|

धनकुटा : मुलुकका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा खाद्यान्नमा तराईका जिल्लाको भर पर्नुपर्ने बाध्यता छ। तर, पूर्वी पहाडी जिल्ला धनकुटा खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल भएको छ।

केही वर्ष अघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले अपुग हुने धनकुटा यतिबेला भने बचतको अवस्थामा पुगेको हो। खाद्यबालीअन्तर्गत पर्ने धान, मकै, कोदो र गहुँ लगायतका बालीको पछिल्लो समयमा उत्पादन बढेसँगै धनकुटा खाद्यान्नमा आत्मनिर्भर भई बचतको अवस्थामा पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

मौसमी तालमेत, प्रविधि प्याकेजको प्रयोग, मलखाद, उन्नत बीउ, यान्त्रीकरण तथा कृषकको सक्रियताको कारण धनकुटा खाद्यान्न बचतको अवस्थामा पुगेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत सूर्यप्रसाद सापकोटाले बताए।

हाल धनकुटामा कुल ९६ हजार ४ सय १३ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ। जसमध्ये ३९ प्रतिशत उपभोग्य खपत, ५५ बिउ, भण्डारण क्षति, मदिराजन्य उत्पादन तथा पशुलाई आहार आदीका रुपमा प्रयोग र बाँकी ६ प्रतिशत अर्थात ५ हजार ९ सय ९० मेट्रिक टन वचत भइरहेको जिल्ला कृषि विकास कार्यालय धनकुुटाका प्रमुख भरतप्रसाद बिडारीले बताए।

जिल्लाको कुल ३६ हजार ६ सय ५७ हेक्टर क्षेत्रफलमा खाद्यान्न बालीको खेती हुने गरेकोमा सबैभन्दा बढी १८ हजार २ सय १२ हेक्टर क्षेत्रफलबाट ५४ हजार ३ सय ५६ मेट्रिक टन मकै उत्पादन हुने गरेको छ।

त्यस्तै, ९ हजार २ सय ४५ हेक्टर क्षेत्रफलवाट ३० हजार ८ सय २० मेट्रिक टन धान, ७ हजार ८ सय हेक्टरवाट ८ हजार ३ सय ४६ मेट्रिक टन कोदो तथा १४ सय हेक्टर क्षेत्रफलवाट २ हजार ८ सय ९१ मेट्रिक टन गहुँ उत्पादन हुने गरेको छ। धनकुटामा ४० हजार ७ सय २३ हेक्टर खेती योग्य जमिन भए पनि ९० प्रतिशत क्षेत्रफलमा मात्र खाद्य बालीको खेती हुने गरेको छ।

धनकुटाका महालक्ष्मी नगरपालिकाको लेगुवा मारेककटहरे, चानुवा र जीतपुर, छथर जोरपाटी गाउँपालिकाको तांखुवा, पाख्रीवास नगरपालिकाको पाख्रीवास, सान्ने, घोर्लिखर्क र चुङवाङ, धनकुटा नगरपालिकाको धनकुटा र भीरगाउँ तथा तमोर र अरुण नदीको वेशी फाँटमा बढी मात्रामा खाद्यवालीको खेती र उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय धनकुुटाका प्रमुख बिडारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.