रोहिंग्या मुस्लिम नागरिकलाई छिट्टै स्वदेश फिर्ता गराउन आग्रह गरेको छ। बंगलादेशले म्यानमारमा जारी हिंसाका कारण बंगलादेशमा करिब ५ लाखले शरण लिइरहेको जानकारी मायोलाई गराएको छ।

म्यानमारका झन्डै ३ लाख नागरिक त पछिल्लो ३-४ वर्षदेखि स्थायी रुपमा बंगलादेशमै बस्दै आएका छन्। यसबाहेक दैनिक सयौं रोहिंग्या मुस्लिमहरु ज्यान जोगाउन बंगलादेश छिर्छन्।

संयुक्त राष्ट्रसंघका अनुसार म्यानमारका मुस्लिम इलाका सेनाले हेलिकप्टरबाट गोलाबारी गर्ने गरेको छ। हजारौंको यसैकारण ज्यान गइसकेको छ। रिपोर्टसका अनुसार सेनाले १० वर्षभन्दा माथिका किशोरहरुलाई छानी-छानी गोली प्रहार गर्ने गरेको छ। त्यसैकारण रोहिंग्याहरु बंगलादेशतर्फ भागेका हुन्। यद्यपी म्यान्मार सरकारले आर्मीमाथि लागेका आरोप सिधै अस्विकार गरेको छ।

नदी पार गर्ने क्रममा हजारौंको ज्यान गयो

बंगलादेश छिर्ने क्रममा शरणार्थीहरुले दुई देशको बीचबाट बग्ने खतरनाक नफ नदी पार गर्नुपर्ने हुन्छ। यस नदी पार गराउने क्रममा माझी तथा बिचौलियाहरुले पनि शरणार्थीलाई ठग्ने गरेका छन्।

पैसाको लोभमा छोटा-छोटा डुङगामा ठूलो संख्यामा मानिसहरु राखेर बिचौलियाहरुले बंगलादेशको समून्द्री सिमासम्म लैजाने गर्छन्। यसक्रममा डुङ्गा पल्टने घटना सामान्य भइसकेको छ। डुङ्गा डुबेर अहिलेसम्म सयौंको मृत्यु भइसकेको छ। मानिसहरु बिस्थापित हुने यो शृंखला जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.