|
तस्बिर : पवन यादव/कान्तिपुर

बारा : सदरमुकामको भरतचोक कुनै बेला मधेस आन्दोलनको केन्द्र थियो। तिनताका यहाँ काला झन्डा फहराइन्थे। अहिले भने यो चोक सबै दलका प्रचार सामग्री, तुल, ब्यानर र पोस्टरले छपक्कै छ। रंगीबिरंगी झन्डाले भरिएको छ। आसपासका घर र बिजुलीका पोलमा पनि झन्डा मात्रै छन्। चोक अहिले चुनावमय छ। 

जताततै रंगीचंगी झन्डाले नगरलाई महोत्सवजस्तै बनाएको छ। चोक आसपास मात्र होइन, जिल्लाभर ओहोरदोहोर गर्ने मोटरसाइकल र गाडीमा कुनै न कुनै दलका झन्डा देखिन्छन्। यात्रु र सामान ओसार्ने गाडीमा समेत झन्डा टाँगिएका छन्। सहर होस् या गाउँ, केटाकेटीदेखि बृद्धसम्म सबैले दलका चुनाव चिहन अंकित टिसर्ट पहिरिने ‘फेसन’ चलेको छ। पाखुरा र टाउकामा झन्डा बेरेर अरूभन्दा फरक देखिने युवामा होड छ। 

प्राय: घरमा झन्डा गाडिएसँगै भित्ता पोस्टरले रंग्याइएको छ। प्रत्येक बजार र गाउँका सडकमा एक पछि अर्को उम्मेदवारका ठूला तस्बिर र नारा लेखिएका ब्यानर टाँगिएका छन्। ससाना झन्डा गाँसेर बस्तीलाई रंगीचंगी तुल्याइएको छ। बिहान र साँझ यहाँ घरदैलो गर्नेको भीड लाग्छ। यस्ता कार्यक्रममा उम्मेदवारका समर्थकले चर्को आवाजमा माइक वा स्पिकर घन्काउँछन्। दिउँसो गर्मी हुने भएकाले घरदैलो सम्भव हुँदैन।

यस्तो बेला ब्यानर टाङ्ने र गीत बजाएर मत दिन आग्रह गर्ने गरिएको छ। उम्मेदवार सवार गाडीमा यस्ता माइक अनिवार्य छन्। उम्मेदवार र तिनका कार्यकर्ता भारतीय नम्बरका गाडी चढ्छन्। यहाँ वडाध्यक्षका उम्मेदवारले समेत यस्ता गाडी भित्र्याएका छन्। वर्षौं नगुडेका सडकमा पनि यतिबेला दिनहुँ सयौं चिल्ला गाडी दौडिरहेका भेटिन्छन्। जिल्लाका सीमानाकाबाट दिनहुँ यस्ता गाडी मुलुक भित्रिने गरेका छन्। 

‘यहाँ मतदाताले गीत/संगीत रुचाउँछन्,’ कलैया २० का सत्यनारायण यादवले भने, ‘मधेस आन्दोलनदेखि संगीत अनिवार्य भयो।’ कलैया २० का वडाध्यक्षका उम्मेदवार विनोदकुमार गुप्ताले  स्थानीयको मन जित्न शुक्रबार साँझ स्थानीय बसतपुर टोलमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जनाए। उक्त कार्यक्रममा नृत्य र गीत गाउनका लागि कलाकार बोलाइएको थियो।

कलैया उपमहानगरपालिकामा संघीय समाजवादी फोरमका तर्फबाट मेयरका उम्मेदवारले २३ वटै वडामा कार्यक्रमका लागि भारतको पटनाबाट ५ लाख रुपैयाँ भाडामा सांस्कृतिक टोली ल्याएका छन्। उक्त टोलीको काम मतदातालाई मनोरञ्जन प्रदान गर्नु हो। गुप्ताले मात्र होइन, यहाँका प्रत्येक दलका उम्मेदवारले बनारस र पटनाबाट पैसा खर्चेर भोजपुरी भाषामा नारा र चुनावी गीत रेकर्ड गरेर ल्याएका छन्। ती बजाउँदै र नाचगान गर्दै भोट मागिरहेका छन्। स्थानीय एफएम रेडियोमा २४ सै घण्टा उम्मेदवारको प्रचार सुनिन्छ। टोलटोलमा माइक लगाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.