|

उदयपुर : उदयपुरमा ३० हजार बेरोजगार युवा युवती स्वरोगार बन्ने भएका छन्। ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)  कार्यक्रमअन्र्तगत ३० हजार बेरोजगारीलाई स्वरोजगार बनाइने भएको हो।

कार्यक्रमअन्तर्गत  विपन्न, गरिब र आप्रवासीहरुलाई प्रथम प्राथमिकतामा व्यावसायिक तालिम तथा प्रशिक्षित गरी लोक्ता, अल्लो, अलैंची, बेसार, अदुवा, बाख्रा पालन, आँप, केरा, तरकारी, उखु उत्पादनमा लगाई स्वरोजगार बनाइने भएको हो। समृद्धि आयोजनाका सहजकर्ता डोलराज भुषालका अनुसार दोस्रो प्राथमिकतामा राखी लिची, किवी, आलु, तोरी, जुट, खुर्सानी, लसुन, प्याज, सुन्तला र जुनार, बाँस उत्पादनमा लगाइने भएको छ।

उद्योगका लागि विकासका सम्भावना बोकेका क्षेत्रका युवायुवतीलाई व्यावसायिक तालिम तथा प्रशिक्षण गर्नुको साथै वित्तीय समावेशीकरण, प्रवासीहरुको सीप र स्रोतहरुको परिचालन गर्ने गरी स्वरोजगार बनाउने भुसालको दाबी छ।

शुक्रबार समृद्धिले जिल्लास्तरीय आयोजना प्रारम्भ गोष्ठीमा गरिब, आप्रवासी र वैदेशिक रोजगारबाट स्वदेश फर्किएका आप्रवासी घरपरिवारलाई कृषि तथा गैरकृषि क्षेत्रमा घरेलु, लघु तथा साना उद्यम व्यवसायहरुको स्थापना तथा विस्तार गरी दिगो आम्दानीको स्रोत दिलाउने उद्देश्यले समृद्धिले सहयोग गर्ने बताइएको हो।

कर्यक्रमले २ लाख ४४ हजार ८ सय स्वदेश तथा विदेशमा बचत तथा लगानी क्षमता अभिवृद्धिसम्बन्धी वित्तीय शिक्षा उपलब्ध गराउने तयारी गरिएको बताइएको छ। कार्यक्रमले १ लाख ७९ हजार ६ सय ६० प्रत्यक्ष लाभग्राहीलाई सेवा दिनेछ भने जसमध्ये ६० हजार ग्रामीण उद्यमको विस्तार गरिने भएको कार्यक्रममा बताइएको छ। गोष्ठीमा विगतका दिनहरुमा केही गैरसरकारी संस्थाहरुले तालिम, गोष्ठीमा मात्र सीमित भएर उपलब्धि शून्य रहेकोले यस संस्थाले त्यस्तो नहोस् भन्दै खुला छलफलमा उपस्थित सरोकारवाला तथा जनप्रतिनिधिहरुले गुनासो गरेका थिए।

ग्रामीण घरेलु तथा साना उद्यम प्रवद्र्धन, उत्पादनमूलक लगानी र संस्थागत सहयोग तथा आयोजना व्यवस्थापन गरी तीन चरणमा समृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। नेपाल सरकार, उद्योग मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको सम्झौतामा कोसी र जनकपुर करिडोरका १६ जिल्लामा लागू हुने भएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगवतले बताए।      

कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका संयोजक खड्गबहादुर परियारले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) उदयपुरमा परिवर्तन ल्याउने बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.