|

दमक : गत साउनको अन्तिम साता वर्षासँगै आएको हावाहुरीले झापामा धेरै क्षति पुर्‍यायो। यसबाट झापाको दमकस्थित भुटानी शरणार्थी शिविर पनि अछुतो रहेन। 

हम्सेदुम्से सामुदायिक वनको बिचमा रहेको शिविरमा हावाहुरीले धेरै रुख लडायो।  शरणार्थीका ११  वटा छाप्रा भत्किए।  क्याम्प व्यवस्थापन समितिका अनुसार ३० घरमा आंशिक क्षति पुगेको छ।ढलेका रुखले किचेर छाप्रो भत्किएपछि विस्थापित भएका शरणार्थी अझै घर फर्किन सकेका छैनन्। ढलेका रुख हटाउन वन कार्यालयले स्वीकृति नदिँदा विस्थापितहरू अझै अरुकै शरणमा बस्नु पर्ने अवस्था छ।

रुख समयमा नहटाएको र घर निर्माणको लागि उपयुक्त स्थान नभएकोल पीडित परिवारहमध्ये धेरै अझै पनि अरुको शरण लिएर बस्न बाध्य छन्। ‘घर थिचेको रुख उठाइएको छैन, बेल्डाँगी– ३ ई–१ छाप्रो नम्बर ३८ की मीरा खड्का क्षेत्रीले भनिन्, ‘रुख उठाउँदा केही आफ्नो पुरिएको सामान त निकाल्न पाउँथ्यौँ ।’ घर थिच्ने रुख नउठाउँदा अरुको शरण लिन बाध्य भएको उनले बताइन्।‘एलडब्लुएफ’ले बाँस उपलब्ध गराए पनि घर बनाउने ठाउँ अभाव भएको उनको गुनासो छ।

रुख हटाउन पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको क्याम्पका सचिव टीकाराम रसाइलीले बताए। ‘धेरै पटक युएनएचसीआर र प्रमुख जिल्ला अधिकारीलाई खबर गरयौं’ उनले भने, ‘अहिलेसम्म काम भएको छैन।’ वन कार्यालयले ढलेका रुखहरुको पटक पटक लगत संकलन गरेपनि नहटाएको उनले बताए।

घर रुखले किचेर लथालिङ्ग भएपछि करिब ३० घर परिवार अरुको शरणमा बसिरहेको शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज राईले बताए। शिविरभित्र अझै पनि धेरै रुखहरु जोखिममा रहेको र सुरक्षित स्थान नपाएका कारण पीडित शरणार्थीहरुले घर बनाउन नसकेको उनले बताए। ‘अझै पनि धेरै छाप्रा जोखिममा छन्', उनले भने, नढलेका रुखहरूबाट हाम्रो ज्यान  खतरामा छ। रुख ढाल्न र हाँगा छिमोल्न सम्बन्धित निकायको ध्यान जानुपर्छ।’

गत साउन अन्तिम साता परेको पानी र हावाहुरीले शरणार्थी बसोबास गरेको क्षेत्रमा मात्र ३ दर्जनभन्दा बढी रुख ढलेका थिए। अगाडि नै सतर्कता अपनाइएका कारण मानवीय क्षति नभएको राईको भनाइ छ। यसअघि गत असार २७ गते रुख लडेर किच्दा ७३ वर्षीय जयबहादुर राईको मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.