|

लन्डन: नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले स्थापनाको दशौँ वार्षिकोत्सव एक कार्यक्रमको आयोजना गरी भव्य रूपमा सम्पन्न भएको छ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा राजदूत डा. सुवेदीले बेलायतमा नेपालीहरूको भाषा र साहित्यप्रतिको चासो र प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। युनिभर्सिटी अफ लन्डनका प्राध्यापक डा. माइकल हटले पनि नेपाली प्रतिभा प्रतिष्ठानको कार्यक्रमको सराहना गरे। उनले भने, ‘मलाई नेपाल पुगेको अनुभुति भइरहेको छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का विशिष्ट अतिथि प्राज्ञ शशि लुमुम्बूले प्रतिभा प्रतिष्ठानले नेपाली साहित्य र संगीतमा गरेको योगदानको विशेष महत्त्व रहेको बताए। नेपालमा वर्सेनि पुरस्कार र सम्मान वितरण गर्दै प्रतिष्ठानले स्वदेशी तथा विदेशी स्रष्टाहरूको उचित मूल्याङ्कन गरेको उनको भनाइ थियो।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राई, उपाध्यक्ष गणेश राई, महासचिव मिजास तेम्बे, कोषाध्यक्ष देवेन्द्र खेरेस, सदस्य अन्जु अन्जलीलगायतले संस्थाका विविध पक्षबारे प्रकाश पारेका थिए। उक्त अवसरमा संस्थाको स्मारिका ‘एक दशक’ विमोचन गरिनुका साथै वार्षिक नियमित कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’ आयोजना गरिएको थियो।

‘अभिव्यक्ति शृङ्खला’को दशौँ संस्करणमा कवि डा. रूपक श्रेष्ठ प्रस्तुत भएका थिए। यसरी नै कार्यक्रममा युवा चित्रकलाकार पियुस गुरुङको एकल चित्रकला प्रदर्शनीसमेत गरिएको थियो। सो अवसरमा प्राज्ञ शशि लुमुम्बूलाई संस्थाको मानार्थ सदस्यताको प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो।

सन् २००८ मा बेलायतमा स्थापित नेपाली प्रतिभा प्रतिष्ठानले स्थापनाको दशौँ वर्ष पूरा गरेको छ। उक्त संस्थाले वर्सेनि नेपालका एक जना युवा प्रतिभालाई एक लाख रुपैयाँको नगद पुरस्कार र एक जना अग्रज स्रष्टालाई सम्मान प्रदान गर्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.