विचार

नेपाली संस्कृति कि नेपालीहरूको संस्कृति?
SHARES

भदौ २७, २०७४

    धेरैले भन्ने लेख्ने गरेका छन्, नेपाली संस्कृति विशाल छ, व्यापक छ। नेपाली जहाँजहाँ पुग्छन र पुगेका छन्, त्यहाँ नेपाली संस्कृति पनि पुगेको हुन्छ। नेपाली पुगेका ठाउँमा नेपाली संस्कृति मौलाएको छ भनिन्छ। यो भनाइ राजनीतिलार्इ व्यवसाय बनाउनेहरूले मात्रै नभनेर नेपालका विद्वान्, बुद्धिजीवी, संस्कृतिविद्, प्राध्यापक, शिक्षक तथा लेखक, पत्रकारहरूसमेतको सामूहिक भनाइ र लेखाइ हो। यो भनाइमा कति सत्य छ, कति कृत्रिमता छ, नियालेर हेरौँ।

    संस्कृति भनेको अनादिकालदेखि प्रचलनमा आएको परम्परा हो। संस्कृति भनेको सभ्यता होइन। सभ्यता कहिलेदेखि सुरु भयो? मोटामोटी रूपमा भन्न सकिएला तर संस्कृति कहिलेदेखि सुरु भयो? अनुमान गर्न असंभव भएकाले संस्कृति भनेको अनादिकालदेखि चलेको परम्परा हो भन्ने बुझ्नुपरेको छ।

    सभ्यतालार्इ समयानुकूल सुधार, संशोधन र परिमार्जन गर्न सकिन्छ, गर्ने चलन पनि छ तर संस्कृतिलार्इ सुधार वा परिमार्जन गर्न थाल्यो भने त्यो संस्कृति नभएर सभ्यता हुन्छ। संस्कृति परम्परा मासिन गयो भने जाति मासिन्छ। अझ छोटकरीमा भन्नुपर्दा सभ्यता भनेको 'सभायाम साधू' हो भने संस्कृति भनेको अनादिकालदेखिका जाति, गोष्ठी, समूह, समाजबाट मान्यता प्राप्त सांस्कृतिक परम्परा हो।

    आआफ्ना जाति, गोष्ठीका आआफ्ना परम्परा छन्। कुनै जाति, गोष्ठीको संस्कृतिलार्इ अर्को कुनै जाति, गोष्ठीले स्वीकार नगरे पनि अनादर गर्ने चलन थिएन र होइन पनि। विभिन्न जातजाति, धर्म, संस्कार र संस्कृति भएको हाम्रो देशमा सबैले सबैको संस्कृतिलार्इ सम्मान गर्ने संस्कृतिलार्इ हिजोआज भने अफ्नो संस्कृतिचाहिँ ठूलो र अर्काको चाहिँ सानो भनेर निन्दा गर्ने चलन चल्न थालेको देखिन्छ। यो चलनलार्इ प्रोत्साहन गर्ने तत्त्वहरू भनेका कृत्रिम इतिहासको पठनपाठन गर्ने समूहको मैमत्त हुने चलन र विदेशीहरूका विवेक अनुकरण गर्दै आएका राजनीतिक व्यवसायीहरूले सत्ता जोगाउनका लागि गरेको प्रचार प्रसार नै हो भन्दा अत्युक्ति नहोला।

    संस्कृति र परम्परा आआफ्नै हुन्छन्, जोगाएर राखेका।देशको नागरिकता हुन्छ, राष्ट्रियता हुन्छ, राष्ट्रभाषा हुन्छ, राष्ट्रिय पर्वहरू हुन्छन् तर संस्कृति भनेको जातजाति, गोष्ठीको मात्रै हुन्छ, देशको संस्कृति हुँदैन

    रार्इ, याख्खा, आठपहरिया तथा लिम्बूहरूको आफ्नै संस्कृति छ। मेचे, धिमालहरूको आआफ्नै संस्कृति, नेवारहरूको आफ्नै संस्कृति छ। राउटे र चेपाङको आफ्नै संस्कृति छ भने तरार्इका झा, मिश्र, तिवारी, राजवंशी, ताजपुरिया, गनगाइँ, तेली, सुँडी, डोम, पासवान, कोइरी, कुर्मी तथा कायस्थहरूको आफ्नै संस्कृति नहुने कुरै भएन। यादव-राय-महाराजा-अहिर आदिका आआफ्नै परम्परागत संस्कृति छन् भने कुन संस्कृतिचाहिँ नेपाली संस्कृति हो?

