|

ललितपुरः नेपाली कलाको विकासमा संस्थागत प्रयत्न हुनुपर्ने कलाकार गोविन्दलालसिंह डंगोलले बताएका छन्। आइतबार पुल्चोकस्थित पार्क ग्यालरीमा नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’को १७औँ शृंखलामा डंगोलले उक्त कुरा बताएका हुन्। 

पार्क ग्यालरीमा डंगोलको एकल कला प्रदर्शनी चलिरहेको छ। सोही प्रदर्शनीको छेको पारेर डंगोलको कला यात्रा, शिक्षा क्षेत्रमा उनले गरेका काम र सिर्जनाका विविध आयामका बारेमा बहस गरिएको थियो। नेपाली कलामा योगदान पुर्‍याउने कलाकारलाई ‘कलाका कुरा’मार्फत चिनाउनका लागि संवाद कार्यक्रम गरिएको समाजका सचिव मधु शाहीले बताइन्। 

सरकारी छात्रवृत्ति पाएपछि मुम्बईको जेजे स्कुल अफ आर्टस्बाट कलाको अध्ययन गरेका डंगोलले ३७ वर्ष ललितकला विषयको प्राध्यापन गरे। दुई पटक ललितकला क्याम्पसको प्रमुख भइसकेका डंगोलले चित्रका विभिन्न माध्यम र शैलीमा काम गरेका छन्। क्याम्पसको विकास र हितमा आफूले सक्दो प्रयत्न गरेको डंगोलले दाबी गरे। 

उनले आधुनिक, समसामयिक, परम्परागत तथा वास शैलीमा समेत काम गरेका छन्। कलाको विकास र प्रवद्र्धनमा योजनागत रूपमा काम गर्नुपर्ने बताउँदै उनले भने, ‘नेपाली कलाको विकासमा कला शिक्षाको महत्त्वपूर्ण भूमिका रहन्छ। यसमा राज्य तथा सरोकारवाला संस्थाले ध्यान दिनुपर्छ।’

नेपाली कलामा पश्चिमी कलाको प्रभाव बढिरहेको बताउँदै नेपालको मौलिक कलाको विकासमा शिक्षा तथा अन्य क्षेत्रमा प्रवद्र्धनात्मक काम गर्नुपर्नेमा डंगोलले जोड दिए। उनले भने, ‘देशका सबै प्रान्तमा कम्तिमा एउटा कलाको क्याम्पस स्थापना गर्न राज्यले पहल गर्नुपर्दछ। कलाको विकासविना हामी कसरी समृद्ध बन्न सक्छौँ र?’ डंगोलसँग समाजका महासचिव देवेन्द्र थुम्केलीले सहजीकरण गरेका थिए।

‘डिभाइन फेरभोर एन्ड हिज अब्स्ट्र्याक्ट’ शीर्षकमा गरिएको प्रदर्शनीमा डंगोलले विभिन्न भावभंगीमा रहेका गणेशका चित्र राखेका छन्। आफू सानैदेखि गणेशको भक्त रहेकाले गणेशकै चित्र बनाएको डंगोलले बताए। मूर्त तथा अमूर्त गणेशमा कलाकारले आफ्नो मौलिक शैलीलाई प्रस्तुत गरेका छन्। 

कलामा समाज, संस्कृति, देश र पर्यावरणको सपाट कोलाज देखाउँदै सिर्जनाको नयाँ चौतारीमा डंगोलले आफूलाई उभ्याउँदै आएका छन्। उनले विशेषगरी गणेश विम्बमा कला रचना गर्दै आएका छन्। उनका कलामा रङ र विषयको प्रस्तुतिमा निकै कलात्मकता पाइन्छ।

रङको जादूमयी प्रस्तुति डंगोलको महत्त्वपूर्ण विशेषता हो। सांस्कृतिक सहअस्तित्व र अध्यात्मिक भाव उनका कलाका मुख्य आधार हुन्। प्रदर्शनी अक्टोबर १५ सम्म रहने डंगोलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.