तस्करको निशाना पर्नेमा स्थानीयको चिन्ता

|

झापा : झापामा रहेको नेपालाकै दोस्रो ठूलो वृक्षरोपण आयोजना रतुवामाई वृक्षरोपण आयोजना क्षेत्रभित्र गत साउन अन्तिम साता वर्षासँगै आएको हावाहुरीले लडाएका रुखहरु तस्करको निसानामा पर्ने भन्दै छिटो वनबाट निकाल्न स्थानीयले आग्रह गरेका छन्। आयोजना प्रमुख खेमलाल विश्वकर्माका अनुसार ढलेका रुखहरु करिब १ करोड ५० लाख मूल्य बराबरका छन्।

हावाहुरीले लडाएका रुखहरु एक महिना बित्न लाग्दासम्म जंगलमै छोडिँदा तस्करको निशाना बन्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन्। वृक्षरोपण आयोजनाको २७ सय ५३ दशमलव ७६ हेक्टर क्षेत्रमा फैलिएको वनमा हावाहुरीले १ हजार ८ सय २ वटा साल, मसला र किटको रुख लडाएर सोत्तर बनाएको छ। वन कार्यालयको लामो र झन्झटिलो प्रक्रियाले एक महिना बित्न लाग्दासमेत लडेका रुखहरु वनमै थन्किएका हुन्।

सरकारी कार्यालयको लामो र झन्झटिलो प्रक्रिया

यसरी ढलेका रुखहरु वनमै छाडिँदा तस्करी मैलाउँदै गएको स्थानीय बताउँछन्। स्थानीय शिवसताक्षी ८ का नरबहादुर खत्रीले यसरी जंगलमै लडेका रुख छाडिँदा तस्करहरुको आँखा बलेको बताए। उनले भने, ‘यसरी बनमै छाडिँदा तस्करको आँखा बलिसकेको छ, ठाडै रहेको रुखमा त आँखा लगाउने तस्करहरु अहिले चुप लागेर बसेका होलान् त?’ सरकारी कार्यालयको लामो र झन्झटिलो प्रक्रिया पूरा भइन्जेलसम्म त तस्करीले रुख नराख्ने उनी बताउँछन्। उनले भने, ‘सरकारी नियम पूरा गरेर रुख उठाउँदा त यहाँ रुख होला नहोला।’

उनी त्यही वनमा दैनिक गाईवस्तु चराउँदै आएका छन्। उनले रतुवामाई वृक्षरोपण आयोजनाले छाप हानेका ढलेका रुखहरु समेत हराउन थालेको बताए। उनले भने, ‘म निरन्तर यहाँ वस्तु चराउन आउछु प्रत्येक दिन छाप हानेको रुखहरु हराइरहेका छन्, छाप हानेका पनि आदि काटेर लगेको देखिन्छ।’ उनले सेक्युरिटी कमजोर हुँदा तस्करी बढ्न सक्ने बताए। उनले भने, ‘वनमा सेक्युरिटीनै छैनन्, कहिलेकाहीँ मात्र आउँछन्, त्यसैले तस्करी त हुने नै भइहाल्यो नि।’

सोही ठाउँका स्थानीय धनबहादुर श्रेष्ठले तत्काल उक्त स्थानमा ढलेका सबै रुखहरु निकाल्न आग्रह गरे। उनले भने,‘सरकारी क्षेत्रको करोडौंको रकम गुम्ने खतरा छ, त्यसैले तत्काल निकाल्न जरुरी छ।’ उनले चोरी हुनुभन्दा जनतालाई दिनु ठिक रहेको बताए। उनले भने, ‘वन कार्यालयले पनि निकाल्दैन, चोरी हुने सम्भावना पनि छ, कि त छिटो यसलाई जंगलबाट निकाल्नु पर्यो, कि त हामीलाई दिनु पर्यो चोरी भएर सकिनुभन्दा त हामीलाई दिनु ठीक हुन्छ।’

 यता, रतुवा माई वृक्षरोपण आयोजनाले भने पछिल्लो समय ढलेका रुखहरु तस्करी नभएको दाबी गरेको छ।  आयोजनाका प्रमुख खेमलाल विश्वकर्माले रुखहरु ढल्नेबित्तिकै काठ चोरी भए पनि अहिले नभएको दाबी गरे। उनले भने, ‘पहिला सुरुका दिनमा पानी पनि त्यस्तै परेको थियो, गस्ती पनि गर्न सकेनौँ, स्थानीयले रुखलाई दाउरा बनाउँदै लगेकै हुन्, तर अहिले त्यस्तो छैन, हामीले सशस्त्र प्रहरीसँग सहकार्य गरेर रुखलाई काटेर मुढा बनाएर लगेकाको घर घरमा गएर फिर्ता ल्याएर आयोजना को कार्यालयमा राखेका छौँ, करिब १५ ट्याक्टर मुढा ल्यायौँ।’

उनले पछिल्लो समय गस्तीलाई पनि प्रभावकारी बनाएको बताए। सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजनाका वन रक्षकले २४ औँ घण्टा गस्ती गरिरहेको बताए। उनले सामान्य तय तस्करी नभएको बताए। उनले भने, ‘कहीँ कहीँ त हुन्छ नै रुख नढल्दा पनि भएको तस्करी त छ होला तर, हामी नियन्त्रण गर्ने प्रयासमा छौँ।’

 विश्वकर्माले ढलेका रुखको व्यवस्थापनका लागि प्रक्रिया सुरु भएको बताए। उनले भने,‘अहिले हामीले रुखको छपान मूल्यांकन गर्ने कार्य धमाधम गरिरहेका छौँ, अब यसको निवेदन पूर्वञ्चल क्षेत्रीय वन निर्देशनालयमा बुझाउँछौँ, त्यहाँबाट अनुगमनमा आउँछन् र हेर्छन्, अनि केन्द्रीय कार्यालयमा निवेदन बुझाउँछौँ र रुख वनबाट निकाल्छौँ।’ वनबाट रुख निकाल्न करिब दुई महिना लाग्ने उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.