|

  • बुद्धकुमार आछामी-

सिन्धुलीः पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केन्द्रीय तहका राष्ट्रिय दलहरूले विजय प्राप्त गरे मात्र तराई–मधेशको समस्या हल हुने बताएका छन्। 

सोमबार सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले मधेसका नागरिकले उठाउँदै आएका मुद्धा संबोधन गर्न, पहाड र मधेसबीचको सम्बन्ध प्रगाढ बनाउन क्षेत्रीय राजनीतिक दलहरूले भन्दा केन्द्रीय तहबाट नेतृत्व गर्ने राष्ट्रियस्तरको दलले जित्नुपर्ने बताएका हुन्।

दुई नम्बर प्रदेशका नागरिकहरूलाई राष्ट्रियतासँग जोड्नका लागि पनि राष्ट्रिय पार्टीले जित्नुपर्ने दाबी गर्दै यसले मात्र राष्ट्रियता बलियो बनाउन मद्धत गर्ने प्रचण्डले बताए।

दुई नम्बर प्रदेशमा हुँदै गरेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनप्रति लक्षित गर्दै प्रचण्डले मधेसलाई पहाडबाट अलग हुन नदिन आफूले धेरै मिहिनेत गरेको भन्दै उक्त निर्वाचनबाट माओवादी केन्द्रलाई नै विजयी गराए मधेसका नागरिकले उठाएका तमाम समस्याको हल गर्न सकिने उल्लेख गरे। 

तराई, मधेस, पहाड र हिमाललाई जुटाएर चुनाव गराउन माओवादी केन्द्रले खेलेको भूमिकाको आधारमा पनि दुई नम्बर प्रदेशमा माओवादी शक्ति पहिलो हुने प्रचण्डको दाबी थियो। माओावदी मधेसका नागरिकको अधिकारका लागि लड्ने पार्टीको रूपमा स्थापित भएको दाबी गर्दै प्रचण्डले पछिल्लो समय माओावदीले मधेसमा गरेको मिहिनेतको फल प्राप्त गर्ने बेला आएको उल्लेख गरे।

मधेसकेन्द्रित राजनीतिक दलका नेता तथा कार्यकर्ता नागरिकप्रतिभन्दा पनि आफ्नो भलोमा लाग्न थालेका कारण हजारौँ मधेसका नागरिकहरूले माओवादी केन्द्रप्रति आशा र भरोसा गर्न थालेको प्रचण्डले दाबी गरे।

प्रचण्डले मधेसमा पञ्चायतदेखिकै बुथ कब्जा गर्नेहरू अहिलेसम्म रहेको भन्दै रक्सी र मासु खुवाएर बुथ कब्जा नगरे माओवादी मधेसमा पहिलो शक्ति बन्ने निकै संभावना रहेको दाबी पनि गरे। यसका लागि बुथ कब्जा गर्नेहरूको विशेष निगरानी राख्न र कडा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीलाई आग्रह गरिएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.