|

जाजरकोट : शिक्षक दरबन्दीको प्रक्रिया रोकिएपछि असन्तुष्ट बनेका विद्यार्थी संगठनका प्रतिनिधिहरुले शुक्रबार जिल्ला शिक्षा अधिकारीको कुर्सी तोडफोड गरेका छन्। जाजरकोटमा विद्यार्थीहरुले जिल्ला शिक्षा अधिकारीको कुर्सी तोडफोट गरेको यो पहिलो घटना हो।

७ महिनादेखि रिक्त दरबन्दीमा शिक्षक नियुक्त गर्नुको सट्टा शिक्षक भर्ना प्रक्रिया लम्ब्याउने काम गरेको भन्दै कार्यकक्षमै पुगेर संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुले जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहको कुर्सी तोडफोड गरेका हुन्।

छेडागाड नगरपालिका–१२ मनघाटस्थित चन्द्रज्योति आधारभुत विद्यालय र त्रिवेणीनलगाड नगरपालिका–६ पिउलीस्थित जनप्रिय आधारभुत विद्यालयको प्राथमिक तहको राहत शिक्षक पदको दरबन्दी ७ महिनादेखि रिक्त छ। शिक्षक भर्नाका लागि गरिएको परीक्षाको अन्तरवार्ताका बेला व्यवस्थापन समितिका अध्यक्ष भागेपछि झन्डै डेढ महिनादेखि शिक्षक नियुक्तीको प्रक्रिया रोकिएको हो।

शिक्षक नियुक्तीको प्रक्रिया रोकिएपछि विद्यालयको पठन–पाठनमा समस्या देखिएको सम्बन्धित विद्यालयमा अध्ययनरत विद्यार्थीहरु गुनासो छ। विद्यार्थीहरुको गुनासोपछि विद्यार्थी संगठनहरुले केही दिनअघि जिल्ला शिक्षा अधिकारीलाई भेटेर ३ दिनभित्र शिक्षक नियुक्तीको प्रक्रिया अघि बढाउन अल्टिमेटम दिदैं ध्यानाकर्षण पत्र बुझाएका थिए।

ध्यानकर्षण पत्रमा तीन दिन भित्र समस्या समाधान नभए जस्तोसुकै कदम चाल्न संयुक्त संघर्ष समिति बाध्य हुने उल्लेख गरिएको थियो। संयुक्त संघर्ष संमितिको नाममा ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्ने विद्यार्थी संगठनहरुमा नेकपा एमाले निकट नेरास्ववियु, नेपाली कांग्रेस निकट नेविसंघ र नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) छन्।

जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले समस्या समाधानमा चासो नदेखाएको आरोप एमाले निकट अनेरास्ववियु, जाजरकोटका कावा अध्यक्ष प्रदिप खडकाले लगाए।

‘हामीसँगको औपचारिक तथा अनौपचारिक भेट तथा छलफलमा यो समस्यालाई म तत्काल समाधान गर्छु भन्ने गरेपनि निकास दिन नसकेका कारण बाध्य भएर तोडफोड गरेका हौं। आजकै मिति र समय दिएर जिशिअ सिंहले हामीलाई कार्यालयमा बोलाए तर उनी आफैं आएनन्,’खड्काले भने, ‘ अचानक टेलिफोनद्धारा जिशिअ सिंहले हामीलाई निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको अवस्थामा केही पनि गर्न सकिन्न भने जसका कारण बाध्य भएर तोडफोड गर्नुपर्‍‍यो।’

नेकपा निकट अखिल (क्रान्तिकारी), जाजरकोटका अध्यक्ष प्रेमबहादुर शाहीले आइतबारसम्म समस्याको समाधान नगरे संयुक्त संघर्ष समितिले बाध्यकारी निर्णय लिने चेतावनी दिए। 

