|

यतिबेला उत्तर कोरिया चर्चाको शिखरमा छ। अमेरिकाको लहैलहैमा विश्वका केही मुलुकहरू उत्तर कोरियाको विनाश गर्ने मूर्खतामा उत्रिएका छन्। उत्तर कोरियाले पनि ‘अमेरिकी साम्राज्यवादलाई आफ्नो सबैभन्दा ठूलो शत्रु मानेको छ। यसको कारण पनि छ। एउटा कोरियालाई दुइटा कोरिया बनाउने, दक्षिण कोरियामा पौने शताब्दीदेखि उपनिवेश तहको शासन चलाउने, उत्तर कोरियालाई उभिन पनि नदिने भनेको ‘अमेरिकी साम्राज्यवाद’ नै हो भन्ने बुझाइ कोरियालीहरूमा छ। 

आफ्नो देशमाथि कुनै पनि बेला अमेरिकाले आणविक आक्रमण गर्छ भन्ने आशंका होइन, विश्वासमा बाँचेका छन् उत्तर कोरियालीहरू। त्यसै हुनाले आफ्नो सुरक्षाका लागि प्रतिरक्षात्मक प्रणाली विकास गर्नु हाम्रो दायित्व होे भन्ने टुंगोमा बाँचेका छन् तिनीहरू।

इतिहासको अध्ययन गर्दा उत्तर कोरियालीहरूको सोच सही छ। दोस्रो विश्वयुद्धको समाप्तिपछि अकारण अमेरिकाले कोरियामाथि आक्रमण गर्‍यो। चार वर्षको भयंकर युद्धमा कोरियाको उत्तरी भागमा ठूलो विनाश भयो। चार वर्षपछि एउटा कोरियालाई दुइटा बनाइयो– उत्तर र दक्षिण कोरिया। यो सिमाना कोर्ने काम गरेको थियो– अमेरिकाको नेतृत्वमा संयुक्त राष्ट्रसंघले। सन् १९५४ देखि नै कोरियालीहरू युद्धको त्रासमा बाँचेका छन्। ६५ वर्ष लामो युद्धको त्रासमा बाँचेको जीवन! कल्पना गर्न सक्छ कुनै नेपालीले ? सक्दैन। अमेरिकाको नेतृत्वमा संयुक्त राष्ट्रसंघले लगाएको जस्तो नाकाबन्दी भोग्नुपर्‍यो भने नेपालमा हरेक वर्ष एक लाखभन्दा बढीले आत्महत्या गर्नेछन्।

उत्तर कोरियामा मैले कुनै बेन्ज वा लेक्सस कारको कल्पना गरेको थिइनँ। रुसी गाडीहरू नै होलान् सडकमा गुडेका। मैले चढेको गाडी पनि रुसी नै थियो। दुई घण्टा त्यहाँ बसियो। एउटा गाउँले रेल स्टेशन जस्तो हुनुपथ्र्यो, त्यो त्यस्तै थियो। कुनै विशिष्ट अतिथि कक्ष त्यहाँ थिएन। सामान्य यात्रु कक्षमै म पनि बसेँ।

सन् १९९६ मा पुगेको थिएँ म उत्तर कोरिया। उनीहरूले मलाई दक्षिणी सीमा पानमुन्जोम, पश्चिमी सीमाको समुद्रमा बाँध बाँधेर गरिएको नुनखेती, पूर्वी सीमामा अमेरिकी सीमा सैनिकहरूले गरेको प्रचार युद्ध देखाएका थिए। त्यहाँ लेखिएको थियो ‘ए खान नपाउने गरिब हो, तिमीहरू हामीतिर आऊ। हामी तिमीलाई एउटा घर, एउटी स्वास्नी र एउटा मोटर दिन्छौँ।’ दोभाषेले मसँग भनेका थिए, ‘हाम्रो अपमान गर्ने अधिकार अमेरिकी साम्राज्यवादलाई कसले दियो?’ अनौठो सिमाना देखेको थिएँ मैले त्यतिबेला, खेतका डिलमा राइफलहरू रोपिएका थिए अनि किसानहरू खेतमा काम गरिरहेका थिए। र पनि कोरियामा मैले जीवन भेटेको थिएँ।

हाम्रो भ्रमण टोलीलाई प्योङ्याङको एउटा रिजोर्टमा राखिएको थियो। ‘नेपाल कम्युनिस्ट पार्टीको सूचना, संचार तथा जलस्रोतमन्त्री भएकाले तपाईं जहाँ जान चाहनुहुन्छ, त्यहीँ लगिदिनु र हाम्रो सुन्दर कोरिया देखाइदिनू भन्ने आदेश छ’, दोभाषेले मलाई भनेका थिए। दिल्ली र प्यारिसको कोरियाली दूतावासका प्रथम सचिव भएर काम गरेका ती दोभाषे पनि कोरियाबाहिरका कुपमण्डुकले अनुमान गर्नेजस्ता मठ्ठु थिएनन्।

