|
फाइल फोटो

चितवन : पूर्वी चितवनको कुमरोजमा भाले गैंडाले हानेर शुक्रबार अर्को भाले गैंडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत इचर्नी पोष्ट नजिकै गैंडाले हानेर भाले गैंडा मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

उनका अनुसार इचर्नी र ढुंग्रेखोलाको दोभानमा करिब ७ मिटर अग्लो ठाउँबाट अर्को भाले गैंडाले लडाउँदा साँझ पाँच बजेतिर गैंडाको मृत्यु भएको हो। समुदायमा आधारित वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठक गैंडा रुखको जरामा अड्किएको अवस्थामा भेटिएकाले हात्तीको सहायतामा निकालिएको बताउँछन्।

‘जुध्दै जुध्दै अग्लो स्थानबाट दुइटै गैंडा खस्यो, पाठकले प्रत्यक्षदर्शीको भनाई उधृत गर्दै भने, 'तल खसेपछि पनि फेरि हानेर मार्‍यो।’ स्थानीय गोठालाहरुले गैंडा जुधेर खसेको देखेपछि निकुञ्जलाई खबर गरेका थिए। अहिले गैंडाको पोष्टमार्टमका लागि निकुञ्जका चिकित्सकको टोली पठाइएको छ।

चितवन निकुञ्जका अनुसार गएको बर्ष विभिन्न कारणले २५ गैंडा मरेको छ। २१ वटा प्राकृतिक कारणले मरेको हो। दुईवटा गैंडा तस्करको गोलीबाट मारिएको थियो भने २ वटा गैंडा करेन्ट लागेर मरेको थियो। चितवन निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा ६०५ वटा रहेकोमा एक दर्जन जति शुक्लाफाँटा वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.