|
पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञवालीलाई सम्मान गर्दै।

पोखरा : पोखरा क्षेत्रका सम्पादक तथा समाचार संयोजकहरुका लागि तीन दिने अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। सूचना विभागको आयोजना नेपाल पत्रकार महासंघ कास्कीका संयोजनमा शुक्रबारदेखि सुरु भएको कार्यक्रममा पोखराका सञ्चार माध्यमका सम्पादक तथा समाचार संयोजकहरु सहभागी छन्।

पत्रकारको विकास र शान्ति सुरक्षा कायम गर्दै पत्रकारको नीति तथा कार्यक्रम बनाउँदा समेत थप टेवा पुग्ने उद्देश्यले विभागले पोखरामा अभिमुखीकरण आयोजना गरेको सूचना विभागका महानिर्देशक वीरबहादुर राईले जानकारी दिए।

अभिमुखीकरणमा पोखरा क्षेत्रका विभिन्न सञ्चार माध्यममा कार्यरत सम्पादक तथा समाचार संयोजक गरी ३५ जना सहभागी भएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए। पत्रकारितालाई अझ बढी जिम्मेवार बनाउन अभिमुखीकरणले मद्दत गर्ने उनले बताए। अभिमुखीकरणको स्रोत व्यक्तिमा पत्रकार डा. सुरेश आचार्य र शरदचन्द्र वस्ती रहेका छन्।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीलाई सम्मान गरिएको छ। महासंघको २५ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा पत्रकार महासंघ कास्कीले उनको कार्यकालको सफलताको कामना सहित सम्मान गरेको हो। ज्ञवालीलाई सूचना विभागका महानिर्देशक वीरबहादुर राई र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सम्मान गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.