|

काभ्रे : जिल्ला सहकारी संघ लिमिटेडले सोमबार काभ्रेपलाञ्चोकको बनेपामा ५० औं स्थापना दिवस एवं ३६ औं वार्षिक साधारण सभा गरेको छ। कार्यक्रममा प्रमुख अतिथी रहेका राष्ट्रिय सहकारी संघ लि. का अध्यक्ष एवं सांसद् केशव प्रसाद वडालले सहकारीले देशको अर्थतन्त्रमा पुर्‍‍याएको योगदानको कदर गर्नुपर्ने बताए।

‘राष्ट्रको अर्थतन्त्रलाई टेवा पुर्‍‍याउने काममा सहकारी संस्थाले ठूलो योगदान पुर्‍‍याउँदै आइरहेको छ। तर राज्यले सहकारी संस्थाले अर्थतन्त्रमा पुर्‍‍याएको योगदानलाई वास्ता गरिरहेको छैन,’ उनले भने। 

उनले आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय क्षेत्रमा लोकतान्त्रिक पद्धतीको विकासको लागि आम सहकारीकर्मीहरु लाग्न जरुरी रहेको बताए।

कार्यक्रममा जिल्ला सहकारी संघका सल्लाहकार कुलचन्द्र अधिकारीले सहकारी क्षेत्रमा लाग्नेहरु पार्टीगत रुपमा विभक्त भएर लाग्न नहुन बताए। ‘सहकारी भनेको नै सहकार्य हो। राजनीतिमा लागेर यो वा त्यो विचार अनि गुटको भनेर लाग्नेहरुले सहकार्य गरेर अघि बढ्न सक्दैन। त्यसैले सहकारीमा लाग्ने सहकारीकर्मीहरु पार्टीगत भन्दा टाढा रहनुपर्छ,’ अधिकारीले भने। 

जिल्ला सहकारी संघ लि. का अध्यक्ष विनोद पराजुलीले संघले चालु आर्थिक बर्ष भित्र ६ करोड १५ लाखको पूँजी जुटाई लगानी गर्ने लक्ष्य राखिएको बताए। संघका सचिव दिलिप शर्माले संस्थाको कुल पुँजी ३५ लाख ९८ हजार ३ सय रहेको बताए।

संघले स्थापनाको अवसर पारेर सोमबारबाट ‘डिस्कोफ दर्पण’ मासिक प्रकाशनमा आएको छ। कार्यक्रमका प्रमुख अतिथि केशव प्रसाद बडालले मासिक पुस्तकको विमोचजन गरे।

त्यस्तै, सहकारी संस्थाहरुका लागि आवश्यक गर्ने खाता राख्ने स्टेशनरी पसलको समेत सोमबार नै उद्घाटन गरेको छ। काभ्रेपलाञ्चोक जिल्लामा बचत तथा ऋण, स्वास्थ्य, जडिबुटी, कफि, बहुउद्धेश्यीय, मौरी, कृषि, तरकारी, लघुजलविद्युत, उपभोक्ता र सञ्चार लगायतका गरी कुल १ हजार ४ सय ९५ वटा सहकारी संस्था जिल्ला सहकारी डिभिजन कार्यालयमा दर्ता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.