|

गोरखा : विश्वको आठौँ अग्लो हिमाल मनास्लु हिमाल आरोहण गर्न आरोहीहरुको घुइँचो लागेको मनास्लु संरक्षण क्षेत्र आयोजना गोरखाले जनाएको छ। किलर माउण्टेनको रुपमा परिचित ८ हजार एकसय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न यस वर्ष गएको वर्षहरु भन्दा धेरै आरोहीहरु आएको आयोजनाका प्रमुख नरेन्द्र लामाले जानकारी दिए।

‘मनास्लु आरोहण गर्नेहरुको भीड नै लाग्न थालेको छ’ लामाले भने ‘यति नै संख्यामा आरोही आएका छन् भन्न सकिएको छैन। तर विगतका वर्षहरुमा भन्दा यस वर्ष धेरै आरोहीहरु मनास्लु चढ्न आएका छन्। अधिकांश हिमाल आरोहीहरु हेलीकोप्टर चार्टर गरेर सामागाउँमा झरेर गएका छन्।’

आरोहीहरु धेरै भएपछि सामागाउँ, साम्दोमा रहेको होटलहरु समेत भरिभराउ भएको सामागाउँका होटल व्यवसायी वीर बहादुर लामाले जानकारी दिए।  ‘एक हप्ता जति हुन लाग्यो यहाँका कुनै होटल खाली छैन’ वडा अध्यक्षसमेत रहेका लामा भन्छन् ‘माथि बेसक्याम्पमा पनि उत्तिकै भीड छ। आरोहीहरु अझै आउने खबर आएको छ। होटल बुकिङ भइरहेको छ। यहाँका गाउँका यूवाहरुले पनि काम पाएको छ। आरोहीहरुको सामान बेसक्याम्पसम्म बोकिरहेको छ।’ 

आरोहीहरु मनाङको भीमथाङ हुँदै लार्केपास गरेर मनास्लु आरोहण गर्न जाने गरेको एम्क्यापले जनाएको छ। भीमथाङको हुँदै लार्केपास गर्नेबाटो अप्ठ्यारो भएकोले हिमाल आरोहण गर्नेहरु अभ्यासका लागि सोबाटो प्रयोग गर्ने गर्छन।

गोरखाका दुई महिला मनास्लु आरोहणको यात्रामा

यस वर्ष विभिन्न देशका आरोहीहरुको साथमा गोरखाका दुई महिलाले पनि मनास्लु हिमाल आरोहणको यात्रा सुरु गरेका छन्। तिब्बती सिमामा रहेको छेकम्पारकी फुञ्जो लामा र आरुघाट गाउँपालिकाकी पूर्णिमा श्रेष्ठ मनास्लु आरोहण गर्न अहिले मनास्लु बेसक्याम्प पुगिसकेका छन्। फुञ्जोले यसअघि चोयुलगायत आठहजार मिटरभन्दा अग्ला हिमालहरुको सफल आरोहण गरिसकेकी छन् भने फोटो पत्रकारसमेत रहेकी  आरुघाटकी पूर्णिमा श्रेष्ठको पहिलो हिमाल आरोहण नै किलर माउण्टेन मनास्लु हो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.