उनको कुरा सुनेपछि मैले गाउँ जान चाहेँ। उनले हामीलाई ६८ घर भएको एउटा गाउँमा लगे र भने, ‘बुर्जुवा देशको मन्त्री भएको हुनाले तपाईंलाई हाम्रो गाउँले पाहुना घरमा खान मन लाग्दैन होला भनेर हामीले दिउँसोको खानाको व्यवस्था नजिकैको बजारको होटेलमा गरेका छौँ।’ तर गाउँ हाम्रोभन्दा सफा थियो, साना एक तले घरहरू, पानी र बिजुलीको राम्रो व्यवस्था, एउटा किनारमा स्वास्थ्य चौकी र विद्यालयको व्यवस्था गरिएको त्यस्तो गाउँ अहिले पनि हामी नेपालीको सपनाको गाउँ हुन्छ। पीच बाटोले छोएको, स्वास्थ्य चौकी, विद्यालय, पर्याप्त बिजुली र खाने पानी ! अनि के चाहियो? झुरुमुट्ट गाउँ, वरिपरि गहुँ खेती। 

‘रेलबाट जानुपर्छ, तर महामहिमलाई इच्छा छ भने लुम्फिनी पार्क लगिदिनू भन्ने आदेश आएको छ मलाई’, बेलुका बिदा हुने बेलामा दोभाषेले भने।

उत्तर कोरियामा लुम्बिनी पार्क! म छक्क पर्नु पनि स्वाभाविक थियो। ‘मैले लु जाऊँ’ भनेँ।

हामी बाटो लाग्यौँ। रेल भारतको भन्दा सफा थियो, भीडभाड पनि थिएन। अकस्मात एउटा गाउँले स्टेशनमा रेल रोकियो। निकै बेर रेल हल्लिन नमानेपछि मैले दोभाषेलाई रेल नचल्नुको कारण सोधेँ। उसले भन्यो, ‘रातभरिको पानीले अगाडिको खोलो बढेछ। पुल सुरक्षित छैन रे! त्यसैले तपाईंलाई यहीँ आराम गराएर कारबाट लुम्फिनी पार्क लैजाने व्यवस्था हुँदै छ।’

उत्तर कोरियामा मैले कुनै बेन्ज वा लेक्सस कारको कल्पना गरेको थिइनँ। रुसी गाडीहरू नै होलान् सडकमा गुडेका। मैले चढेको गाडी पनि रुसी नै थियो। दुई घण्टा त्यहाँ बसियो। एउटा गाउँले रेल स्टेशन जस्तो हुनुपथ्र्यो, त्यो त्यस्तै थियो। कुनै विशिष्ट अतिथि कक्ष त्यहाँ थिएन। सामान्य यात्रु कक्षमै म पनि बसेँ।

त्यस्तो कुनै सुरक्षा व्यवस्था पनि थिएन। आएकै दिनदेखि मसँग रहेका दोभाषे र सुरक्षा अधिकृत नै मेरा साथी थिए। मैले शौच गर्ने कुरा गरेँ। उनीहरूले अप्ठ्यारो माने। तर गाउँले स्टेशनको सन्दर्भमा शौचालय राम्रै थियो। मेरो तुलनाको आधार भारतकै रेल थियो।

एक कप कफी र थोरै बिस्कुट खाएर हामीले त्यो दुई घण्टा बितायौँ। दुई घण्टापछि आएको कालो कारमा हामी बाटो लाग्यौँ। ‘हामी आज लुम्फिनी पार्क पुग्न सक्दैनौँ। आज हामीले होटलमा बास बस्नुपर्छ’, दोभाषेको कुराले मलाई छोएन भन्दा पनि हुन्छ। 

बिहानको ब्रेकफास्ट होटलमै लिएर हामी ‘लुम्फिनी पार्क’तिर लाग्यौँ। एउटी महिला थिइन् परिचारिका। ‘यिनले राम्रो अंग्रेजीमा तपाईंलाई बुद्ध कथा बताउनेछन्। आज मलाई फुर्सद मिल्यो’, दोभाषेले भन्यो।

नभन्दै तिनले मलाई बुद्ध कथा बताइन्। सायद बीचमा हाम्रा दोभाषेले तिनलाई म नेपाली हुँ भनेर जानकारी गराए हुनन्। एकछिनपछि साह्रै लाज मान्दै तिनले भनिन्, ‘तपाईं नेपाली भएको मलाई थाहा थिएन। हामीले जापानी भिक्षुबाट सुनेको बुद्ध कथा हो यो। गल्ती भए माफ गर्नु होला।’

तर तिनले कुनै गल्ती गरेकी थिइनन्। थोरथार वर्गीय दृष्टिकोण राखेकी थिइन्। हाम्रो देशका बुद्धको बारेमा यति राम्रो ज्ञान राखेकोमा मैले तिनलाई धन्यवाद दिएँ।

यस्तो कोरियालाई किन नाकाबन्दी लगाउँछ संयुक्त राष्ट्रसंघ। अमेरिकाले जे गरे पनि हुने, अनि उत्तर कोरियाले केही गर्न नपाउने यो कस्तो न्याय प्रणाली हो संयुक्त राष्ट्रसंघको! यदि राष्ट्रसंघ अहिले पनि विश्वयुद्धका विजेताहरूको हित गर्ने संगठन हो भने हामी जस्ताका लागि त्यसको पनि आयु पुग्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.