|

धनुषा : सुमित्रादेवी पासवान नगराइन नगरपालिका वडा नम्बर ८ बाट स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा उम्मेदवार बनेकी छन्। एमाले उम्मेदवार पासवान कार्यकर्तासँगै घरघर डुल्दैछिन्। तर, उनलाई नै कसरी मतदान गर्ने र कुन चिह्नलाई छाप लगाए आफूलाई भोट पर्ने हो भन्ने थाहा छैन।

सँगैका अन्य उम्मेदवारले यो चिह्नमा मोहर लगाए आफूले जित्ने भनेर मतदातालाई सम्झाइरहँदा पासवान 'म पनि उम्मेदवार छु, ध्यान दिनुहोला है!' भनी मतदातालाई आग्रह गर्छिन्। मतदातामाझ भेटिएकी उनले पत्रकारको जिज्ञासामा न आफू चुनाव लडेको सही वडा नम्बर बताउन सकिन्, न मतदान गर्ने तरिका नै। उम्मेदवार बनेको दलको नाम सम्झिन पनि उनलाई गाह्रो भयो।

उनका पति वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन्। गाउँकै पार्टी प्रतिनिधिले महिला सदस्यको कोटामा चुनाव लड्नुपर्ने प्रस्ताव गरेपछि उनी राजनीतिमा आएकी हुन्। यसअघि राजनीतिको 'र' पनि नबुझेको बताउने उनले चुनाव 'महङ्गो' भएको अनुभव सुनाइन्। तर आफू नेता हुन पाएकोमा भने उनलाई गर्व छ।

सोही वडामा माओवादी केन्द्रको टिकटमा दलित महिला सदस्यका लागि उम्मेदवारी दर्ता गराएर जनताको घरदैलो चहारिरहेकी सोनावतीदेवी पासवान पनि मतदान गर्ने शैलीबारे अनविज्ञ छिन्। 'यसअघि धेरै चुनावमा भोट खसाएकी छु। अहिले आफैँ खडा भएकी छु, तर नौलो मतपत्र आएकाले बुझ्न कठिन भइरहेको छ,' उनले सुनाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.