|

पर्वत : अघिल्लो वर्षको तुलनामा यस वर्ष स्याउको उत्पादन बढेपछि हिमालपारिको जिल्ला मुस्ताङका कृषकहरुमा खुसियाली छाएको छ। जिल्ला कृषि विकास कार्यालय मुस्ताङका अनुसार गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको छ।

गत वर्ष ४५ सय मेट्रिक टन उत्पादन भएको मुस्ताङमा यस वर्ष झन्डै ५ हजार मेट्रिक टन उत्पादन हुने कार्यालयको अपेक्षा छ। कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताका अनुसार यस वर्ष   अनुकूल मौसम, रोग किराको समस्या कम भएको र नयाँ बोट थपिएकाले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको हो।

मुस्ताङको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङलगायत क्षेत्रमा ११ सय १५ हेक्टरमा जमिनमा स्याउ खेती भइरहेकोमा ३ सय ७० हेक्टरमा लगाइएका रेड, रोयल, रिचारेड, गोल्डेर फुजी डेलिसियस जातको स्याउ बोटहरुले फल दिइरहेको छ। गत वर्ष २३ करोड रुपैयाँको स्याउ मुस्ताङबाट निकासी भएको थियो।

यस वर्ष पनि अधिकांश बगैंचामा फलेका स्याउ बेनी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडौ, चितवन लगायतका व्यापारीहरुले  अग्रीम पैसा दिएर खरिद गरिसकेका छन्। भदौको अन्तिम सातादेखि स्याउ टिप्दा उपयुक्त हुने भएपनि कतिपय व्यापारीले भने पाक्नुअघि नै स्याउ बजार पुर्‍याउन थालेका छन्। रासायनिक मल र विषादीको प्रयोग नगरिएको, स्वच्छ वातावरणमा उत्पादित मुस्ताङको स्याउ स्वादिलो र रसिलो हुनाले बजारमा प्रसिद्ध छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.