हजार कमाउने लोभमा लाखौं डुब्यो, कष्टप्रद यात्रा र प्रहरीको खोर पनि जानुपर्‍यो

|

काठमाडौं : दक्षिण अफ्रिकामा महिनाको ६० हजार कमाइ हुने काममा लगाइदिन्छु भनेर प्रलोभनमा पारी ठगी गर्ने बाग्लुङका सागर श्रीस पक्राउ परेका छन्। प्रहरीले पक्राउ गरेका बाग्लुङ रिघाका ३९ वर्षीय श्रीसलगायतका व्यक्तिहरुको समूहले अवैध बाटोबाट वैदेशिक रोजगारमा जान चाहनेलाई प्रलोभनमा पारेर दक्षिण अफ्रिका पठाउने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनले अफ्रिका लगेर अलपत्र पारेका व्यक्ति र ठगिएका व्यक्तिहरुबारे श्रीससँग सोधपुछ्लगायत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तो थियो श्रीसको ठग्ने तरिका

बाग्लुङ रिघाका श्रीस काठमाडौं महानगरपालिका २९ लैनचौर बस्दै आएका थिए। उनको समूहमा थिए, दाङको त्रिभुवन नगरपालिका- ६ का सन्तोष पौडेल र भारतमा रहेर एजेन्टको काम गर्ने ऋषि घिमिरे। पौडेलका बुबा भने अफ्रिकामा नै बस्दै आएका छन्।

उनीहरु वैदेशिक रोजगारमा जान चाहने युवा युवतीलाई सजिलै अफ्रिका जान सकिने र राम्रो कमाइ हुने ठाउँमा लगाइदिन्छौं भनेर प्रलोभन दिने गर्थे। पीडितहरुका अनुसार जानेबेला ६ देखि ७ लाख खर्च लाग्ने र महिनाको कम्तिमा ६० हजार कमाइ हुने प्रलोभन दिन्थे।

महानगरीय अपराध महाशाखाका डीएसपी मनोहर भट्टका अनुसार उनीहरु लगानीको तुलनामा अत्यधिक कमाइ हुन्छ भनेर प्रलोभनमा पारेर चोरबाटो हुदै अफ्रिका पुर्‍याउथे। डीएसपी भट्टले थाहाखबरसँग भने, 'काठमाडौंबाट दिल्ली लैजाने जुन चोर बाटो हो, त्यहाँबाट इथियोपिया, मोजाम्बिक लगायतका देशको चोरबाटो हुँदै अफ्रिकासम्म पुर्‍याएर अलपत्र पारेर छोड्ने गर्दा रहेछन्।'

यसरी खुल्यो रहस्य

गत असार १५ मा सागर श्रीस लगायतका व्यक्तिहरुले ३ जनालाई त्यसरी नै प्रलोभनमा पारेर काठमाडौंबाट दिल्ली लगे। उनीहरुलाई छ देखि सात लाखसम्म 'लगानी' गरे सहजै दक्षिण अफ्रिका पुगिने बताइयो। मनग्गे कमाइ हुने रोजगारीमा लगाइदिने आश्वासन दिएर प्रतिव्यक्ति छ-छ लाख वसुल गरियो।

तीनैजनालाई दिल्लीबाट चोरबाटो लगियो जुन थियो इथियोपिया, मोजाम्बिक, स्वाजिल्याण्ड हुँदै जंगलको बाटो दक्षिण अफ्रिकाको सीमाना। दक्षिण अफ्रिकाको सीमानामा लगेर उनीहरुलाई अलपत्र छोडियो। तीनैजनासँग दक्षिण अफ्रिका छिर्ने भिषा थिएन जसका कारण सेनाले पक्राउ गर्‍यो। उनीहरुलाई १६ दिन प्रहरी थुनामा राखियो।

त्यतिबेलासम्म दक्षिण अफ्रिकास्थित नेपाली दूतावासदेखि लिएर नेपाल प्रहरीसम्म ३ जना बिना भिषा दक्षिण अफ्रिका छिरेका र दक्षिण अफ्रिकाको प्रहरीले पक्राउ गरेको सूचना पुगिसकेको थियो।

डीएसपी भट्टले यसलाई नेटवर्किङ धन्दाको रुपमा अर्थ्याए। उनले भने, 'मानव ओसारपसारमा संलग्नहरुको नेटवर्क नै रहेको देखियो, उनीहरुको लिंक काठमाडौं, दिल्लीदेखि, दक्षिण अफ्रिकासम्म देखियो।' उनले राजदूतावासको सक्रियतामा उनीहरुलाई नेपाल ल्याएर ठग्नेहरुविरुद्ध अनुसन्धान थालिएको बताए। जसको पहिलो सफलता सागर श्रीसलाई पक्राउ गरिएको छन्।

श्रीस यसरी परे पक्राउ

ठगिएका व्यक्तिहरु नेपाल आइसकेका थिए। छ-छ लाख तिरेका उनीहरु दुई महिनापछि दुख कष्ट भोगेर रित्तो हात नेपाल फर्किएका थिए। उनीहरु न्यायको खोजि गर्दै दिए। उनीहरुले 'हामीबाट ठगी गरिएको रकमको साँवा ब्याज सहित पाउँ' भनेर प्रहरीमा उजुरी हालेका थिए।

उनीहरुलाई ठग्ने सागर श्रीष भने काठमाडौंमा निस्फिक्री घुमिरहेका थिए। अपराध अनुसन्धान विभागबाट खटिएको प्रहरीले उनलाई भदौ १८ गते न्यूरोडबाट पक्राउ गरेको थियो। अहिले श्रीसलाई महानगरीय प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको छ। ठगीमा संलग्न अन्य व्यक्तिहरुको खोजि भइरहेको र मानव बेचबिखनमा संलग्नहरुलाई यो घटनालाई आधार बनाएर खोजि एवं अनुसन्धान गरिने डीएसपी भट्टले बताएका छन्।

यस्तो हुनेछ सजाय

श्रीसको बयानका आधारमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्नको खोजिमा प्रहरी लागेको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा यो काममा संलग्नलाई कसुरको मात्रा हेरी बढीमा बीस वर्ष सम्म कैद र दुई लाख रुपैंया सम्म  जरिवाना हुने व्यवस्था छ। यो मुद्दा ठगीको पनि भएकोले मुलूकी ऐन ठगीको महल अनुसार कसुरको मात्रा हेरी बिगो भराई बिगो बमोजिमको जरीवाना र पाँच वर्ष सम्म कैंद हुने व्यवस्था छ। दुबै मिलाएर बढीमा २५ वर्षसम्म कैद र दुई लाख जरिवानाका साथै ठगी गरेको पैसा र सोही रकम जत्तिकै बिगो जरिवाना हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.