राजनैतिक दलका नेताहरुको हस्तक्षेपका कारण जिल्ला शिक्षा कार्यालयले शिक्षक नियुक्ति प्रक्रियालाई रोकेको हुन सक्ने नेपाली कांग्रेस निकट नेविसंघ जाजरकोटका सचिव किशोर मल्लले बताए।

परीक्षामा आफ्ना मान्छे पास नहुने भएपछि दुबै बिद्यालयका अध्यक्ष भागेर शिक्षक नियुक्तीको प्रक्रियालाई नाटकिय बनाएको सचिव मल्लको आरोप छ।शिक्षक नियुक्तिका लागि लगिएको परिक्षाको अन्तरवार्ता साउन ७ गते भएर प्रक्रिया पुरा हुनु पर्नेमा हाल सम्म प्रक्रिया रोकिएको छ।

कुर्सी तोडफोड दुखद् : जिशिअ

जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले आफु विद्यार्थीहरुकै पक्षमा रहेको बताए। उनले शिक्षक भर्ना प्रक्रिया रोकिएको आरोपमा सत्यता नरहेको प्रतिक्रिया दिए। शिक्षक नियुक्त गर्नका लागि पटक–पटक सम्बन्धित विद्यालयमा चिट्ठी लेखेको उनले बताए।

‘अन्तवार्ता गराउन ७ दिने चिट्ठी लेखेँ। जवाफ नआएपछि ३ दिने लेखेँ। ३ दिने चिट्ठी लेखेछि २४ घण्टे चिट्ठी लेखें,’ उनले भने,‘त्यसपछि पनि अध्यक्ष र प्रअ नआएका कारण उनीहरुलाई उपस्थित गराइदिनका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेँ। जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई ल्यायो। उनीहरुले भोली नै अन्तरवार्ता गर्छौ भनेर सहमति गरेर कार्यालयबाट निस्किए। त्यसपछि भागे।’

सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष उपस्थित नभई अन्तर्वाता गर्न नमिल्ने सिंहले बताए। उनले त्यसका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्धयलाई चेतावनीसहित पत्र समेत लेखेको बताए।

‘अब पनि नआए विद्यालय व्यवस्थापन समितिलाई असक्षम घोषणा गर्दै विघटन गर्ने पत्र लेखेको छु। मैले मात्रै शिक्षक भर्ना गर्ने होइन। सम्बन्धित विद्यालयका प्रअ र अध्यक्षले जिल्ला शिक्षा कार्यालयको रोहबारमा गर्ने हो।’

विद्यार्थीहरुले कानूनी प्रक्रिया नबुझी एक्कासी तोडफोड गर्नु दुखद भएको उनले बताए। ‘आज भेट्ने कार्यक्रम थियो। उनीहरु फोन गरेँ। म शिक्षा दिवसको कार्यक्रममा भएका कारण उनीहरुलाई भोली बसेर छलफल गरौंला भनेको थिएँ। तर कार्यालय समय सकिइसकेपछि साँझ साढे ६ बजेतिर उनीहरुले कुर्सी ताडफेड गरेछन्। यस्तो अभद्र व्यवहारले समाजमा राम्रो सन्देश जाँदैन,’ सिंहले भने।

उनले विद्यार्थीहरुको पढाईका विषयमा आफु पनि चिन्तित रहेको बताए। ‘विद्यार्थीहरुको पढाईका विषयमा चिन्तित भएकै कारण मैले विद्यालय व्यवस्थापन समितिलाई विघटन गर्नेसम्मको चेतावनी दिएको हुँ। तर मैले एक्लै शिक्षक भर्ना गर्ने होइन। त्यसमाथि निर्वाचनको आचारसंहिता लागेकोले अहिल्यै शिक्षक भर्ना गर भनेर विद्यालयलाई कर गर्न सकिन्न।’

उनले भने,‘ अहिलेसम्म मैले लेखेका सबै चिट्ठीको बोधार्थ निवेदकलाई समेत गराउने गरेको छु। सचेत भएर काम गरेको छु। मैले प्रयास गर्ने हो। छलफलका लागि सधैं खुला छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.