|

भीमदत्तनगर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर-गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्मचारी युनियन संघ, कैनालका जगतसिंह चौहान र चन्द्रकिशोर सिंहलाई गोली हानेर फरार भएका भीमदत्त नगरपालिका- ९ का दुई युवकलाई गड्डाचौकी प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ। 

गोली लागेका भारतीय नागरिक दुबैजना शारदा ब्यारेजका कर्मचारी रहेको बुझिाएको छ। गोली हान्ने युवकमा भीमदत्त नगरपालिका–९ मटेनाका १७ वर्षीय करनसिंह भण्डारी र २१ वर्षीय विक्रमनाथ रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

प्रहरीले उनीहरुलाई भीमदत्त नगरपालिकाको जिमुवा क्षेत्रबाट गोली प्रहारमा प्रयोग गरिएको पेस्तोल र चक्कुसहित बरामद गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक रघुनाथ भण्डारीले जानकारी दिए।

घाइतेलाई वनवासामा उपचारपछि शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइएको छ। चौहानको पाखुरा र सिंहको पिँठ्यूमा गोली हानेर युवकद्वय भण्डारी र नाथ मोटरसाइकलमा भागेका थिए। प्रहरीले लुटपाट गर्ने नियतले गोली हानेको हुन सक्ने अनुमान गर्दै घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.