समाज

विराटनगरको बजेट ३ अर्ब ३८ करोड
SHARES

छोरी जन्माउने परिवारलाई ३ हजार भत्ता, नयाँ रक्सी पसललाई इजाजत नदिइने

भदौ २५, २०७४

    विराटनगरः विराटनगर माहानगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि तीन अर्ब ३८ करोड ८९ लाख २१ हजार रुपैयाँको अनुमानित आय–व्ययसहित बजेट पारित गरेको छ। 

    ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ भन्ने नाराका साथ शुक्रबारदेखि सुरु भएको पहिलो नगरपरिषदबाट उक्त बजेट पारित भएको हो। 

    आइतबार पत्रकार सम्मेलन गर्दै माहानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरपालिकातर्फ एक अर्ब ७४ करोड ७९ लाख २१ हजार रुपैयाँ र मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना÷क्षेत्रीय शहरी विकास परियोजनातर्फ एक अर्ब ६४ करोड रुपैयाँ गरी जम्मा तीन अर्ब ३८ करोड रुपैयाँको बजेट पारित भएको जानकारी दिए। 

    उल्लिखित रकममध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट २७ करोड १४ लाख ४० हजार, राजश्व बाँडफाँडबाट दुई करोड २५ लाख, नेपाल सरकारबाट अनुदान ५४ करोड ६१ लाख, नेपाल सरकारबाट सशर्त अनुदान विषयगत कार्यालयबाट २६ करोड ७१ लाख, नेपाल सरकार समपूरक र विशेष अनुदानबाट तीन करोड, सरकारको सशर्त अनुदान ३१ करोड ५४ लाख, वैदेशिक अनुदान तीन करोड ५४ लाख, जनसहभागिताबाट तीन करोड २० लाख, नगर विकास कोष ऋण सहयोगबाट पाँच करोड र नगरपालिकाको मौज्दात १७ करोड ८७ लाख रुपैयाँ गरी एक अर्ब ७४ करोड ८९ लाख रुपैयाँ आय हुने अनुमान गरिएको छ। 
    यस्तै, मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना÷क्षेत्रीय शहरी विकास परियोजनातर्फ विनियोजित कुल बजेटको ९३ प्रतिशत नेपाल सरकारबाट अनुदान प्राप्त हुने र सात प्रतिशत नगरपालिकाले समपूरक कोषवापत व्यहोर्नेगरी अनुमान गरिएको छ। 

    विनियोजित रकममध्ये २० करोड ८६ लाख रुपैयाँ चालु खर्च हुने अनुमान गरिएको छ भने विषयगत खर्चका लागि २६ करोड ७१ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ। 

    यस्तै, सामाजिक सुरक्षा भत्ताका लागि २० करोड, भौतिक पूर्वाधार निर्माणका लागि ९२ करोड ५१ लाख, वातावरण, सरसफाई तथा विपत व्यवस्थापनका लागि तीन करोड २३ लाख, सामाजिक एवं लक्षित कार्यक्रमका लागि ११ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ।े सार्वजनिक निर्माण खर्चका लागि एक अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

    छोरी जन्माउनेलाई ३ हजार रुपैयाँ भत्ता
    माहानगरपालिकाले ‘छोरी बचाऊ अभियान’अन्तर्गत पहिलो पटक छोरी जन्माउने परिवारलाई तीन हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ। ९० वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान स्वरूप थप एक हजार भत्ता दिने, गुणस्तरहीन घरेलु रक्सी उत्पादन तथा बिक्री वितरण कार्यमा पूर्ण रोक लगाउने, इजाजत लिएका मदिराजन्य होटल तथा पसलहरू ९ बजेसम्ममा बन्द गरिसक्नुपर्ने, नयाँ मदिराजन्य पसलको इजाजत अब नदिने पनि नगरपरिषदको निर्णय छ। 

    नगरपरिषदले विराटनगरको ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा आकाशे पुल निर्माण गर्ने, सिटी बस संचालन गरी साना सवारी साधन निरुत्साहित गर्ने, सौर्य सडक बत्ती जडान गर्ने निर्णय पनि गरेको छ। 

    यस्तै, महानगरभित्र प्लानिङ नलिई घर घडेरी विकास गर्न नपाइने, वर्सेनि बाढीबाट हुने क्षतिलाई न्यूनीकरणका लागि सिंघिया र केशलिया खोला किनारको दायाँ बायाँ एक÷एक सय मिटरसम्म माटो खन्नमा रोक लगाउने, सुकुम्वासी तथा खोला छेउका घर परिवारको व्यवस्थापनका लागि एकीकृत वस्ती विकास परियोजना संचालन गर्नेलगायतका योजना रहेका छन्। 

    माहानगरपालिकाले करको दर नभई दायरा वृद्धि गर्ने जनाएको छ। महानगरलाई तीन वर्षभित्र धूलो र हिलोमुक्त बनाउने लक्ष्य लिएको छ भने ऐतिहासिक विराट राजाको दरबार क्षेत्रको विकासका लागि पनि बजेट विनियोजन गरेको छ। 

    शैक्षिक प्रगतिका लागि दुई सामुदायिक विद्यालय तथा एक मदरसा छनोट गरी एक करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। नहरलाई वाइपासको रूपमा विकास गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ। 

    यसैगरी महानगरपालिकाले भौतिक उपकरण खरिदका लागि दुई करोड रुपैयाँ छुट्याएको छ।

अर्जुन आचार्य

आचार्य थाहाखबरका मोरङ संवाददाता हुन्। इमेल : jorarjun@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]