|

बागलुङः नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अतिवादी सोचले मुलुक विखण्डन गर्ने बताएका छन्। 

माओवादी केन्द्र नगर संगठन समिति बागलुङले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै गुरुङले नेपाल विविधतापूर्ण मुलुक भएकाले सबै पक्षको एकताविना बलियो राष्ट्र बन्न नसक्ने बताए । ‘नेपाल बहुजातीय, बुहुसाँस्कृतिक, बहुधार्मिक तथा बहुभाषिक मुलुक हो’, उनले भने, ‘अतिवादी सोचले हाम्रो जस्तो विविधता भएको देशलाई एकताबद्ध गर्दैन, झन् द्वन्द्व बढ्छ, अराजकताले विखण्डन निम्त्याउँछ।’

माओवादीले हिमाल, पहाड र मधेसका भावनालाई समेटेर एकताबद्ध मुलुक बनाउन चाहेको उनले बताए। ‘अहिले पहाड र मधेस दुवैतिर देखिएको अतिवादले कसैको हित गर्दैन’, गुरुङले भने, ‘सबै विविधतालाई जोड्ने बृहत राष्ट्रिय एकता आवश्यक छ।’ 

राजनीतिक अस्थिरताको अन्त्य गर्दै नेपाली राष्ट्रियतालाई बलियो बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुको विकल्प नरहेको उनको तर्क थियो। 

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको कार्यपालिका र पूर्ण समानुपातिक निर्वाचन प्रणालीले अहिले देखिएका समस्याको हल गर्छ’, उनले भने, ‘यसले एकातिर कम्तिमा पाँच वर्ष एउटै सरकारले देश चलाउँछ, अर्को जनसंख्याका आधारमा सबैको प्रतिनिधित्व नीति बनाउने तहमै भएपछि कसैलाई पनि विभेदको महसुस हुँदैन।’

माओवादी केन्द्रका प्रदेश नम्बर– ४ का इञ्चार्जसमेत रहेका गुरुङले निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाउनेबित्तिकै करोडौँ रुपैयाँ खर्च गरेर चुनाव लड्नुपर्ने र आफ्नो लगानी उठाउन अनियमितता गरेरै भए पनि पैसा कमाउनै पर्ने बाध्यताको अन्त्य हुने भएकाले भ्रष्टाचारसमेत न्यूनीकरण हुने धारणा राखे।

‘हामीले यी दुई मुद्दा पहिलेदेखि नै उठाउँदै आएका हौँ, नयाँ संविधानमा समेट्न सकिएन’, उनले भने, ‘मंसिरमा हुने निर्वाचनमै त यो संभव छैन, तर त्यसपछि संविधान संशोधन गरेर यो व्यवस्था गर्नै पर्छ।’

नेता गुरुङले प्रदेश र केन्द्रीय संसद्को निर्वाचनमा जुट्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.