|

दमक : अव्यवस्थित पार्किङका कारण  दमक र बिर्तामोडमा दुर्घटना बढ्दै गएको छ। शुक्रबार बिर्तामोड र दमकका बजारी क्षेत्रका सडकको अवलोकन गरेपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो। 

संघीय प्रहरी इकाई कार्यालय चन्द्रगढी र जिल्ला प्रहरी कार्यालय झापाले सुरु गरेको ‘सडक सुरक्षा अभियान’ अन्तर्गत प्रहरीको टोलीले शुक्रबार जिल्लाका २ प्रमुख शहर बिर्तामोड र दमकको अवलोकन गरेको छ। इकाई कार्यालय चन्द्रगढी एसएसपी पिताम्बर अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीसहितको टोलीले दमक र बिर्तामोडको सडकको अवस्थाका बारेमा जानकारी लिएको हो।

अवलोकनपछि  संघीय प्रहरी इकाई कार्यालयका प्रमुख एसएसपी पिताम्बर अधिकारीले अव्यवस्थित पार्किङ नै दुर्घटनाको प्रमुख कारण रहेको बताए। ‘दमक र बिर्तामोडको  प्रमुख समस्या भनेकै पार्किङ हो। तिव्र रुपमा शहरीकरण हुँदैछ। तर पार्किङ उचित छैन। त्यसैले पनि जिल्लामा धेरै दुर्घटना भईरहेको छ,’ उनले भने। 

इलेक्ट्रोनिक रिक्सा (सिटी सफारी) दुर्घटनाको अर्को कारण रहेको उनको भनाइ छ। ‘ झापामा मात्र होईन तराई क्षेत्रकै अर्को समस्या सिटी सफारी हो, सफारी चालकसँग न लाईसेन्स हुन्छ। न कता जाँदा कुन लाईट बाल्ने भन्ने ज्ञान नै हुन्छ।  त्यसकारण दुर्घटनाको हुने गरेको छ।’

उनले आफूहरुले अभियानका क्रममा चालकलाई सचेत गराउने र सडकमा पार्किङ गरेका सवारीलाई हटाउने काम गर्ने बताए। उनले भने,‘झापामा पनि ठूला–ठूला मार्केट छन् तर पार्किङ छैन। यत्रो मार्केट भएकाले त एक तला पार्किङका लागि छाड्नु नि।’

उनका अनुसार मेची अञ्चलमा गत आर्थिक वर्ष २०७३-७४ मा १२५९ वटा सवारी दुर्घटनामा परेका छन्। जसबाट १०७ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेहरुमा झापामा मात्र ८६ रहेको उनले बताए। दुर्घटना भएका मध्ये झापामा मात्र ८० प्रतिशत सवारी दुर्घटना भएको अधिकारीको भनाइ छ।

सडक अतिक्रमण गरेर राखिएका निमार्ण सामाग्री तथा पसलका कारण पनि दुर्घटना बढ्दै गएको उनले बताए। उनले सडक डिभिजन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिहरुले सडक अतिक्रमण गरेका घरहरु तथा पसलहरु भत्काउन पहल गर्नुपर्ने देखिएको बताए।

‘सम्बन्धित निकायले चाहेमा प्रहरीको पूरै फोर्स सडक अतिक्रमण गरेर बनाइएका घर तथा पसलहरु भत्काउन लाग्नेछ। उहाँहरुले तदारुकता लगाउनुपर्ने आवश्यकता छ,’ उनले भने। 

उनले अनुगमनका क्रममा सडकमा जताततै राखेका सवारी हटाईएको र यसरी नराख्न निर्देशन समेत दिइएको बताए। उनले झापाका सबै मुख्य शहरहरुमा रहेका सडकको निरिक्षण गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.