|

लहान : आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सिरहा नगरपालिकाबाट ३ जना चिकित्सकले एउटै पदमा प्रतिस्पर्धा गर्दैछन्। जिल्ला सदरमुकामसमेत रहेको यस नगरपालिकामा नेपाली कांग्रेसबाट डा. सुभाषचन्द्र यादव, नेकपा एमालेबाट डा. नविन यादव र नयाँ शक्ति पार्टी, नेपालबाट डा. दिलिप सदाय चुनावी मैदानमा छन्।

कांग्रेस उम्मेदवार सुभाष पार्टीकी केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव तथा पूर्व जिल्ला सभापति चन्द्रनारायण यादवका छोरा हुन्। पूर्व सभापति यादवको सक्रिय राजनीतिमै रहेका बेला २०५७ सालमा हत्या भएको थियो। एमाले उम्मेदवार नविन भने बहालवाला सांसद हेमनारायण यादवका छोरा हुन्।

चिकित्सा पेसाबाट राजनीतिमा होमिएका डा. यादवद्वयको पारिवारिक पृष्ठभूमि राजनीति नै हो। डा. सदाय भने मुसहर समुदायका हुन्। उनको पारिवारिक पृष्ठभूमि तराईका अरु सामान्य दलित समुदायको जस्तै छ। उम्मेदवार बन्नुअघि उनी सिरहा जिल्ला अस्पतालमा कार्यरत थिए।

३ जना डाक्टर एकआपसमा भिडेकाले पनि सिरहामा चुनावको छुट्टै रौनक छ। पार्टीको सांगठनिक आधार बलियो भएकाले यादवद्वयलाई प्रतिस्पर्धामा अघि मानिएको छ। दलित समुदायको उल्लेख्य बसोबास रहेकाले डा. सदायलाई पनि सहानुभूतिको मत आउनसक्छ। यद्यपी उनको पार्टीको सांगठनिक उपस्थिति भने कमजोर छ।

कांग्रेस उम्मेदवार सुभाष महासमिति सदस्य हुन् भने एमेलाका तर्फबाट उम्मेदवारी दिएका नविन २०७० सालको संविधानसभा निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट सिरहा क्षेत्र नं. ३ मा उम्मेदवारी दिएर पराजित भएका व्यक्ति हुन्। उनी संविधानसभा चुनावलगत्तै माओवादीमा आबद्ध भएर हालैमात्र एमालेमा प्रवेश गरेका हुन्। सिरहामा उनको क्लिनिक छ।

जिल्ला सदरमुकाम भएकाले माओवादी केन्द्रले वर्षौदेखि पूर्णकालीन राजनीतिमा रहेका युवा नेता महेश यादवलाई प्रमुख पदको उम्मेदवार बनाएको छ। माओवादीको पनि यहाँ संगठन बलियै रहेकाले उनलाई दाबेदार मानिएको छ। उता अशेश्वर यादवलाई उम्मेदवार बनाएको संघीय समाजवादी फोरम नेपालले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेको छ।

सिरहा नगरपालिका प्रमुखका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राजपा, नयाँ शक्ति, नेकपा माले लगायतका दलका तर्फबाट नौ र स्वतन्त्र नौ गरी १८ जनाले उम्मेदवारी दिएको सिरहाका मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए।

बस्नेतकाअनुसार सिरहा नगरपालिकाको उपप्रमुख १०, वडाध्यक्ष १ सय २९, खुला सदस्य २ सय एक, महिला सदस्य ९९ र दलित महिला सदस्यमा ९३ जनासहित ५ सय ५० जना उम्मेदवारहरु चुनावी मैदानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.