|

बाँके : बाढीले घर बगाएपछि सामुदायिक वनमा अस्थायी टहरा र त्रिपालमुनी बस्न बाध्य महिलाहरुले असुरक्षित महसुस गर्न थालेका छन्। उचित बासस्थानको अभावमा असुरक्षित महसुस गरेको पीडित महिलाहरुको भनाइ छ। 

राप्ती–सोनारी गाउँपालिका–२, टिकुलीपुरकी बाढीपीडित चन्द्रकला विकले मादक पदार्थ सेवन गरेका युवाहरुले होहल्ला गर्न थालेपछि महिला, किशोरी र यूवती असुक्षित भएको बताइन्। नाममात्रको त्रिपाल भित्र जवान छोरीहरुको साथमा सुत्दा रातभर निद्रा नपर्ने गरेको उनले बताइन्। ‘दिन आफ्नो रात अर्काको हो भन्छन्, सुरक्षित बास स्थान नहुँदा रातभर निदाउन सकिन्न,’ उनले भनिन्। 

प्रहरीले गस्ती गर्न छोडेको गुनासो

बाढी आएको केही समय प्रहरीले गस्ती गरेपनि पछिल्लो समय प्रहरीको गस्ती टोली बाढी प्रभावित क्षेत्रमा नआएको टिकुलीपुरकी लक्ष्मी शाहीले बताइन्। प्रहरीले गस्ती गर्न छोडेपछि युवाहरु रातको समयमा होहल्ला गर्न आउन थालेको उनले बताइन्। 

त्रिपालको घरमा रात बिताउन कठिन भएको सोही ठाउँकी कमला विकले बताइन्। घरको ढोका बलियो भएको घरमा समेत महिला असुरक्षित भएको उनको भनाइ छ। उनले रातीमा प्रहरीले गस्ती गरिदिए केही राहत मिल्ने बताइन्। ‘जनताको सुरक्षाका लागि बसेको प्रहरी नै टोलमा देखिदैनन्,’ उनले भनिन्। 

रातमा गस्ती गर्न प्रहरीसँग माग

बाढी प्रभावित क्षेत्रका धेरैजसो घरमा महिला र बालबालिका मात्र छन्। पुरुषहरु कामका लागि भारत लगायत अन्य तेस्रो मुलककमा भएकोले असुरक्षित भएपछि बाढी प्रभावित क्षेत्रका महिलालाई रात काट्न मुस्किल भएको छ। 

सुरक्षित बास स्थान नभएकोले महिला, युवती र किशोरीलाई आफ्नो रक्षा गर्न समस्या भएको राप्ती–सोनारी गाउँपालिका–४, सेम्रहनाकी भिमा परियारले बताइन्। उनले सुत्ने ठाउँ नभएकोले कोही त्रिपालमा र कोही खुल्ला आकाशमुनी सुत्ने गरेको बताइन्।

‘महिलाहरु सकभर त्रिपालमा सुत्छौँ, तर त्रिपालमा सुरक्षित हुने कुरै भएन, त्रिपालमा सुत्दा निदाउन सकिदैन,’ उनले भनिन्। बाढी प्रभावित क्षेत्रका महिलाले रातीको समयमा नियमित रुपमा एक पटक भएपनि गस्ती गरिदिन प्रहरी सँग आग्रह गरेका छन्।

‘प्रहरीले रातमा एक पटक गस्ती गरिदिए हामीलाई ठूलो राहत हुने थियो,’ टिकुलीपुरकी चन्द्रकला विकले भनिन्, रातमा एक पटकमात्र गस्ती आई दिएको भए धेरै आड भरोसा लाग्ने थियो।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.