|

धनकुटा : पूर्वका १४ जिल्लामा असोज १ गतेदेखि सवारीसाधनमा हर्न बजाउन नपाइने भएको छ। पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले स्थानीय प्रशासनको निर्णयमा एक नम्बर प्रदेशलाई ‘हर्न निषेधित क्षेत्र’ बनाउन लागेको हो।

एक नम्बर प्रदेशका धनकुटासहित तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सुनसरी, मोरङ र झापामा यो नियम लागु हुनेछ। पूर्वक्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालले भदौ ३१ सम्म सचेतनामूलक अभियान सञ्चालन गरेर असोज १ देखि १४ वटै जिल्लामा हर्न निषेध अभियान कार्यान्वयन गर्न लागेको जानकारी दिए। 

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले १४ वटै जिल्लाका ट्राफिक प्रहरी कार्यालयलाई यो नियम लागु गर्न पत्राचार गरिसकेको छ। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले पत्राचार गरेपछि जिल्ला–जिल्लामा सचेतनामूलक अभियान सञ्चालन भइरहेको छ। 

यातायात व्यवस्था विभाग, सडक विभाग, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त निर्णयमा हर्न निषेधको तयारी भएको हो। 
सामान्य अवस्थामा पनि चालकले हर्न बजाएर ध्वनि प्रदूषण गर्ने गरेकाले निषेधित क्षेत्र बनाउने निर्णय गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए।

‘उच्च सवारी चाप नियन्त्रण भएन भने अझै उच्च ध्वनि प्रदूषण हुन्छ,’ उनले भने, ‘ध्वनि प्रदूषण कम गर्न हर्न निषेधको नियम लागू गर्न लागिएको हो।’ सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै नयाँ नियम लागू गर्न लागेको उनको भनाइ छ। ध्वनि प्रदूषणले श्रवणशक्ति कमजोर पार्ने भएकाले स्वास्थ्यलाई मध्यनजर गरेर हर्न निषेधको नियम लागू गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए।

हर्न निषेधका लागि यातायात व्यवसायी, सवारी चालक लगायतलाई जानकारी गराउने काम जारी राखिएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख खड्काले जानकारी दिए। यसअघि पूर्वमा पहिलो पटक इटहरी बजार क्षेत्रमा ०७४ साउन १९ देखि हर्न निषेध गरिएको छ।

यस्तो अवस्थामा मात्र पाइन्छ, हर्न बजाउन  
पहिलो चरणमा हर्न निषेध नियम कार्यान्वयन खुकुलो बनाइएको छ। नियम लागू भएपछि पहाडी जिल्लाका सडकको ठूलो वा अप्ठ्यारो घुम्ती, सवारी ठोक्किनै लागेको र यात्रु किचिने अवस्था भएमा मात्र हर्न बजाउन पाइनेछ। यो बाहेकको अवस्थामा हर्न बजाए पहिलो पटकका लागि पाँच सय, त्यसपछि क्रमशः एक हजार, १५ सय जरिवाना तिर्नुपर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.