    संस्कृति र परम्परा आआफ्नै हुन्छन्, जोगाएर राखेका।देशको नागरिकता हुन्छ, राष्ट्रियता हुन्छ, राष्ट्रभाषा हुन्छ, राष्ट्रिय पर्वहरू हुन्छन् तर संस्कृति भनेको जातजाति, गोष्ठीको मात्रै हुन्छ, देशको संस्कृति हुँदैन। उदाहरण दिनुपर्दा, नेपाली नागरिक थारूहरूको थरूवानी संस्कृति, खसहरूको खस संस्कृति, गुरुङहरूको (तमु) आफ्नै संस्कृति, मगरहरूको आफ्नै संस्कृति, शेर्पा, घर्ती, भोटे, यल्मो, लाप्चे, डुक्पा तथा तामाङहरूको आफ्नै संस्कृति छ।  थामी, थकालीहरूको आफ्नै , दनुवार, जिरेलहरूको आफ्नै।

    कानुन बनाएर वा शासकहरूले गुलिया भाषण गरेकै भरमा संस्कृति साझा हुन सक्दैन, सभ्यताचाहिँ साझा हुन्छ। देशको सभ्यता साझा हो। नागरिकता राष्ट्रियता र सम्पर्क भाषा देशको हो र देशवासीको हो। देशका राष्ट्रिय पर्वहरू साझा हुन् तर संस्कृति, परम्परा भने साझा हुने कुरै भएन। यदि साझा हुने हो भने सोनाम ल्होसार र ग्याल्पो ल्होसार एकै दिन किन भएनन्? संस्कृति आआफ्ना हुन्छन्। सरकारले सबैका संस्कृति नेपाली संस्कृति हुन् भन्दा मान्ने कुरा हुँदैन। परम्परा र संस्कृतिका आफ्नै नाम पद्धति हुन्छन्। संस्कृतिचाहिँ आफ्नो, आफ्ना संस्कृतिको नामचाहिँ अर्काको राख्न कसले मान्छ र किन मान्नु? 

    हाम्रो देशमा धेरै जातजाति भएका हुनाले संस्कृति धेरै नै छन्।  संविधानले पनि यो कुरा स्विकारेर बहुजाति, भाषा, धर्म, संस्कृति भनेकै छ। जातजातिमा पनि खस, आर्य, थारू, मधेसी, मुस्लिम, जनजाति, आदिवासी, दलित भनेर छुट्याएकै छ। संस्कृति एउटै हुने भए संवैधानिक प्रक्रियाबाट किन छुट्याउनुपर्थ्यो?

    संविधानले छुट्याएर पनि कृत्रिम इतिहासलार्इ सर्वोपरि ठान्दै मान्दै आएका यो देशका डिग्रीधारी विद्वानहरू तथा संस्कृतिविदहरू र उनीहरूका शिष्यहरूका साथै राजनीतिको व्यवसाय गर्ने व्यवसायीहरू सबैले संविधानलार्इ लत्याउँदै एकमुख भएर भन्दै आएका कुरा सुनेकै भरमा विदेशीहरूले पनि सतही रूपमा नेपाली संस्कृति भन्दै छन्।

    वास्तवमा यो देशको परम्परा र संस्कृतिलार्इ ध्वस्त पार्ने भनेका यस्तैहरू नै हुन्। यस्तैहरूको बोलवाला छ यो देशमा। यस्ता लालबुझक्कडहरूलार्इ संस्कृति भनेको के हो र सभ्यता भनेको के हो भन्ने कुरै या त थाहा छैन, या ढाँट्छन्। (संस्कृति र परम्परा भनेको जात र धर्म होइन, भन्ने मेरो मान्यता यथावत छ) भने यस्तैहरू विदेशमा गएर नेपाली संस्कृतिको बखान गरेर या त पार्टीका समर्थक भेला गर्छन्, या जातिगत संगठन खोलेर आउँछन् अनि यता आएर नेपाली जाति र संस्कृतिको बखान गर्छन्। तर विदेशमा अन्यायमा परेका नेपाली नागरिकहरूलार्इ उद्धार गर्नेतिर यस्ताहरूको ध्यान पुग्नै सक्दैन।

