|

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले मन्त्रीको भन्दा नुनतेलको भाउ महँगो भएको भन्दै जम्बो मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवालाई व्यंग्य गरेका छन्। सोमबार  राजधानीमा पूर्वराष्ट्रसेवक कर्मचारी लोकतान्त्रिक पार्टीलाई एमालेमा समायोजन गर्न आयोजित कार्यक्रम भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

सो अवसरमा एमालेसँग समाहित भएकोमा उक्त पार्टीका सदस्यहरुलाई धन्यवाद दिँदै उनले एमालेसँगको एकता मनोज गजुरेलको हास्यव्यंग्यजस्तो कृत्रिम र नक्कली नहुने पनि बताए। सोही प्रसंगमा ओलीले उनीहरुलाई मन्त्री हुन नगएर एमालेसँग एकता गर्न आएकोमा धन्यवाद दिँदै भने, 'आजभोलि नुनतेलको भाउ बढेको छ मन्त्रीको भाउ घटेको छ। तपाईँहरु मन्त्री हुन नगएर इज्जत कायम गरेको" भन्दै ओलीले धन्यवादका पात्र भएको बताए।

पत्रकारहरुले सोधेको प्रश्नमा उनले छिमेकी साट्न नसकिने तर, छिमेकीको हेपाहा प्रवृत्तिलाई साट्न सकिने बताए। उनले भने, 'हाम्रा सीमा स्तम्भहरु रातारात सार्न भएन, छिमेकीकै कारण हामी डुबानमा पर्न भएन, नेपाली व्यवसायीहरुले तेल बोक्न भनेर किनेका ट्यांकरहरु भारतमै अलपत्र छन् प्रधानमन्त्रीले यसबारे भारतमा किन कुरा उठाउनुभएन?'

प्रधानमन्त्री देउवाले भारत पुगेर संशोधन गर्न सकिएन भनेर आएकोमा नेता ओलीले आपत्ति जनाए। उनले भने, प्रधानमन्त्रीलाई विदेश जाँदा के बोल्नपर्छ भनेर टेप रेकर्ड गरेर पठाउने हो र ? ओलीको आक्रोशयुक्त प्रश्न थियो। झन्डा हल्लाउन मात्र नेता बनिरहन नपर्ने झन्डा त हावाले पनि हल्लाउछ भन्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले भारतमा प्रधानमन्त्रीले सीमा विवाद र डुबान समस्याबारे  ठोस कुरा नराखेकोमा  असन्तोष व्यक्त गरे। नेपालको अन्धकार र गरिबी हटाएर देशको हित हुनका लागि अब स‌ंसदमा एमालेको बहुमत हुनैपर्ने  ओलीको जिकिर थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.