|

इलाम : शनिबार १ सय ४ औं वीपी जयन्ती। वीपी जयन्तीकै पूर्व सन्ध्यामा शुक्रबार इलामको रोङ गाउँपालिकामा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले कपडाले छोपिएको वीपीको फोटो अनावरण गरे।

फोटोमा लेखिएको थियो,'रोङ गाउँपालिका प्रथम गाउँसभा २०७४' अर्थात कार्यक्रम वीपी जयन्ती विशेष थिएन। जननिर्वाचित प्रतिनिधिहरुले पहिलोपटक आयोजना गरेको गाउँसभाको बैठक थियो। 

तर ब्यानर हेर्दा वीपी जयन्ती जस्तो देखियो। अर्थराज्य मन्त्री उदयशम्शेर राणाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख ३ दलका जिल्ला तहका नेताहरुको बाक्लो उपस्थिति थियो। मन्त्रीले ब्यानर अनावरण गरेपछि गाँउवासी, अतिथी तथा पत्रकारहरु सबै छक्क परे। 

कार्यक्रमका सहभागीहरुले गाँउपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश पदमा नेपाली काँग्रेसले जितेकाले आफ्नो जीतको दम्भ देखाउन यस्तो गरिएको अड्कल काटे। नेकपा एमालेका स्थानीय नेता एवम् रोङ गाँउपालिका अध्यक्षका पराजित उम्मेदवार बृहस्पती खतिवडाले जनप्रतिनिधिहरुले गाउँमा कांग्रेसवाद हाबी गराउन खोजेको आरोप लगाए।

उनले भने ‘स्थानीय सरकार भएकाले परिषद् चलिरहँदा कुनै पार्टी विशेषको नेताको फोटो राख्नु जरुरी थिएन। यसमा हाम्रो घोर आपत्ति छ। पार्टीको नेताको साटो लेप्चा भाषाको नामबाट गाँउपालिकाको नाम रोङ राखिएकाले लेप्चा संस्कृति जनाउने फोटो राखेको भए उपयुक्त हुने थियो,’ उनले भने,‘पहिलो प्रभाव नै अन्तिम प्रभाव भएकाले आगामी दिनमा गाँउपालिकाको विकासमा समेत यसको थोर बहुत असर देखिन्छ।’

माओवादी केन्द्रका इन्चार्ज धिरेन्द्र शर्मा रमणले गाँउसभाको व्यानरमा वीपीको तस्विर राख्नु मनासिव नभएको बताए। ‘वीपी कोइरालाले आमुल परिर्वतनको लागि लडेपनि उनी एउटा पार्टीका नेता हुन्। बरु वीपीको फोटो अलग्गै राखेको भए राम्रो हुन्थ्यो।  एउटा गाँउसभामा यस्तो अभ्यास गर्दा अन्य स्थानीय तहमा अरु पार्टीले जितेका छन्। यसले पार्टी अनुसारको गाँउपालिका हुने देखिनसक्छ,’ उनले थपे,‘यस्तो विषयहरुमा आयोजक गम्भिर हुनुपर्छ । लाप्चा भाषाबाट नाम राखिएकोले लाप्चा संस्कृति झल्कने राख्नुपर्ने थियोे।’

गाँउपालिका उपाध्यक्ष चन्द्रकला राईले ब्यानर बनाउने विषयमा आफुलाई जानकारी नभएको प्रतिक्रिया दिइन्। उनले अरुले जस्तै आफुले पनि ब्यानर उद्घाटनपछि मात्रै वीपीको फोटो देखेको प्रतिक्रिया दिइन्। 

कमजोरी भएको गाउँपालिका अध्यक्षको स्विकारोक्ति

गाँउपालिका अध्यक्ष शम्शेर राईले कमजोरी भएको स्विकार गरे। 'पहिलो पटक गाँउसभा भएकाले कमी कमजोरी अवश्य भएको हो। आगामी दिनमा यसलाई सुधारेर लग्नेछु,’ उनले भने,' लोकतन्त्रको लडाई लडेका सफल राजनीनितज्ञ भएकाले हामीले सम्मानमा उहाँको तस्विर राखेका हौं। पार्टी विशेषको नेता भएर होइन।'

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला राजनीतिज्ञका अलावामा सफल साहित्यकारका रुपमा पनि चिनिन्छन्। ‘दोषी चश्मा’, ‘सुम्निमा’, ‘मोदीआइन’, ‘तीन घुम्ती’, ‘नरेन्द्र दाई’, ‘बाबु आमा र छोरा’ उनका सफल कृति हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.