    धेरै जातजाति भएको देश भएकाले हाम्रो देशमा भाषा र संस्कृति धेरै छन्। कुन संस्कृतिचाहिँ नेपाली संस्कृति हो भनेर खुट्याउने आधार के छ? कुन जातिको संस्कृतिचाहिँ नेपाली संस्कृति हो? मुन्धुम संस्कृतिलार्इ नेपाली संस्कृति भन्नु हो भने रार्इ लिम्बूको संस्कृतिचाहिँ खोइ? रार्इ लिम्बू भनेका नेपाली नागरिक हुन् तर  रार्इ लिम्बूको संस्कृतिचाहिँ कसरी नेपाली संस्कृति हो? 

    रार्इ लिम्बूले पालना गरेको संस्कृति र परम्परालार्इ अरू जाति, गोष्ठीले पालना गर्दैनन् अर्थात् एउटा जाति, गोष्ठीको परम्परा अरू जाति, गोष्ठीले हुबहु पालना गर्दैनन्, आफ्नै परम्परा मात्र पालना गर्छन् भने नेपाली संस्कृति भन्ने आधार के हो? विगतमा अग्रजहरूले जति ढाँटे, ढाँटै, अब पनि नेपाली नागरिकहरूले ढाँटिनै पर्ने? मगरको घाटु नाँचलार्इ नेपाली संस्कृति भन्नु हो भने मगरको संस्कृति खोइ?

    खस बाहुनले 'सराद', 'सराद्धे' गर्छन्। हिन्दू ब्राह्मणहरूले 'श्राद्ध' गर्छन्। तामाङले 'पित्री' गर्छन् 'कोकोमेन्दो' ल्याएर। राईहरूले 'चण्डी नाच' गर्छन् झ्याम्टा बजाएर। लिम्बूले 'धान' नाच्छन्  च्याब्रुङ् बजाएर। गुरुङको आमा वा मामा भए सबै कार्य समाप्त हुन्छ भन्छन् भने कुनचाहिँ संस्कृति नेपाली संस्कृति हो त? उभौली उँधौलीको परम्परागत पूजा खस बाहुन तथा जनजाति अदिवासीले फरक फरक तरिकाबाट गर्छन् भने कुन संस्कृतिचाहिँ नेपाली संस्कृति भयो त? 

    विभिन्न जातिका नेवारहरूका आआफ्नै परम्परा र संस्कृति छन्, समुच्च नेवारहरूलार्इ एउटै जाति मान्ने हो भने नेपाल नेपा+नेपाभ्या+नेपाल भाय्+ नेपाल भाषाको साम्यका आधारमा नेपाली संस्कृति भन्दा हुन्छ। उनीहरूलार्इ नेपाली जाति भन्दा हुन्छ, यदि उनीहरूले स्वीकार गर्छन् भने। तर थामी, थकाली, जोगी, सन्यासीलगायतका अरू विभिन्न जाति, गोष्ठीहरूको जाति र संस्कृति कसरी नेपाली जाति र संस्कृति हुन्छ? 

    यो देशमा संविधानले तोकेको नेपाली नामको राष्ट्रियता छ। नेपाली नामको नागरिकता छ। नेपाली नाम दिइएको राष्ट्रभाषा छ। नेपाली नागरिकहरूको आआफ्नो परम्परा र संस्कृति छ। एउटा जाति, गोष्ठी/संस्कृति तयार हुन/बनिन हजारौँ वर्ष लाग्छ भने जन्मिएको एक सय वर्ष पनि नभएको नेपाली नामको शब्दबाट न जाति बनिन्छ, न संस्कृति कायम हुन्छ। त्यसैले यो देशमा न नेपाली नामको जाति छ, न नेपाली नामको संस्कृति छ, न नेपाली नामको सांस्कृतिक परम्परा नै।

डीआर कोइराला

कोइराला नेपाल-भारतमामिलाका जानकार लेखक हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]