|

विराटनगर : आपूर्तिमन्त्री शिवकुमार मण्डलले बजार अनुगमनका लागि राजस्व विभागले आवश्यक सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मण्डलले संयुक्त अनुगमन गर्ने आपूर्ति मन्त्रालयको प्रस्तावमा राजस्व विभागले नमानेको बताए। ‘बजार अनुगमनका लागि संयुक्त टोली बनाएर जाऔं, सत्यतथ्य के हो दुवै मन्त्रालयलाई थाह हुन्छ भनेर आपूर्ति मन्त्रालयले प्रस्ताव राख्यो,’ मन्त्री मण्डलले भने, ‘राजस्व विभागले त्यति चासो दिएन।’

आपूर्ति मन्त्रालयको मातहतमा रहेको कानुनी व्यवस्थाअनुसार नै गरिएको अनुगमनप्रति अर्थमन्त्रालय वा अन्य कोहीले असन्तुष्ट हुनुपर्ने कारण नरहेको बताए। ‘आपूर्ति मन्त्रालयले कानुनअनुसार नै अनुगमन गरेको हो,’ मन्त्री मण्डलले भने, ‘कानुनले दिएको अधिकारभन्दा बाहिर गएर अनुगमन गरेको होइन।’

राजधानीका विभिन्न पसल अनुगमनका क्रममा जनता र राज्यलाई ठगी गरेको पाइएकाले सिलबन्दी गरेको जानकारी दिँदै उनले राज्य र जनता ठग्नेलाई कालोबजारी ऐनअन्तर्गत हदैसम्मको कारबाही गरिने बताए। 

अर्को प्रसंगमा मन्त्री मण्डलले आयल निगमका प्रमुख गोपाल खड्काले गरेको अनियमितताको विषयमा मन्त्रलायले आवश्यक अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गर्ने बताए। मन्त्रालयले प्रतिवेदन दिइनसकेको कारण अहिलेनै मन्त्री अनुसन्धानबाट भाग्यो भनेर आत्तिन नहुने बताउँदै मण्डलले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.