अर्थ

बाढीले मोरङमा ३५० हेक्टर माछापोखरी बगायो, ३० करोडको क्षति
SHARES

भदौ २३, २०७४

    विराटनगर : माछा उत्पादनमा आत्मनिर्भर हुन लागेको मोरङमा चालु आर्थिक वर्षको उत्पादनमा भने ७० प्रतिशतले ह्रास आउने भएको छ। गत साउन २८ र २९ गतेको बाढीले मोरङका आधाभन्दा बढी माछापोखरी प्रभावित भएपछि सरकारी निकायले माछा उत्पादनमा ७० प्रतिशत ह्रास आउने अनुमान गरिएको हो।

    जिल्ला कृषि विकास कार्यालयले संकलन गरेको तथ्याङ्कअनुसार बाढीका कारण करिब ३० करोड मूल्य बराबरका माछा उत्पादन घट्नेछ। मोरङका माछापालक किसानले क्षतिपूर्ति माग गर्दै कार्यालयमा ३ सय ५० हेक्टर पोखरी पूर्ण रूपमा क्षति भएको विवरण दर्ता गराएका छन्।

    मोरङमा ६ सय ६७ हेक्टर जलाशयमा माछापालन गरिँदै आएको जिल्ला कृषिले जनाएको छ। जसमध्ये बाढीले ३ सय ५० हेक्टर जलाशय पूर्ण रूपमा क्षति गरेकाले उत्पादनमा ठूलो असर पर्ने भएको हो। मोरङमा माछाको कुल खपतमध्ये ६० प्रतिशत यही जिल्लाको उत्पादनले धानिरहेको थियो। अब मागको २० प्रतिशतमात्र आपूर्ति हुने कार्यालयको अनुमान छ।

    कार्यालयका प्राविधिक सहायक पार्वती सुब्बाका अनुसार किसानले क्षतिको विवरण टिपाउने क्रम जारी छ। यही क्रम जारी रहेमा पूर्ण क्षति भएको जलाशयको क्षेत्रफल ४ सय हेक्टर पुग्न सक्ने सुब्बाले बताइन्। कार्यालयले प्रतिकठ्ठा २५ हजार रूपैयाँ मूल्य बराबरको क्षति भएको अनुमानका आधारमा ३० करोडभन्दा बढी क्षति भएको अनुमान गरेको हो।

    मोरङमा ३ हजार ८ सय पोखरी सूचीकृत छन्। व्यावसायिक रूपमा माछा पालनमा ६ सय २१ किसान संलग्न छन्। माछापालक किसान रूपेश भट्टराईले पाँच विघा जलाशयमा खोला पसेपछि करिब ५० लाख रूपैयाँको प्रत्यक्ष नोक्सानी भएको जानकारी दिए।

    पोखरी ममर्तमा मात्रै करिब २० लाख खर्च हुने भएपछि व्यवसाय नै धरापमा परेको भन्दै किसान भट्टराईले कार्यालयले अनुगमन गरेर क्षतिका आधारमा क्षतिपूर्ति दिइनुपर्ने माग गरे। माछा पोखरी तथा माछाको सुरक्षणका लागि किसानले विमा नगरेका कारण पनि ठूलो क्षति भएको पाइएको छ।

    भुराको अभाव

    नर्सरी पोखरीका सबै माछा बगाएपछि पूर्वमा माछाका भुराको अभाव भएको छ। भुरा आपूर्तिमा सहयोग गर्दै आएको सुनसरी तरहरास्थित कृषि अनुन्धान केन्द्रका अधिकांश माउ माछा बगाएका कारण भदौ महिनामा आपूर्ति गरिने रहु, नैनी भाकुर लगायत जातका भुरा आपुर्ति हुन सकेको छैन।

    यसबाट झापा, मोरङ सुनसरीका किसान बढी प्रभावित छन् ।केन्द्रकी माछा विज्ञ उमिता शाहले अनुसन्धानका लागि राखिएका धेरै माउ बाढीमा बगेकाले यो सिजनमा भुरा उपलव्ध गराउने सम्भावना नरहेको जानकारी दिइन्। केही माउलाई बाढीकै बीच पनि जोगाउन सफल भएकाले आगामी फागुनदेखि केही मात्रामा भुरा उत्पादन गर्न सक्ने अवस्था रहेको विज्ञ शाहले बताइन्।

    विज्ञ उमिताका अनुसार अनुसन्धानका लागि भारतको बङ्गालबाट ल्याइएको जयन्ती जातको रहुका २ सय २५ माउमध्ये ८ वटा मात्रै जोगिएका छन्। जयन्ती राम्रो वृद्धिदर भएको माछामध्ये एक मानिन्छ। अर्कातिर भुरा अभावले किसान चिन्तामा छन्। भुरा उत्पादन गर्दै आएका निजी ह्याचरीहरू पनि बाढीबाट प्रभावित भएकाले गुणस्तर परीक्षण नभएका भारतीय भुरामा निर्भर हुनुपर्ने बाध्यता आइपरेको गुनासो उनीहरूले गरेका छन्।

अर्जुन आचार्य

आचार्य थाहाखबरका मोरङ संवाददाता हुन्। इमेल : jorarjun@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]