|

इलाम : गाउँसभाको उद्‍घाटन सत्रको ब्यानरमा जनप्रतिनिधिहरुले कांग्रेस नेता स्वर्गीय वीपी कोइरालाको फोटो राखेपछि त्यसको विरोधमा नेकपा एमालेले गाउँसभा नै अवरुद्ध गर्नेसम्मको चेतावनी दिएको छ।

शनिबार बसेको नेकपा एमाले गाउँपालिका संसदीय दलको बैठकले अध्यक्षले त्रुटि नसच्याएसम्म गाउँसभा नै अवरुद्ध गर्ने निर्णय गरेको छ। एमालेले गाउँपालिका अध्यक्ष समशेर राईले नियोजित रूपमा आफ्नो दलका नेताको फोटो राखेको आरोप लगाएकाे छ। 

'अध्यक्षले जनताको मतबाट जितेपछि सम्पूर्ण जनताको साझा जनप्रतिनिधि हुँ भन्ने हेक्का नराखेर गाउँसभाको मूल ब्यानर बनाउने क्रममा गम्भीर त्रुटि गरेको' एमालेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। एमाले रोङ गाउँपालिकाको संसदीय दलका नेता युवराज राईले हस्ताक्षर गरेको विज्ञप्तिमा गाउँका सम्पूर्ण जनप्रतिनिधिको भेला बोलाइ आत्मआलोचना गर्न र ब्यानर सच्याउन अध्यक्षसँग माग गरिएको छ। 

रोङ गाँउपालिकाको शुक्रबार भएको प्रथम गाँउसभा बैठकको ब्यानरको पृष्ठभुमिमा वीपी कोइरालाको तस्विर राखिएको थियो। बैठकमा एमालेका प्रमुख सचेतक महानन्द अधिकारीले ब्यानरमा भएको त्रुटीबारे कुरा राखेपछि बैठक स्थगित भएको थियो।

‘शनिबारको बोल्ने पालोमा कुरा उठाएपछि अध्यक्षले बैठक २७ गतेसम्मको लागि स्थगन गरेका छन,’ संसदिय दलका नेता राईले भने ‘आइतबार बजेट भाषणको कार्यतालिका छ। त्यसभन्दा अघि पुनः व्यानरको विषयमा कुरा राख्छौ । अध्यक्षले त्रुटी स्विकार नगरे सभा नै अवरुद्ध हुन सक्छ।’

रोङको ६ वटा वडाका ३५ जन प्रतिनिधिमध्ये अध्यक्ष शम्शेर राई र उपाध्यक्ष चन्द्रकला राईसहित नेपाली काँग्रेसबाट २१ र एमालेले १४ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

गाँउपालिका अध्यक्ष समशेर राईले कमजोरी भएको स्विकार गरेका छन्। तर दल विशेषको नेता भएका कारण फोटो राखेको भन्ने विपक्षीको आरोपको खण्डन गरेका छन्। 

उनले प्रथम जननिर्वाचिन प्रथम प्रधानमन्त्री भएकाले वीपीको तस्विर राखिएको प्रतिक्रिया दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.