|

बैतडी : प्रदेश नम्बर ७ को पहाडी जिल्ला बैतडीमा अवस्थित पाटन विमानस्थल स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ। विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित कटिङको काम भइरहेको हो।

झण्डै २ दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरी सुचारु गर्ने उद्देश्यले सरकारले बजेट विनियोजन गरेपछि काम अघि बढेको हो। गत मंसिरमा विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारिएको थियो। सोही अनुसार विमानस्थललाई स्तरोन्नति गरी सुचारु गराउन ठेक्का आह्वान गरी काम सुरु भएको हो।

१३ करोडको लागतमा कालोपत्रे

८० मिटर लम्बाई तथा २० मिटर चौडाई क्षेत्रफलमा फैलिएको विमानस्थल करिब १३ करोडको लागतमा कालोपत्रे गर्न लागिएको नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श्रेष्ठले बताइन्। ‘यो विमानस्थलमा टुइनेटर विमान अवतरण गर्ने सक्ने र दुई विमान पार्किङ गर्न सकिने छ,’ उनले भनिन्, ‘लम्बाई पर्याप्त भए पनि चौडाई अलि कम छ।’

गाल्वा च्याङ्मिला जगदम्बा जेभी निर्माण कम्पनीले विमानस्थललाई कालोपत्रेका साथै तारबार गर्ने कम्पनीका प्रतिनिधि दानसिंह रावलले बताए। ‘अहिले कटिङको काम भइरहेको छ,’ उनले भने, ‘यसपछि फिलिङ गरेर विमानस्थललाई कालोपत्रे गरिनेछ।’ 

लगातारको वर्षाका कारण स्तरोन्नतिको काम २ महिना ढिला भएको कम्पनीका प्रतिनिधि रावलले बताए। कम्पनीले २०७५ सालको असार मसान्तमै कालोपत्रे गरिसक्ने दाबी गरेको छ। समयमै सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको कम्पनीका प्राविधिक पुरनदेव रावलको भनाई छ। ‘हामीलाई काम गर्न वर्षा बाधक बन्दा दुई महिला लस भएको छ,’ उनले भने, अब निर्धारित समयमै काम सक्ने गरी बढी स्रोतसाधान र जनशक्ति प्रयोग भइरहेको छ। 

स्थानियमा छायो खुसी

लामो समयदेखि बन्द रहेको विमानस्थल सुचारु गर्ने हिसाबले काम सुरु भएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। बन्द रहेको विमानस्थल सञ्चालनमा आए विकासले फड्का मार्ने उनीहरुको विश्वास छ। ‘विमानस्थल सञ्चालनमा आए यस क्षेत्रको विकासले फड्को मार्छ,’ भण्डारीले भने। विमानस्थलले जिल्लाको पर्यटन प्रबद्र्धनमा पनि सघाउने छ। पाटन देशका १० नमूना शहरमध्ये एक शहर भएकाले पाटन विमानस्थल सञ्चालनमा आए धेरै सजिलो हुने स्थानीय बताउँछन्।

अन्य दुई विमानस्थल पनि स्तरोन्नतिमा

बैतडीको पाटनसँगै डोटीको दिपायल र अछामको साँफेबगर विमानस्थलको धवनमार्ग पनि कालोपत्रे भइरहेको छ । गतवर्ष नै विमानस्थल कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको साँफेबगर र दिपायल विमानस्थलमा अहिले धवनमार्ग कालोपत्रे गर्न कटिङको काम चलिरहेको छ। 

अछामको साँफेबगर विमानस्थलको निर्माण २०७४ को फागुनभित्र सक्ने गरी ठेक्का सम्झौता भएको योजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर योगेन्द्र शर्माले बताए। विमानस्थलमा माटो भर्ने काम सकिएको र गिट्टी बिछ्याएर कालोपत्रेको काम सुरु हुने उनले बताए। 

साँफेबगर विमानस्थल नजिकै रहेको बुढीगंगा नदीको कटानको खतरामा रहेकाले प्राधिकरणले बुढीगंगा नदी नियन्त्रणका लागि तटबन्ध पनि बनाइरहेका छन्। विमानस्थल कालोपत्रे र नदी नियन्त्रणका लागि अमर कन्स्ट्रक्सनले ११ करोडमा ठेक्का पाएको हो भने त्यसमध्ये २ करोड नदी नियन्त्रणका लागि छुट्याइएको छ।

यस्तै डोटीको दिपायलमा रहेको दिपायल विमानस्थल पनि यसै वर्षको माघभित्र कालोपत्रे गर्ने गरी गत आर्थिक वर्षमै ठेक्का लगाइएको थियो। गत वर्षको फागुनमा सपना गल्वा जेभीले पाँच करोड ८४ लाखमा विमानस्थल कालोपत्रे गर्न ठेक्का पाएको थियो । योजनाका प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर बालकृष्ण रेग्मीले निर्माणको २५ प्रतिशत काम सकिएको बताएका छन्।

प्रदेश नम्बर सातका अधिकांश विमानस्थल बन्द अवस्थामा छन्। बन्द विमानस्थल सञ्चालनका लागि स्थानीयहरुले पटक–पटक आन्दोलनसमेत गरिसकेका छन्। अहिले कञ्चनपुरको माझगाउँ विमानस्थल सञ्चालनका लागि स्थानीयले दबाबमुलक आन्दोलन थालेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.